सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा तालिबान विरोधी एकजुट भइरहेछन्, टक्कर दिन सक्लान् र ?

बुधबार, ०२ भदौ २०७८, १८ : २१
बुधबार, ०२ भदौ २०७८

अफगानिस्तानमा तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा चलिरहेको युद्ध समाप्त भएको घोषणा गरेका छन् । 

तर अर्कोतर्फ अज्ञात स्थानबाट जारी गरिएको एक सन्देशमा अफगानिस्तानका उप राष्ट्रपति अमरुल्लाह सालेहले राष्ट्रपति अशरफ गनीले देश छोडेर भागेपछि अब आफू अफगानिस्तानका कार्यवाहक राष्ट्रपति भएको बताउँदै अहिले नै युद्ध समाप्त नभएको बताएका छन् । 

काबुलमाथि नियन्त्रण जमाएपछि मंगलबार आफगान तालिबानका प्रवक्ताले आफ्नो पहिलो अन स्क्रिन पत्रकार सम्मेलन गरे । उक्त पत्रकार सम्मेलनमा जबीहुल्लाहले आम माफी दिएको र महिलाको अधिकार र नयाँ सरकार बनाउने विषयमा कुराकानी गरेका थिए । 

तर पत्रकार सम्मेलनको केही समय अघि अफगानिस्तानका उप राष्ट्रपति अमरुल्लाह सालेहले अफगान संविधान अनुसार, राष्ट्रपतिको अनुपस्थिति, राजीनामा वा मृत्युको स्थितिमा उपराष्ट्रपति देशको कार्यवाहक राष्ट्रपति बन्ने घोषणा गरे । 

ट्वीटरमा आफ्नो बयानमा अमरुल्लाह सालेहले भने, ‘म यतिबेला देशमा छु र कानूनी रुपमा कार्यवाहक राष्ट्रपति हुँ । म सबै नेताको समर्थन र सर्वसम्मति पाउनका लागि उनीहरुको सम्पर्कमा छु ।’

एकातिर अशरफ गनीले अफगानिस्तान छोडिदिएका छन् भने अमरुल्लाह सालेह ती केही अफगान नेतामध्ये एक हुन् जसले तालिबान नियन्त्रण विरुद्धको एक विरोध आन्दोलन सुरु गर्न तयार छन् र सशस्त्र तालिबान लडाकूको देशमाथिको कब्जालाई अवैध बताउँछन् । 

हाल तालिबानले देशका सबै महत्वपूर्ण सीमा मार्गमाथि कब्जा जमाइसकेका छन् र यस्ता केही इलाका मात्रै छन् जहाँ तालिबानले अहिलेसम्म नियन्त्रणको दाबी गरेको छैन । 

मसूदका छोराले गरे युद्धको घोषणाः

यसको एकदिन अघि फ्रान्सेली पत्रिकाका लागि लेखिएको एक लेखमा ‘शेर–ए–पंजशीर’ को नामले चर्चित अफगान नेता अहमद शाह मसूदका छोरा अहमद मसूदले आफ्ना पिताको नक्साकदममा हिँड्दै तालिबानविरुद्ध ‘युद्धको घोषणा’ गरेका छन् । 

अहमद मसूदले इन्स्टाग्राममा पोस्ट गरेको एउटा भिडियोमा आफू अफगानिस्तानभन्दा बाहिर नगएको र पंजशीरमा आफ्ना मानिसहरुको साथमा भएको दाबी गरे ।

काबुलबाट लगभग तीन घण्टाको दुरीमा पंजशीर प्रान्त तालिबानविरुद्ध विरोधका लागि परिचित छ । सन् १९९६ देखि २००१ सम्म तालिबानको शासनको क्रममा पनि यो प्रान्त उनीहरुको नियन्त्रणमा थिएन । यस्तै उत्तरी गठबन्धन (नर्दर्न अलायन्स) ले तालिबानसँग प्रतिस्पर्धा गरेको थियो । 

पंजशीरमा रहेका स्रोतले बीबीसीसँगको कुराकानीमा अमरुल्लाह सालेह र अहमद मसूदले पूर्व उत्तरी गठबन्नका प्रमुख कमान्डर र सहयोगीसँग पुनः सम्पर्क गरे र ती सबैलाई संघर्षमा समावेश हुनका लागि राजी पनि गरेका छन् । 

अशरफ गनीको राजीनामाको विरोधः हामी तालिबानसँग संघर्ष गर्नेछौं

राष्ट्रपति अशरफ गनीका एक नजिकका व्यक्तिले आइतबार अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति भवनमा भएको कार्यक्रममाथि प्रकाश पारेका छन् । 

उनले बीबीसीसँगको कुराकानीमा भने, ‘अघिल्लो शुक्रबार तालिबान काबुलमाथि कब्जा जमाउन आउँदा केहीले राष्ट्रपति अशरफ गनीमाथि राजीनामा दिनका लागि दबाब दिएका थिए । तर उनले मानेनन् ।’

उनले शनिबार र आइतबारको मध्य रातसम्म आयोजित थुप्रै बैठकमा राष्ट्रपति अशरफ गनीका थुप्रै नजिकका सहयोगीले उनलाई राजीनामा दिन र देश छोडेर जाने सल्लाह दिएको दाबी गरे । उनका अनुसार अमरुल्लाह सालेह एकमात्र व्यक्ति थिए जसले राष्ट्रपति अशरफ गनीलाई अन्तिम समयसम्म राजीनामा नदिन र देश छोडेर नजान आग्रह गरे । 

उनका अनुसार यो मौकामा अमरुल्लाह सालेहले बारम्बार भने, ‘हामी तालीबानसँग संघर्ष गर्नेछौं ।’

राष्ट्रपति भवनको यी बैठकबारे अर्को एउटा स्रोतले पनि अमरुल्लाह सालेह राष्ट्रपति अशरफ गनीको राजीनामाको कडा विरोधी भएको पुष्टि गर्यो । 

पंजशीरमा जुटिरहेका छन् तालिबान विरोधीः

उनका अनुसार काबुलमा तालिबान आएपछि र राष्ट्रपति गनीले देश छोडेपछि अमरुल्लाह पंजशीर गए र उनी अहिले पनि त्यहाँ छन् । 

अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदी पनि अमरुल्लाहसँग भएको मान्यता राखिन्छ । 

अमेरिकामा स्थित अफगान विश्लेषक हाशिम वहदतयारका अनुसार अमरुल्लाह सालेहको सन्देशमा दुई महत्वपूर्ण कुरा छन् । ‘तीमध्ये एउटा कुरा यो हो कि यदि तालिबान एक लोकतान्त्रिक सरकारको कुरा गर्छन् भने सायद उनीहरु केही हदसम्म मान्नेछन् । तर यदि तालिबानले आफ्नै किसिमको सरकार बनाउने घोषणा गरे भने सायद अमरुल्लाह उनीहरुविरुद्ध लड्नेछन् ।’

तर अहरुल्लाहले देशमा कति समर्थन पाउँछन् त्यो हाल स्पष्ट हुन सकेको छैन । 

अन्तिम समयसम्म तालिबानको विरोध गर्ने कमान्डर अहमद शाह मसूदका छोरा अहमद मसूद

तालिबानविरुद्धको प्रतिरोधले कसरी गती समात्ला ?

हुन त तालिबानले अहिलेसम्म अफगानिस्तानमा आफ्नो नयाँ सरकारबारे खासै केही भनेको छैन तर जबीहुल्लाह मुजाहिदले आफ्नो पत्रकार सम्मेलनमा उनको सरकारमा सबै क्षेत्र र विचारधाराकाम अफगाना नागरिक समावेश हुने बताएका छन् । यस्तै उनको सरकारले अफगानिस्तानमा सबै दलको प्रतिनिधित्व गर्ने पनि बताएका छन् । 

विश्लेषक हाशिम वाहदतयारका अनुसार अब त्यसपछि जे जति हुन्छ, यसका लागि तालिबान जिम्मेवार हुनेछन् किनभने उनका अनुसार यतिबेला तालिबान सत्तामा छ ।’

वहदतयार थप्छन्, ‘केही रिपोर्टका अनुसार तालिबान अमरुल्लाह सालेह र अहमद मसूदसँग कुराकानी गर्नका लागि केही समूह पठाउने र उनीहरुलाई सरकारमा समावेश हुनका लागि प्रस्ताव दिने बारे पनि विचार गरिरहेका छन् ।’

तर यदि यस्तो भइहाले पनि पछिल्लो २० वर्षमा अफगानिस्तानमा यस्ता थुप्रै घटना भएका छन् जो तालिबान र उनका विरोधीलाई एक साथ आउन बाधा उत्पन्न हुन सक्छ । 

वहदतयार यी घटनाबारे कुरा गर्दै भन्छन्, ‘उत्तरी गठबन्धन र धेरैजसो मानिसहरु अशमद शाह मसूदलाई नायक भन्छन्, के यो उपाधि तालिबानलाई स्वीकार्य होला ?’

स्मरण होस्, अहमद शाह मसूदलाई ९÷११ भन्दा दुई दिन अघि अल–कायदाका दुई आत्मघाती हमलाकर्ताले हत्या गरेका थिए । अहिलेसम्म नर्दर्न अलायन्स र अहमद शाह मसूदलाई मान्नेहरुले उनको वार्षिक पुण्यतिथिमा पूरा काबुल शहर बन्द गर्छन् । 

वहदतयारले जबीहुल्लाह मुजाहिदको पत्रकार सम्मेलनको कुरा उठाउँदै यदि तालिबानजे आफ्नो बचन पूरा गर्छ भने उनीहरुका लागि चुनौती कम हुनसक्ने बताए । 

यस्तै, उनका अनुसार यदि तालिबानले सत्ता लिएपछि आप्नो पुरानो समय झैं कडा निर्णय लिए भने उनीहरुको सरकारको समस्या बढ्न सक्छ । 

सडकमा विरोधको भिडियो भाइरलः

तालिबानको एक संगठित रुपमा विरोध गर्नका लागि कुनै गुट अगाडि आउन समय लागेपनि सडकमा छिटपुट विरोध देखिन थालेका छन् । 

पछिल्लो दुई दिनमा कम्तीमा तीन भिडियो सार्वजनिक भएका छन् जसमा मानिसहरु तालिबानको अगाडि आफ्नो विरोध जताइरहेका छन् । 

एउटा भिडियोमा काबुको सडकमा केही महिला हातमा लेखिएको प्लेकार्ड लिएर नारा लगाइरहेको देख्न सकिन्छ । खबरका अनुसार तालिबानसँग उनीहरुले काममा जान दिनका लागि माग गरिरहेका थिए । उनीहरुको वरिपरि हतियारधारी तालिबान पनि थिए । 

खोश्त प्रान्तबाट आएको अर्को एउटा भिडियोमा केही युवालाई एउटा चौबाटोमा हातमा अफगानिस्तानको झण्डा लिएर नारा लगाइरहेको देख्न सकिन्छ । तालिबान लडाकूले अचम्मित हुँदै उनीहरुलाई हेरिरहेका छन् । 

१८ अगस्टमा अर्को एउटा भिडियो भाइरल भइरहेको छ जसमा पाकिस्तानको सीमा नजिकै एउटा ठूलो अफगान शहर जलालाबादमा केही मानिस, तालिबानको सेतो झण्डा हटाएर अघिल्लो सरकारको हरियो–रातो झण्डा लगाइरहेको देखिएका छन् । 

उता बामियानमा तालिबानले त्यहाँका चर्चित हजारा नेता अब्दुल अली मजारीको मूर्ति फुटाएको छ । तालिबानले सन् १९९६ मा मजारीको हत्या गरेको थियो । मजारी हजारा शिया समुदायका एक प्रमुख नेता थिए र तालिबानको विरोध गर्दथे । 

यो त्यहि बामियान हो जहाँ गौतम बुद्धका दुई विशाल मूर्ति थिए जसलाई करिब दुई दशक अघि तालिलबानले नष्ट गरेको थियो । 

 


 


 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप