आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

मार्क्सवाद र खण्डित अम्बेडकर

बिहीबार, ०३ भदौ २०७८, १७ : ०८
बिहीबार, ०३ भदौ २०७८

गोपाल किराती

विक्रम सम्वत २०१३ मंसिर ५ गते काठमाडौंमा विश्व बौद्ध सम्मेलन सम्पन्न भयो, जसमा डा. भीमराव अम्बेडकरले एउटा सम्भाषण गरेका थिए । ‘मार्क्सवाद र बौद्ध दर्शन’ सम्बन्धमा केन्द्रित उक्त सम्भाषण महेशराज महर्जन र राजेन्द्र महर्जनको अनुवादमा नागरिक दैनिक, ४ भदौ २०७४ मा प्रकाशित भएको थियो ।

‘साम्यवादको मूल तत्व विनयपिटक कि मार्क्सवाद ?’ शीर्षकमा प्रकाशित त्यस आलेखलाई तत्काल प्रकाशन गर्नुपर्ने प्रकाशकको उद्देश्य जेसुकै भए पनि त्यसको विषयवस्तुले हाम्रो गम्भीर ध्यानाकर्षण ग¥यो ।

ढिलै भए पनि त्यसको सम्यक खण्डनमा यो सामग्री तयार गरिएको छ ।

सार्वभौम मार्क्सवाद

दुई सय वर्षअघि जन्मेर सन् १८४८ मा कम्युनिष्ट पार्टीको घोषणा पत्र जारी गरेका कार्ल मार्क्स तथा फ्रेडरिक एंगेल्सद्वयको विचारलाई “मार्क्सवाद” भनिन्छ । मार्क्सवाद पुँजीवादी अन्तर्विरोधको वैज्ञानिक संश्लेषण हो र यसले त्यही दिशामा निरन्तर काम गरिरहेको छ । र, वैज्ञानिक समाजवादको अभ्यासद्वारा पुँजीवादी अन्तर्विरोधको समूल अन्त्य र साम्यवादी विश्व व्यवस्था स्थापनासम्म, परन्तु चौथो आयामको तहमा विकास अपरिहार्यता स्वीकार गर्दै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको कार्यदिशा निर्धारण गर्ने सर्तमा, मार्क्सवादले वर्गसंघर्षको निरन्तर मार्गदर्शन गरी नै रहने तथ्य स्पष्ट छ ।

१. सामान्यतः जर्मन दर्शन, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको एकीकृत स्वरूपलाई मार्क्सवाद भनिन्छ । ईश्वरवादी द्वन्द्ववादका दार्शनिक हेगेलको वैज्ञानिक द्वन्द्ववाद र यान्त्रिक भौतिकवादी दार्शनिक फायरवाखको वैज्ञानिक भौतिकवादलाई नयाँ संश्लेषण गरेर मार्क्र्स–एंगेल्सले द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण रचना गरे । जसको पूर्णतालाई, वस्तुको विकास प्रकृयाका आधारमा “द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद” भनिन्छ ।

२. बेलायती अर्थशास्त्रीद्वय एडम स्मिथ र डेभिड रिकार्डोको अर्थशास्त्रको नयाँ संश्लेषण गर्दै मार्क्स–एंगेल्सले सामाजिक विज्ञानमा आधारित राजनीतिक अर्थशास्त्रको रचना गरे । शास्त्रीय अर्थमा डेभिड रिकार्डोले नै वर्गसंघर्षको स्थिति व्यक्त गरिसकेका थिए । परन्तु, सामाजिक क्रान्तिको मुख्य नियमका रुपमा वर्गसंघर्षको भूमिका रहेको तथ्य उद्घाटन गर्दै कार्ल मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्त पत्ता लगाए ।

राजनीतिक अर्थशास्त्रमा अतिरिक्त मूल्यको स्थिति त्यो हो, जसमा श्रमिकले श्रम नगरे उत्पादन कार्य हुँदैन भन्ने श्रमिक वर्गको अडान तथा पुँजीपतिले लगानी नगरे उत्पादन कार्य हुँदैन भन्ने पुँजीपति वर्गको अडान जारी राख्दछ । पुँजीवादी आर्थिक सम्बन्धको अन्त्यहीन अन्तर्विरोध यहीनेर गुथिएको हुन्छ । मार्क्स–एंगेल्स सर्वहारा श्रमिक वर्गको पक्षमा डटेर खडा भए एवं पुँजीवादी उत्पादन सम्बन्ध उन्मूलन गर्दै त्यसको संरक्षक राज्यलाई विलोपीकरणको डाँडा कटाउने सार्वभौम उद्घोष गर्न अग्रसर भए ।

३. फ्रान्सेली सेन्ट साइमन तथा चाल्र्स फुरिय र वेलायती रोवर्ट ओवेनका काल्पनिक समाजवादी चिन्तनको निषेध गर्दै माक्र्स–एंगेल्सले वर्गसंघर्षमा आधारित वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको अपरिहार्यता जाहेर गरे । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा अतिरिक्त मूल्यको सिद्धान्त उन्मूलन गर्न पूँजीवादकै उन्मूलनद्वारा वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ क्रान्तिकारी वर्गसंघर्षको मार्गदर्शन हो, कम्युनिष्ट पार्टीको घोषणा पत्र । जसको सारतत्व– ‘दार्शनिकहरुले विश्वको व्याख्या मात्र गरे, मुख्यतः विश्वलाई बदल्नु हो ।’

अतः स्पट हुन्छ, कार्ल मार्क्सअघिका दार्शनिकहरुको दर्शन विश्वको व्याख्यामा सीमित थियो भने तीन संघटक अङ्गका आधारमा मार्क्सवादी दर्शन मुख्यतः विश्वलाई बदल्ने दृष्टिकोण बन्यो । यसरी मार्क्सवादी दर्शशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको तीन एकीकृत विज्ञान सार्वभौम मार्क्सवादको तीन संघटक अंग बन्यो ।

स्मरण रहोस् कि हेगेल र फायरवाख जर्मन दार्शनिक थिए ।

वैज्ञानिक बुद्ध

२६०० वर्ष अघि जन्मेका सिद्धार्थ गौतमको विचारलाई “बुद्ध दर्शन” भनिन्छ । बुद्ध दर्शन दास–मालिक तथा सामन्तवादी अन्तर्विरोधको एकसाथ संस्लेषण थियो । बुद्ध दर्शनको सारतत्व प्रतित्य समुत्पादले अस्तित्वको क्षणभङ्गुरता र अनित्य वोधको विधिले विछिन्न प्रवाह व्यक्त गर्दछ । यी दुवै द्वन्दवादमा आधारित दृष्टिकोण र विधि हुन्, जुन भौतिकवादमा निर्भर गर्दछन् ।

अलौकिक सत्ताको अस्तित्व अस्वीकार गर्ने अनिश्वरवादी अडान तथा कार्यकारण सिद्धान्तका आधारमा बुद्ध दर्शन भौतिकवाद निकट मानिन्छ । सर्वजन हितायको खण्डनमा बहुजन हितायको वकालत गरेका बुद्धका विचारहरु यसर्थ मार्क्सवाद निकट छन् । जसरी मार्क्सवादले बहुसंख्यक सर्वहारा श्रमिक वर्गको पक्षधरता लिन्छ, बहुजन हिताय त्यससँग सम्बद्ध छ ।

वैदिक दर्शनको पाँच धातुमध्ये आकाशलाई खारेज गरेर पृथ्वी, जल, वायु र अग्नीको चार धातु मात्र स्वीकार गरेका बुद्धको वैचारिक तत्व पदार्थ निकट देखिन्छन् ।

कार्ल मार्क्स भन्छन्– अज्ञानताले क्रान्तिको सेवा गर्दैन, बुद्धं शरणं गच्छामिका रुपमा बुद्ध भन्छन्– ज्ञानको खोजी गर ! मार्क्स भन्छन्– विश्वका श्रमिकहरु एक होऔं, बुद्ध भन्छन्– संघम् शरणम गच्छामि ! मार्क्स भन्छन्– निजी सम्पत्ति नभएका सर्वहारावर्ग नै क्रान्तिका अग्रदस्ता हुन्, बुद्ध भन्छन्– लोभ, तृष्णा, राग, द्वेष त्यागेर भिक्षु बन ! मार्क्सको अन्तिम लक्ष्य साम्यवादी समाज व्यवस्था हो भने बुद्धको सम्यक समाज व्यवस्था । दुवैले आत्महत्याको विरोध गरेका छन् । यी हुन् मार्क्सवाद र बुद्ध दर्शनबीच निकटता अथवा समानता ।

हेक्का रहोस् कि आफ्नो कार्यदिशामा अन्तर बाहेक सर्वहारा र भिक्षुको व्यवहारिक जीवनमा निकटता अथवा समानता स्वतः स्पष्ट छ ।

पृथकताको प्रश्नमा मार्क्सवाद सापेक्षित शान्तिको सिद्धान्त हो भने बुद्ध दर्शन निरपेक्ष शान्तिको सिद्धान्त । मार्क्स र बुद्धबीच यही नै मुख्य भिन्नता हो । मार्क्सले वर्ग अन्तरविरोध हल गर्न सापेक्षित हिंसाको पक्ष लिए भने दास–मालिक युग तथा सामन्तवादी अन्तर्विरोधको संश्लेषण हुँदाहुँदै पनि राज्यसत्ताको मामिलाप्रति उदासीन रहनुको परिणाम बुद्धले निरपेक्ष शान्तिको पक्ष लिए । त्यसैले बुद्धको दर्शनमा जीवन र जगतबारे दृष्टिकोण तथा समाजशास्त्र साम्यवाद उन्मुख हुँदा हुँदै सैन्य विज्ञान र राज्य सञ्चालनको अर्थशास्त्र भने प्रभावकारी रुपमा उपलब्ध छैन ।

त्यसैले बुद्ध सिधै साम्यवाद तर्फको यात्रा निश्चित गर्दछन् भने मार्क्स वर्ग अन्तर्विरोध हल गर्न वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फको यात्रा गर्दछन् । यद्यपि, अनित्य वोधको सिद्धान्तले एकाधिकार पुँजीवाद विरुद्ध लड्ने नयाँ सिद्धान्तको विकासलाई निषेध गर्दैन । एकाधिकार पुँजीवाद विरुद्ध लड्ने नयाँ विचार निर्माणतर्फ जोड नदिने हो भने साम्राज्यवादी उत्पीडनबाट थोपरिएको मानवीय दुःखको कारण बोध गर्न सकिँदैन । कारण बोध नगरिएसम्म दुःखको निवारण सम्भव नै हुँदैन । यहीँनेर बुद्धमार्गीहरुको विशेष ध्यान आकृष्ट हुन जरुरी छ ।

कार्ल मार्क्सले पनि खोजी खोजी हिंसा गर्ने भनेका छैनन् । एकाधिकार पुँजीपतिले बन्दुकमा आधारित हिंसाद्वारा उत्पीडन थोपरेका छन्, तर्क र आत्मशुद्धिको बलमा तिनले उत्पीडनकारी एकाधिकार त्याग्दैनन् । यहीँनेर सर्वहारा श्रमिक वर्गले वर्गसंघर्ष र बल प्रयोगको सिद्धान्त अख्तियार गर्नुपर्ने ऐतिहासिक अनिवार्यता रहन्छ, भनेका हुन् ।

समाजको साम्यवादी व्यवस्थामा प्रवेशसँगै राज्य विलोपीकरण हुनेछ । त्यस उप्रान्त मार्क्सवादी बल प्रयोगको सिद्धान्त स्वतः प्रयोगहीन बन्दछ । यसैलाई सापेक्ष शान्तिको सिद्धान्त भनिएको हो ।

विपश्यना विज्ञान अभ्यास गर्दा मार्क्सवादीले पाचौँ शील संशोधन गरेर ग्रहण गर्दछन् । त्यो भनेको “प्राणीको हिंसा गर्दिन”को ठाउँमा “अन्यायपूर्ण हिंसा गर्दिनँ” भन्ने हो । जसरी युद्धहरू न्यायपूर्ण र अन्यायपूर्ण हुने गर्दछन्, त्यसरी नै हिंसा पनि न्यायपूर्ण र अन्यायपूर्ण हुने गर्दछ । यस अनुसार चोरी गर्दिनँ, झुटो कुरा बोल्दिनँ, यौन व्यभिचार गर्दिनँ, लागू पदार्थ खाँदिन र अन्यायपूर्ण हिंसा गर्दिनँका सपथ नै ती पञ्चशील हुन आउँछन् ।

मानव जातिभित्रका कम्युनिस्टलाई यी चार शील जति अपरिहार्य छन्, संशोधन अथवा परिमार्जनद्वारा अन्यायपूर्ण हिंसा नगर्ने संकल्पले ऐतिहासिक अपरिहार्यताका रुपमा बल प्रयोग स्वीकार गर्ने मार्क्सवादीलाई (विपश्यना विज्ञान अभ्यासमा) नैतिक तुल्याउँछ । यसले बुद्ध दर्शनलाई पनि कुनै आँच पुर्‍याउँदैन   । बरु बुद्ध दर्शनको सापेक्षित विकास प्रकृयामा एउटा आयाम नै थप्न सक्छ । जसले, मार्क्सवाद र बुद्ध दर्शनलाई एक–अर्कावीच समायोजनको आधार खडा गर्दछ ।

पृथ्वी, जल, वायु र अग्निका चारै धातु अर्थात् पदार्थको जति नै खोज अनुसन्धान, व्याख्या र विश्लेषण गरे पनि बुद्ध दर्शनको सर्वोच्च संश्लेषण “विपश्यना विज्ञान” हो र यसका वैज्ञानिक बुद्ध हुन् । बुद्धको विपश्यना वस्तुतः मानिसको मन व्यवस्थापन गर्ने विज्ञान हो । शील, समाधि र प्रज्ञाको शृंखलाबाट निर्वाण प्राप्त गरिने सन्दर्भमा मुख्यतः शील र प्रज्ञा मार्क्सवादी जीवनको अभिन्न सांस्कृतिक आयाम बन्नु पर्दछ । तब उसले आफ्ना लागि सजगता र सामाजिकवर्गका लागि समता स्थापित गर्न सम्भव हुनेछ ।

आत्मसंघर्षका लागि मार्क्सवादीहरुको सांस्कृतिक खाँचो यहीँनेर हो कि पुँजीवादी प्रकोपको घेरामा परेर उनीहरु (मार्क्सवादीहरु) पनि क्रमशः पुँजीवादीहरु जस्तै शील र प्रज्ञा गुमाउने जोखिमको सिकार बन्दछन् । परिणाम, प्रतिक्रान्ति हुने गर्दछ ।

अर्को, निम्न–पुँजीवादी समाजमा स्वभावैले मानिस आत्मकेन्द्रित हुने गर्दछ । विकसित प्रविधि र सुचना सञ्चारको दुनियाँमा वैचारिक उत्प्रेरणाले मात्र कोही वस्तु केन्द्रित भैहाल्न तयार नहुन सक्छ । अतः विपश्यना विज्ञानको अभ्यासद्वारा नै मानिस आत्मकेन्द्रीकरणको उत्कर्षमा पुग्न सक्छ, मानवीय सत्वको बोध गर्न सक्षम बन्दछ । उत्कर्षको निष्कर्षमा वस्तु अर्थात् वर्ग केन्द्रीकरणमा स्वतः परिणत हुन्छ । मार्क्स, लेनिन, माओले आफ्नो समयमा विपश्यनाको साधना गरेनन् भन्दैमा झर्झराउँदो विपश्यना विज्ञानलाई अध्यात्मवादी कित्तामा धकेलिरहने धृष्टता गतिशील मार्क्सवाद प्रतिकूल जडसूत्रवाद मात्र हुने छैन, लौकिक सत्तामा विश्वास गर्ने बुद्धको अपमानसमेत हुन पुग्दछ । किनकि, शील र प्रज्ञाको अभावमा कोही पनि मार्क्सवादी बन्नै सक्दैन ।

खण्डित अम्बेडकर

उपरोक्त विश्लेषणको अपेक्षित निस्कर्ष डा. भीमराव अम्बेडकरले मार्क्सवाद र बुद्ध दर्शनलाई एक–अर्कावीच पूरक तुल्याउन सक्नु पर्दथ्यो, बाधक होइन । त्यसैमा, मात्र त्यसैमा जात व्यवस्था विरुद्ध सम्झौताहीन संघर्ष लडेका डा. अम्बेडकरको संघर्षले सार्थकता पाउने हुन्थ्यो ।

सम्भाषण–आलेखको शीर्षकमा नै डा. अम्बेडकरका सम्पूर्ण विचारहरु केन्द्रित छन्, भन्ने वस्तुस्थितिमा साम्यवादप्रति सकारात्मक समझदारी भएको मानिसले अनाहकमा मार्क्सवाद विरुद्ध विनयपिटकको अवरोध तेस्र्याउनु हुँदैनथ्यो । यहींनेर “साम्यवादको मूल तत्व विनयपिटक कि मार्क्सवाद ?” भन्ने असान्दर्भिक विवाद खडा गरेर डा. भीमराव अम्बेडकर मानव मुक्तिको सर्वोच्च विज्ञान निर्माणमा योगदान गर्न चुके अथवा नराम्ररी खण्डित भए ।

जगतलाई थाहा छ, डा. अम्बेडकर स्वतन्त्र भारतीय संविधानसभाका अध्यक्ष थिए । उनकै प्रयासमा दलित तथा अनुसूचित जातिलाई आरक्षण दिलाउने काम भयो । अम्बेडकरको जीवनी पढेका जो कोहीको, खासगरी तथाकथित सवर्ण समाजको घेराबन्दीमा दलित समुदायका अम्बेडकर र उनका पिताले खेप्नु परेको कारुणिक दुःखले मानव हृदय द्रविभूत बन्न पुग्छ ।

अतः अम्बेडकरको वैचारिक निर्णय श्रमिक वर्गीय विज्ञानमा आधारित हुनै पर्दथ्यो, आखिर दलित समुदाय ऐतिहासिक श्रमिक वर्ग नै त थियो । जातव्यवस्था विरुद्ध हिन्दु धर्म त्यागेर बुद्ध धर्म अंगाल्दैमा एकाधिकार तथा दलाल पुँजीवादी दुःखबाट मानव जातिको मुक्ति हुँदैनथ्यो र भएन पनि । खैर नयाँ पुस्ताले निरुपण गर्ने सवाल बन्यो यो ।

अन्त्यमा, कतिपय मानिस बुद्ध दर्शन मध्यमार्गी भएकाले यसलाई मार्क्सवाद या पूँजीवादतर्फ तान्न मिल्दैन, भन्ने गर्छन् । उनीहरुलाई अवगत हुनैपर्छ, उत्तरी र दक्षिणी दुई ध्रूवको सन्तुलनमा पृथ्वीको अस्तित्व जीवित छ ।

दर्शन र विज्ञानको वहसमा के गुरुत्वाकर्षणको नियमले तेस्रो ध्रुवलाई स्थान दिन्छ ? किमार्थ दिँदैन । अतः साम्यवादप्रति सहानुभूति राख्दै मार्क्सवादलाई निषेध गर्ने अम्बेडकर तथा तेस्रो ध्रूवको अप्राकृतिक वकालत गर्नेहरु अन्ततः ज्याक डेरिडाको डि–कन्स्ट्रक्सनमा नै पुग्दछन् ।

डेरिडाले जसरी मार्क्सवाद विरुद्ध अनिर्माणवाद (डि–कन्स्ट्रक्सन) खडा गरेर भूमण्डलीकृत पुँजीवादको सेवा गरे, अम्बेडकर र तेस्रो ध्रूवधारीहरु पनि त्यतै पुग्नेछन्, जहाँ साम्राज्यवाद तथा दलाल नोकरशाही पुँजीवादले रक्तपातपूर्ण हिंसाको अखडा जमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल किराती
गोपाल किराती
लेखकबाट थप