शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा कोरोना संक्रमण बढेपछि फेरि लम्बियो निषेधाज्ञा

बुधबार, ०२ भदौ २०७८, २१ : ०२
बुधबार, ०२ भदौ २०७८

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र १० गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र १० गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । 

प्रशासनले यस अघि पोखरा क्षेत्रमा कोरोना संक्रमण अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि थप गरेको थियो । प्रशासनले यसअघि निषेधाज्ञालाई खुकुलो पार्दै कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको थियो । प्रशासनले निषेधाज्ञाको स्वरुपमा परिवर्तन गर्दै निश्चित संख्यामा यातायात व्यवसायी संस्थाको सिफारिसमा जिल्ला प्रशासनबाट पास लिएर लामो दुरीका सवारी साधनहरु सञ्चालन गर्न पाइने निर्णय गरेको थियो । 

निषेधाज्ञा थपिएसँगै व्यवसायीले सवारीका साधन सञ्चालन गर्दा सीट क्षमताभन्दा बढी यात्रु बोक्न भने पाइने छैन । बसका चालक तथा सहचालकले अनिवार्य मास्क, फेस सिल्ड प्रयोग गर्नुपर्ने छ भने यात्रुले मास्क अनिवार्य रुपमा लगाउनुपर्नेछ ।

त्यसैगरी मठमन्दिर, मस्जिद, गुम्बा, चर्चहरू स्वास्थ्य मापदण्ड पूरा गरि सञ्चालनमा आउने छन् । कास्कीभित्र चल्ने निजी सवारी साधन र ट्याक्सीको हकमा चालकसहित बढीमा ४ जना सवार रही स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । त्यस्तै मोटरसाइकल तथा स्कुटरले पनि मापदण्ड अपनाएर सञ्चालन हुन पाउनेछन् ।

यस्तै विश्वविद्यालय, क्याम्पस एवम् माध्यमिक विद्यालयहरूले पूर्वनिर्धारित परीक्षाहरु सञ्चालन सम्बन्धमा अपनाउनुपर्ने सावधानीका उपायहरु कडाईका साथ पालना गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी अनलाईन प्रविधिबाट सञ्चालन गर्न सक्नेछन् ।

यस्तै होटल तथा रेस्टुरेन्टहरुले अनलाइन डेलिभरी राति ८ बजेसम्म मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने छन् । होटलमा बास बस्न आउने पाहुनालाई बेड क्षमताको ५० प्रतिशतसम्म रहने गरी खान बस्नको प्रबन्ध गर्न सक्नेछन् । तर, एका घरका परिवारबाहेक १ कोठामा १ जनाभन्दा बढी व्यक्ति राख्न पाइने छैन । 

पूर्वनिर्धारित विवाह कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ जनाभन्दा बढी व्यक्ति सहभागी गराउन नपाइने उल्लेख छ । तोकिएका पसलहरु बाहेक अन्य सबै खालका पसल तथा व्यवसाय बिहान ५ देखि राति ८ बजेसम्म खोल्न पाइनेछ ।

प्रशासनले अझै पनि सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, होटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर,स्पा, स्वीमिङ पुल, फुटपाथ पसल लगायतका व्यवसाय खोल्न निषेध गरेको छ ।

त्यसैगरी सभा, सम्मेलन, बैठक, तालिम सेमिनार, मानिस जम्मा हुने वा भीडभाड हुने लगायतका कार्य सञ्चालन गर्न समेत रोक लगाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप