बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, यस्तो अवस्थामा ट्रायल फेल

मङ्गलबार, ०१ भदौ २०७८, २२ : ४०
मङ्गलबार, ०१ भदौ २०७८

सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । 

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए । 

लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताए । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उनले बताए । नयाँ मापदण्डानुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।

उनले भने, “लिखित परीक्षामा सीमित प्रश्नबाटै आउने भएकाले उत्तीर्ण अङ्क पहिले ५० भएकामा अहिले ६० बनाइएको छ ।” प्रयोगात्मक परीक्षामा सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकामा अहिले ससाना गल्ती गरे पनि अनुत्तीर्ण नहुने मापदण्डमा व्यवस्था छ । प्रयोगात्मक परीक्षामा आठ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनैकुनैमा सानो गल्ती भइहालेमा पनि पास नै हुने प्रवक्ता डा भुषालले बताए ।

     पहेँलो धर्कामा छुँदा, एक पटक केही गरी गाडी बन्द भएमा वा मोडमा बत्ती नबाल्दा पनि छुट दिइने व्यवस्था छ । उनले भने, “उकालोमा रोकर अड्याउनुपर्नेमा गल्ती हुँदा भने फेल हुनेछ ।” भारत, चीन, बेलायत, अमेरिकालगायतका देशमा भन्दा  हाम्रो अप्ठेरो परीक्षा प्रणाली भएकाले परीक्षा प्रणाली केही सजिलो बनाउन लागिएको विभागले जनाएको छ । 

अरु देशमा ६०÷७० प्रतिशतसम्म पास दर रहेकामा नेपालमा २५÷३० प्रतिशतको हाराहारीमा मात्रै सहभागी पास भएको पाइन्छ । नेपालमा सवारी चालककै कारणले दुर्घटना बढेको भन्दै परीक्षा प्रणाली थप कडा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ । चालकको व्यवहारका कारण दुर्घटना हुने र दुर्घटनाको परीक्षा प्रणालीमा सम्बन्ध नहुने विभागका प्रवक्ता डा भुषालले बताए । परीक्षा प्रणाली कमजोर हुँदा दुर्घटना बढी हुन्छ भन्ने कुनै पनि अध्ययनले नदेखाएको उनले बताए । 

दुर्घटना चालकले नजानेर वा हेलचेक्र्याइको कारणले हुने गरेको छ । चालकले मादक पदार्थ खाएर सवारीसाधन चलाएर दुर्घटना भएको पाइन्छ । 

अहिले पास दर कम हुँदा गैरकानूनी बाटोबाट अनुमतिपत्र लिन खोज्ने प्रवृत्ति रहेकामा त्यसलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ । सेवाग्राहीले केही गरेर पास गर्न सकिएन भने अलिअलि खर्च गरेर भए पनि पास गरौँ भन्ने सोचाइमा विकल्प खोज्ने प्रवक्ता डा भुषालले बताए ।  त्यस्तै, पटकपटक एकै जना व्यक्ति परीक्षा दिन जानुपर्दा यातायात कार्यालयमा सधैँ भीड भइरहेको छ । पास हुने दर बढ्दा बजारमा सवारी चालकको कमी हुने छैन । एउटै सेवाग्राहीले उही सेवा सधैँ दिनुपर्दा कार्यालयलाई झन्झट भएको र सवारी साधन चलाउछु भन्नेले चलाउन नपाएको प्रवक्ता डा भुषालले बताए ।

यसअघि विभागले लिखित परीक्षामा सहभागी सेवाग्राहीले प्रयोगात्मक परीक्षामा एक पटक उत्तीर्ण नहुँदा अर्काे दुई पटक सहभागी हुन पाउने व्यवस्था गरेको थियो । नयाँ मापदण्डमा पनि यसलाई निरन्तरता दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप