सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा घट्यो संक्रमणदर

बिहीबार, ०३ भदौ २०७८, १८ : १३
बिहीबार, ०३ भदौ २०७८

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणदर केही रुपमा घटेको छ। साउन महिना लाग्दै गर्दा उकालो लागेको कोरोनाको ग्राफ भदौ महिना सुरु भएसँगै केही कमी आएको देखिन्छ ।

साउन ३० गते प्रदेशभर सक्रिय संक्रमितहरुको संख्या ९७७ जना रहेको थियो भने कुल संक्रमितको संख्या ३१ हजार ४९५ जना रहेको थियो । यो तथ्याङ्क कोरोना महामारीको पहिलो र दोस्रो लहरको अहिलेसम्मकै धेरै हो।

साउन ३१ अथवा महिनाको अन्तिम दिनमा ९ सयबाट झरेर सक्रिय संक्रमितको संख्या ८८६ मा खुम्चिएको देखिन्छ ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बिहीबारको तथ्याङ्क हेर्दा प्रदेशमा सक्रिय संक्रमितको संख्या ८९८ जना रहेका छन् भने ११४ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । जुन संक्रमित हुनेको दर भन्दा धरै हो।

बिहीबार प्रदेशभर ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १४९ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको परीक्षणका क्रममा ५५ र १४० जनामा गरिएको एन्टिजेन विधिबाटको परीक्षणका क्रममा २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य निर्देशक रविन खड्काले जानकारी दिए ।

जसमध्ये रुकुमपश्चिममा सबैभन्दा धेरै २१ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै जुम्लामा १८, सुर्खेतमा १५, कालिकोटमा १४, दैलेखमा ४, सल्यान, डोल्पा, हुम्ला १÷१, मुगुमा ३ र अन्य ६ जनामा कोरोना कोरोना संक्रमण पोजेटिभ देखिएको छ।  कुल संक्रमितको संख्या ३१ हजार ८६३ रहेको छ । जुन साउन महिनाको भन्दा केही कम हो ।

यस्तै प्रदेशमा बिहीबार कोरोना संक्रमण कारण ३ जनाको ज्यान गएको छ। कोरोनाबाट ज्यान गुमाउनेमा एक जना हुम्ला र २ जना कालिकोटका रहेका छन् । यो सँगै कर्णालीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३६३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशक खड्काका अनुसार कर्णालीमा लैङ्गिकताका आधारमा हेर्ने हो भने कोरोना महामारीबाट महिला भन्दा २६ प्रतिशत पुरुषहरु बढी प्रभावित भएका छन्।

यस्तै कर्णालीको कुल १८ लाख २४ हजार १३१ जनसंख्यालाई आधार बनाई हेर्दा कर्णालीमा १ दशमलव ७ प्रतिशत जनसंख्या कोरोनाबाट प्रभावित भएको देखिन्छ ।

जसमा ९६ प्रतिशतले कोरोनालाई जित्न सफल भएका छन भने १ दशमलव १ प्रतिशतको ज्यान गुमाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप