शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोहोलपूर–सुर्खेत १३२ केभी प्रशारण लाइन विस्तारको काम सुरु

१३ हजार बढी रुख काटिने
बुधबार, ०२ भदौ २०७८, १० : १९
बुधबार, ०२ भदौ २०७८


लामो समयदेखि चर्चामा रहेको कोहलपुर–सुर्खेत १३२ केभीको प्रशारण लाइनको क्षमता विस्तार कार्य सुरु भएको छ। ​कर्णालीवासीका लागि आशाको किरणका रूपमा हेरिएको यो आयोजनको ठेकेदार कम्पनीसँग सम्झौता भएको झन्डै  एक वर्षपछि मात्र विधिवत् रूपमा मंगलबार शिलान्यास गरिएको छ। 

प्रतिवेदन अनुसार आयोजना कोहलपुर सब–स्टेसनबाट प्रारम्भ भई सुर्खेत वीरेन्द्रनगरस्थित प्रस्तावित सब–स्टेसनमा गएर टुङ्गिने छ । प्राधिकरणका अनुसार  आयोजनाको लम्बाइ करिब ५१ किलोमिटर हुनेछ भने डबल सर्किटको हुनेछ । यस्तै एंगल टावरहरू २६ वटा रहने छन् भने आयोजनको कुल टावरहरूको सङ्ख्या एक सय ४५ वटा रहने बताइएको छ। यो आयोजनको लागि अनुमानित लागत एक अर्ब ८० करोड लाग्ने बताइएको छ ।

ईआईए प्रतिवेदन अनुसार प्रशारण लाइनको ७०.५४६ भाग वनको क्षेत्र, १५.१३५ खेतीयोग्य जमिन, २.२६५ बाझो जमिन,र ११.०६५ अन्य भागले ओगटेकोछ । यो आयोजना बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज भएर सुर्खेत जोडिने छ। आयोजनाबाट बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी र सुर्खेतका भेरीगंगा, लेकबेसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुने उल्लेख छ । 

उक्त आयोजना निर्माणको ठेक्का पाएको भारतीय कम्पनी आरएस इन्फाप्राजेक्टसँग २०७६ असार २२ गते सम्झौता भएको थियो । सम्झौता भएको मितिले २ वर्षभित्रमा निर्माण कम्पनीले विद्युत् प्रशारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिद लगायतका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नुपर्नेछ । 

आयोजना कम्पनीले भने ठेकेदार कम्पनीले डिटेल सर्भे, माटो परीक्षण, रुखको लगत सङ्कलन लगायतका काम सकेर आवश्यक सामग्री उत्पादनको काम गरिरहेको बताएको छ। २०४५ सालमा विस्तार भएको ३३ केभिए प्रशारण लाइन छ । जुन कर्णालीका लागि पर्याप्त छैन।

कर्णालीवासीले विद्युत्को क्षमता विस्तार नहुँदा लोडसेडिङको चर्को मार खेप्नुपरेको छ । आयोजनाका प्राविधिक मिलन सुवेदीले विस्तार कार्यमा आइपर्ने समस्या सहजीकरण गरिदिन प्रदेश सरकार र स्थानीय सरकारहरूलाई आग्रह समेत गरे । उनले भने,‘ टावर रहने स्थानमा टावर फाउण्डेशनको निर्माण कार्य सुरु भएको छ।’  

विस्तारका लागि १३ हजार बढी रुख काटिने

१३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् लाइन विस्तारका लागि १३ हजार बढी रुख काटिनेछन् । आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार स्थलगत अध्ययन गर्दा काटिनुपर्ने देखिएको हो। त्यसका लागि सरकारसँग अनुमति माग पनि गरिएको  छ। 

त्यसमध्ये सुर्खेतमा ६ हजार ८८०, बर्दियामा तीन हजार ३२०, बाँकेमा २ हजार ९१९ बराबर रुख काट्नुपर्ने देखिन्छ । आयोजना विस्तार गर्दा विद्युत्का ठुला पोलहरु राख्नुपर्दछ । ती पोलले ठुलो क्षेत्र ओगट्ने भएकाले पनि यति धेरै रुखहरू काट्नुपर्ने देखिएको चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप