शिक्षालाई व्यवहारसँग जोड्ने उपाय

person explore access_timeभदौ २, २०७८ chat_bubble_outline0

 

हाम्रो शिक्षा प्रणालीलाई कसरी जीवन उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा पछिल्लो समय चासो र चिन्ता बढेको छ । प्राज्ञिक क्षेत्रमा शिक्षालाई जीवनोपयोगी बनाउनका लागि छलफल र बहसहरू पनि सञ्चालनमा छन् । नेपालका विश्वविद्यालयहरूबाट औपचारिक शिक्षामा स्नातकोत्तर तथा स्नातक तह उत्तीर्ण भएका विद्यार्थी रोजगारीका लागि निरन्तरको दौडमा भए पनि आवश्यक सङ्ख्यामा रोजगारी प्राप्त गर्न नसकेर विदेशिन बाध्य छन् । हाम्रा विश्वविद्यालयहरू बेरोजगार युवाहरू उत्पादन गर्ने कारखानाका रूपमा परिभाषित हुँदै आएका छन् ।

डिजाइन गरिएको कोर्स पढ्ने र परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया निरन्तर जारी रहेको छ । नेपालको शिक्षा प्रणालीको परिणामलाई हेर्दा सूचना तथा जानकारी प्राप्त गर्ने तहको पर्याप्त विकास भएको छ । प्राप्त सूचना तथा जानकारीहरूले हाम्रो जीवन सहज बनाउन कठिन रहेको छ । अर्थात् हामीले प्राप्त गरेको ज्ञान व्यवहारमा कही पनि प्रयोग गर्ने अवसरहरू छैनन् । पढेको शिक्षाको व्यावहारिक प्रयोग कसरी गर्ने भन्ने कुराको मियो भेटिँदैन ।

पढेको ज्ञान, सीपलाई प्रयोग गर्न नसक्दा नेपालमा शिक्षित बेरोजगारको सङ्ख्या बढ्दो छ । व्यवहारमा प्रयोग गर्न नसक्दा गरेर सिक्ने प्रक्रिया अवरुद्ध छ । जान्ने, प्रयोग गर्ने र त्यसबाट प्राप्त हुने पुनर्शिक्षा नहुँदा हामीले प्राप्त गरेको शिक्षा प्रयोगविहीन रहेको निष्कर्षमा पुग्ने अवस्था आजको विद्यमान छ ।

गैरसरकारी क्षेत्रमा विगत २५ वर्षयता शिक्षालाई कसरी जीवन उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा ग्रामीण क्षेत्रमा युवाहरूका बीचमा निरन्तर अन्तरक्रिया, छलफल र बहसहरू सञ्चालन गर्ने काममा सहकर्मी ट्रेनिङ तथा रिसर्च सेन्टरले गर्दै आएको छ । पछिल्लो पटक २०७८ भदौ १ गतेदेखि १२ दिने सशक्तीकरण र सामाजिक रूपान्तरणका लागि सहजीकरण आधारभूत तालिम बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको छ ।

बाजुरा, दाङ, बाँके, बर्दिया र कैलालीका ८ जना पुरुष र १८ जना महिला सहभागी रहनुभएको उक्त तालिममा जीवनउपयोगी शिक्षाका विषयमा घनिभूत रूपमा छलफल र विश्लेषण हुनेछ । तालिमपछि सहभागीमा आलोचनात्मक चेतना र विश्लेषणात्मक शिक्षाका विविध पाटामा अभ्यास गरिने र आफ्नो ज्ञान, सीप, क्षमता र अनुभवलाई व्यवहारमा कसरी प्रयोग गर्ने सवालमा सहभागीहरू निष्कर्षमा पुग्ने विश्वास तालिम सहजकर्ता राजाराम गुप्ता बताउँछन् ।

बिहान ५ः३० बजे योगाभ्यासवाट सुरु हुने आवाशीय कक्षामा सहभागीहरूले विभिन्न टोली निर्माण गरी खाना आफै पकाउने, सरसफाइ गर्ने, सिकाइ अभिलेख व्यवस्थापन, दैनिक रूपमा मोनिटरिङ गर्ने, हरेक दिनको प्रारम्भमा अघिल्लो दिनको सिकाइ पुनरावलोकन गर्ने र विभिन्न खेल, अभ्यास, समूह छलफल, मतिष्क मन्थन, अभिनय जस्ता प्रक्रियाको प्रयोगबाट सिकाइलाई व्यावहारिक बनाइने सहजकर्ता गुप्ताको भनाइ छ ।

शिक्षालाई व्यवहारसँग जोड्न नसक्नु नै अहिलेको प्रमुख समस्या भएको र शिक्षालाई जागिरसँग जोड्ने हाम्रो मानसिकता, सरकारी जागिरबाहेक आफै आफ्नो काम गरी खाने अवस्थाको सिर्जना गर्न नसक्दा अहिलेको शिक्षा जीवन उपयोगी बन्न नसकेको विश्लेषण कैलालीका भुवन विष्टको रहेको छ । श्रमको सम्मान नहुनु, उत्पादन सम्बन्धबाट सबै टाढिनु र विश्वविद्यालयको विद्यार्थी जान्ने तर गाउँका किसान नजान्ने, पढेको व्यक्तिले आफ्नो काम गर्न लाज मान्ने प्रवृत्ति, परम्परा र चिन्तनलाई आमूल रूपमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको विष्ट बताउँछन् ।

बाँकेकी खुमा महराको विचारमा शिक्षालाई श्रमसँग, श्रमलाई सम्मानसँग र हरेक मानिस उत्पादन प्रणालीमा आबद्ध भई अघि बढ्न सके धेरै समस्या हल गर्न सकिन्छ । हरेक मानिससँग केही न केही ज्ञान, सीप, क्षमता र अनुभव छ भन्ने कुरामा विशेष ध्यान दिनसके, नजान्ने मानिस कोही पनि हँुदैन भन्ने मान्यतालाई स्थापित गर्ने, हरेक विषयमा आलोचनात्मक रूपमा विश्लेषण गर्ने क्षमताको विकास आजको प्रमुख आवश्यकता हो ।

शिक्षाले जीवन सहज बनाउनुपर्छ । जीवनजगतलाई बुझ्ने र तदनुरूपको विश्लेषण गर्दै आफ्नै ज्ञान, सीप, क्षमता र अनुभवका आधारमा मिलेर काम गर्ने, सामूहिकतामा विश्वास गरी जस्तोसुकै कठीन काम पनि एक्लै होइन, सामूहिक र सङ्गठीत रूपमा गर्न सकिन्छ भन्ने आत्म विश्वासको सिर्जनाले मात्रै शिक्षालाई जीवन उपयोगी बनाउन सकिन्छ । आफूलाई ठूलो ठान्ने, अरूलाई आदर सम्मान गर्न नसक्ने, आफ्नो काम गर्न लाज मान्ने तर कामको खोजीमा बाहिर गई जस्तोसुकै काम गर्न तयार हुने अवस्थामा परिवर्तन आवश्यक रहेको दाङकी पवित्रा रिजालको बुझाइ छ ।

श्रमको बाँडफाँट, महिला र पुरुषको छुट्टा छुट्टै जिम्मेवारी तोक्ने, सबैले समान रूपमा गर्न सकिने काम पनि यो महिलाको, यो पुरुषको भनी तोक्ने कार्यबाट लैङ्गिक विभेद सुरु भएको, घरेलु हिंसा बढेको र उत्पादन प्रणालीबाट अधिकांश मानिसहरू अलग्गिएको अवस्थाले शैक्षिक बेरोजगारको सङ्ख्या बढ्दै गएको अवस्थामा घर परिवारबाटै समान अवसरहरूको सिर्जना, मिलेर काम गर्ने वातावरण, श्रमको सम्मान, आदरपूर्ण व्यवहार र पढेको मानिसले जागिरबाहेकका काम गर्नु हँुदैन भन्ने चिन्तनबाट बाहिर आउनु जरुरी रहेको बाजुराका उत्तम शाही बताउँछन् ।

माथिका यी विश्लेषणहरूले शिक्षालाई श्रमसँग, श्रमलाई सम्मानसँग र कामलाई इज्जतसँग जोड्दै हाम्रो शिक्षा प्रणालीलाई विश्लेषणात्मक, आलोचनात्मक चेत निर्माणसँग, हरेक ज्ञान, सीप, क्षमता र अनुभवलाई व्यवहारसँग जोडेर अघि बढ्न सके जीवन सहज बनाउन सकिन्छ र हाम्रो शिक्षालाई जीवन उपयोगी बनाउन सकिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।