शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माण शुरु, २०८३ मंसिर भित्र सक्ने लक्ष्य

बुधबार, ०२ भदौ २०७८, १८ : ०८
बुधबार, ०२ भदौ २०७८

काठमाडौं । वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो  त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माण शुरु भएको छ ।

भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’को काम मंगलबार शुरु भएसँगै आयोजनाको निर्माण शुरु भएको हो । २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो बिष्फोट गराइएको छ । मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण शुरु गरिएको छ । 

आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामग्रीहरुको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेली ब्रिजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माण लगायतका काम धमाधम भइरहेको छ । निर्माणमा  अहिले २ सय श्रमिक आयोजना स्थलमा खटिएका छन् । 

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ ।  उत्पादित विद्युत आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी रहेको छ । साथै आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म सेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याज सहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी)बाट जुटाइएको कम्पनीले जनाएको छ । 

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षा याममा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।  

काठमाडौं लोड सेन्टरबाट नजिक रहेको र विद्युतको अत्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्तै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । कम्पनीले आयोजनाको निर्माण २०८३ मंसिरभित्र सक्ने लक्ष्य राखिएको जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप