शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विकास बैंकलाई पनि ब्रोकर लाइसेन्स दिन बैंकर्स एसोसिएसनको माग

बुधबार, ०२ भदौ २०७८, ११ : ३७
बुधबार, ०२ भदौ २०७८

विकास बैंकहरुलाई पनि धितोपत्र कारोबार ब्रोकर लाइसेन्स उपलब्ध गराउन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले धितोपत्र बोर्डसँग माग गरेको छ ।  धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ अनुसार ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक तथा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्ने व्यवस्था गरेकाले सोही व्यवस्था बमोजिम विकास बैंकहरुले पनि लाइसेन्स पाउनु पर्ने बैंकर्स एसोसिएसनले माग गरेको हो । 

सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा ‘प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ’ भन्ने व्यवस्थाअनुसार विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमति प्रदान गरिदिनका लागि नेपाल धितोपत्र बोर्डलाई एसोसिएसनले पत्र लेखेको छ । बिकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भइ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त लिइ बैंकिङ सेवा प्रदान गर्दछन् ।  

राष्ट्रिय स्तरका बिकास बैंकहरुको औसत चुक्ता पूँजी ३ अर्व ४० करोड रुपैंयाँ नाघिसकेको छ । त्यस्तैगरी विकास बैंकहरुले एक हजार बढी शाखाबाट करिब ४१ लाख खातावालाहरुलाई  बैंकिङ सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेको एसोसिएसनले जनाएको छ भने २०७८ असार मसान्तसम्ममा ४४५ अर्ब रुपैंयाँ निक्षेप परिचालन गरी ३८३ अर्ब रुपैंयाँ कर्जा प्रवाह समेत गरेको एसोसिएसनले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप