सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघको नेतृत्व कस्तो हुनुपर्छ ?

मङ्गलबार, ०१ भदौ २०७८, १७ : ०७
मङ्गलबार, ०१ भदौ २०७८

 

 

–निमेष गिरी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को दशौँ महाधिवेशन आगामी अक्टोबर २३ देखि २५ सम्म हुने निश्चित भएको छ । यस महाधिवेशनसँगै यसमा पदाधिकारीका प्रत्यासीको रूपमा विभिन्न व्यक्तिहरूद्वारा उम्मेदवारी आउने शृङ्खला सुरु भइसकेको छ । लोकतन्त्रमा निर्वाचन भनेको हरेक सामाजिक सङ्घसंस्थालाई जीवन्त राख्ने एउटा प्रक्रिया हो र यसले संस्थाको संस्थागत जीवनलाई चलायामान पनि बनाउँछ ।

आज गैरआवसीय नेपाली सङ्घ १८ वर्षे लक्का जवान बनेको छ । यस सङ्घले अब आफ्नो दृष्टिकोण भविष्यका संरचनाको निर्माणमा ध्यान दिनुपर्ने बेलाको रूपमा लिन सकिन्छ । जुन उद्देश्य अनुरूप यो सङ्घको स्थापना गरिएको थियो, त्यसमा हालसम्म केकस्ता उपलब्धि प्राप्त भए, त्यसको पुनर्मूल्याङ्कन एवं आत्मसमीक्षाले नै यस सङ्घको भविष्यको बाटो निर्धारणमा उल्लेख्य भूमिका खेल्छ । त्यसैले अब यस संस्थाको नेतृत्वमा आउने र आउन चाहने व्यक्तिले आफूलाई यी प्रश्नको कसीमा उभ्याएर स्वपरिक्षित हुन जरुरी छ ।

यस पटक सङ्घको अधिवेशन अनलाइन माध्यमबाट हुनेहुँदा पहिलेको जस्तो केही नकारात्मक पाटा नेपाल र नेपाली सञ्चार क्षेत्रले प्राप्त गर्न सक्दैन । जुन आफैमा राम्रो कार्य हो भन्दा अतिशयोक्ति हुँदैन । वर्तमान समितिले एनआरएनलाई प्रविधिमैत्री बनाउने खेलेको प्रयास सराहनीय छ ।

सन् २००२ मा रसियामा रहेका केही नेपालीहरू जसमा डा. उपेन्द्र महतोको पहलमा एनआरएनएको अवधारणामा निर्माण भएको थियो । त्यही पहललाई मूर्त रूप दिने उद्देश्यअनुरूप सन् २००३ को अक्टोबरको ११ देखि १४ सम्म काठमाडौँमा डा. उपेन्द्र महतोको अध्यक्षतामा ३४ सदस्यीय अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन गर्न सफल भएको थियो । तत्कालीन समयमा स्थापना भएको यस सङ्घले आम नेपाल र नेपालीका लागि विभिन्न क्षेत्रमा कार्य गर्ने घोषणा गरेको थियो । समय सापेक्ष नेपालका समस्यामा मलम लगाउनका लागि सङ्घले निरन्तर कार्य गर्दै आएको छ । नेपालमा गएको विनाशकारी भूकम्प, बाढी, पहिरो र हाल कोरोनाका समयमा विभिन्न रूपले गरेका सहयोगलाई अत्यन्तै ससराहनीय रूपमा लिन सकिन्छ । कोरोना महामारीको चरम अवस्थामा विदेशमा अलपत्र परेका २ लाख नेपालीलाई घरफिर्तीका लागि यसले गरेको सहयोग मुक्तकण्ठले प्रशंसायोग्य छ ।

एनआरएनए र यसका नेतृत्वले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा आर्थिक लगानी गरेका छन् । तर आम नेपालीले जुन आशाले यस सङ्घले मुलुक र मुलुकबासीका लागि कार्य गर्नेछ भन्ने अपेक्षा गरे त्यो अनुरूप भने कार्य गर्न सकेको छैन । अझ वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि यो १८ वर्षको अवधिमा उच्चतम किसिमको उपलब्धि हासिल गर्न नसक्नुलाई रणनीतिक रूपमा नै पृथक् रूपले सोच्ने बेला आइसकेको छ । वैदेशिक रोजगारीमा जानेहरूका सामाजिक सुरक्षाका मुद्दालाई अहिलेसम्म कार्यन्वयनमा ल्याई सम्बोधन गर्न सकिएन । सन् २००५ जनवरी २१–२२ मा पहिलो क्षेत्रीय सम्मलेनमा जारी घोषणा पत्रका बहुसङ्ख्यक विषयहरू आज पनि मध्यपूर्वमा जस्ताको त्यस्तै रहेको अवस्था छ । जुन प्रत्येक क्षेत्रीय एवं राष्ट्रिय अधिवेशनका मुद्दाका रूपमा निरन्तर उल्लेख गरिरहेका छौँ । तर नतिजा सोचे अनुरूप प्राप्त हुन भने सकेको छैन ।

त्यसैगरी युरोप र अमेरिकामा रहेका नेपालीका लागि दोहोरो नागरिकताका विषयहरू प्रत्येक पटकका चुनावी नाराहरू बन्ने गर्छन् । त्यो चाहे गैरआवसीय नेपाली सङ्घको निर्वाचन होस् वा नेपालको निर्वाचन होस्, हरेक पटक बहसको विषय बन्ने गरेको छ । तर कार्यान्वयनको पक्ष धेरै नै फितलो रहेको छ । यसरी यस सङ्घले स्थापना कालदेखि बोकेर आएका प्रमुख मुद्दाहरूको सम्बोधन हालसम्म पनि हुन नसक्नु चिन्ताको विषय बनेको छ ।

नेपाल सरकारको उपल्लो निकायसँग सङ्घ र यसको नेतृत्वको घनिष्ठ सम्बन्धहरू स्थापना भइसकेको अवस्थामा पनि मूलभूत विषयको सम्बोधन हुन नसक्नुको मूल कारण के हो ? त्यसको निराकरणको उपाय के हो भन्ने सन्दर्भमा बृहत् छलफलको आवश्यकता भइसकेको छ ।

यस सङ्घको स्थापनादेखिका केही कालखण्डसम्म एक आपसमा हुने गरेको मातृत्व र भ्रातृत्वको भावना पनि हालका दिनमा क्षयीकरण हुन थालेको छ । संस्थगत चुनावी प्रतिस्पर्धालाई संस्थाको हित र नयाँ नेतृत्वको रूपान्तरणका रूपमा लिनुपर्नेमा एकआपसको आरोप प्रत्यारोपको शृङ्खलाबद्ध प्रहार गरी अघि बढ्ने प्रवृत्तिको विकास भएको छ । आफू निकटका अनलाइनहरूलाई दुरुपयोग गर्दै नेतृत्वलाई खुइल्याउने प्रवृत्ति बढ्दैछ । एउटा पक्ष नेतृत्वलाई हौसला सुझाव दिनुभन्दा सधैँ निरुत्साहित मात्र पार्ने र असफल पार्ने कार्यमा उद्वेलित देखिनु दुःखद् छ । जसका कारण पारस्परिक सम्बन्धहरू मक्किएको छ ।

राजनीति नीतिहरूमा सबैभन्दा उत्तम नीति मान्ने कुरामा मेरो विमति कदाचित होइन र छैन । तर सामाजिक कार्य गर्ने अभिप्रायका साथ स्थापना भएको एनआरएनमा राजनीतिक विचार र त्यसका सैद्धान्तिक पाटालाई केही हदसम्म स्वीकार गरे पनि नेतृत्वमा जाने साथीहरूले यस समाजिक संस्थाभित्र प्रवेश गरेपछि राजनीतिक दलको जुत्ता चप्पल खोलेर प्रवेश गर्नुपर्ने हो । तर प्रत्यक्ष रूपमा नै दलगत विचारलाई स्थापित गर्ने उद्देश्य अनुरूप परिचालित हुने प्रवृत्तिले सङ्घलाई दिनानुदिन धराशायी बनाउँदै गएको छ । हिजो यस सङ्घप्रतिको उत्साह र अभिरुचि निरन्तर खस्कँदै गएको छ ।

निर्णय प्रक्रियामा गरेको हस्तक्षेपले संस्था कमजोर हुने र अन्ततोगत्वा नेपाल राष्ट्रको समृद्धिको अभियानमा ठेस लाग्छ भन्ने कुरा दलहरूले पनि बुझिदिन आवश्यक छ । बरु रचानात्मक सहयोग गरिदिनु पर्दछ ।

तसर्थ अब गैरआवसीय नेपाली सङ्घ र यसको नेतृत्वले बेलैमा सचेत हुन आबश्यक भइसेको छ । सङ्घको विभिन्न चरणमा भएका क्षेत्रीय र राष्ट्रिय अधिवेशनले घोषणा गरेका घोषणा पत्र अनुरूप के–कस्ता विषयहरूको सम्बोधन भइसक्यो ? सम्बोधन हुन नसकेका विषयहरू केके हुन् ? तिनको सम्बोधनका लागि सङ्घको अबको रणनीति केकस्तो हुनुपर्ने हो ? त्यसमा केन्द्रित हुन आवश्यक भइसकेको छ ।

सङ्घको अर्काे दुःखद् र निन्दनीय पाटो भनेको प्रत्येक केन्द्रीय अधिवेशनलाई आर्थिक उपार्जनको माध्यम बन्ने र बनाउने गर्नु पनि हो । केही व्यक्तिहरू विभिन्न रूपले नेतृत्व निर्माणका लागि ठेकेदारी कार्यमा सक्रिय हुने गरेका छन् । जसका कारण सबल र योग्य व्यक्ति जो नितान्त सङ्घको समृद्धिका लागि नेतृत्वमा जान चाहन्छ, उनीहरू सहज रूपमा नेतृत्वमा सहभागी हुने अवस्था छैन । यसले दिनप्रतिदिन यस सङ्घको नेतृत्वका लागि विभिन्न ठेकेदारहरूको समूह निर्माण गरेको छ । जसले गर्दा सङ्घमा आफ्नो बौद्धिकता र क्षमतालाई सङ्घको हितमा प्रयोग गर्ने चाहाना राख्नेहरू नेतृत्वमा पुग्न असम्भव जस्तै भइसकेको छ ।

त्यसैले अब किशोरवयमा दौडिन लागेको सङ्घका लागि व्यक्तिगत स्वार्थलाई भुलेर सामूहिक स्वार्थका लागि कार्य गर्न चाहाने नेतृत्व निर्माण गर्नु आवश्यक भइसकेको छ ।

त्यसैगरी आज देशको ठूलो जनशक्ति वैदेशिक रोजगारीमा छ । उनीहरूले उपार्जन गरेको न्यून आयलाई मुलुकको समृद्धिका लागि सामूहिक लगानीको अवधारणाको साथ बृहतर रूपको विश्वसनीयता आर्जन गर्ने नेतृत्व आजको आवश्यकता हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सीप र क्षमतालाई अभिवृद्धि गर्नका लागि पहल गर्न अत्यन्त जरुरी भइसेको छ । अदक्ष नेपालीहरूलाई दक्ष जनशक्तिको रूपमा रूपान्तरण गर्न पहल गरिनुपर्दछ । वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप, क्षमता र दक्षताका आधारमा आफ्नै मुलुकमा रोजगारीको अवसर सिर्जना गर्नु नितान्त अवश्यक भइसकेको छ ।

आम नेपालीहरू वैदेशिक रोजगारीमा जुनसुकै प्रकृतिको कार्य गर्न तयार हुने गरेका छन् । तर आफ्नो देशमा सोहीअनुसारको कार्य गर्न नचाहने प्रवृत्ति देशभित्रको बेरोजगारी समस्याको अर्काे प्रमुख कारक हो । अहिले पनि काठमाडौंमा मेसन, कार्पेन्टर र स्टिल फिक्सरहरू भारतीय मात्र भेटिनु यसको उदाहरण हो । ठूला ठूला परियोजनाहरूमा पनि धेरै भारतीय कामदार छन् । गाउँमा कृषि क्षेत्रका कामदारहरू भेटिन छाडे । सबै किसिमका श्रमलाई सम्मान गर्ने सोचको अभिवृद्धिका लागि पहल गर्नु अत्यन्त जरुरी भइसकेको छ । देशभित्र काम उपलब्ध छ तर श्रमिक उपलब्ध छैन ।  त्यसैले अब यस सङ्घको नेतृत्वमा आउने नेतृत्वले राजधानीबाहिर विभिन्न प्रदेशहरूमा कम्तीमा पनि रोजगारी र त्योसँग सरोकार राख्ने आम नागरिकको चेतना स्तरको अभिवृद्धिका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक छ ।

भनिन्छ मन्त्रबिनाको शब्द कुनै पनि हुँदैन । अयोग्य मानिस कोही हुँदैन । मात्र त्यसलाई चिन्न र बोध गर्न आवश्यक छ । हजारौँ माइलको यात्राको सुरुवात रचनात्मक सोच र निर्दिष्ट लक्ष्यले निर्धारण गर्दछ । त्यसैले अब यस सङ्घमा आउने र आउन चाहने भनेको व्यक्तिगत स्वार्थभन्दा नेपाल र नेपालीका लागि सामूहिक स्वार्थको भावनाले लेश भएको नेतृत्व आजको आवश्यकता हो । जसले यस सङ्घभित्र नीतिगत सुधार गर्न सकोस् । हामी र हाम्रो भावनाको अभिवृद्धिमा निरन्तर सक्रिय होस् । पद र प्रतिष्ठाका लागि सङ्घभित्रको ठेकेदारी प्रवृत्तिलाई निरुत्साहित गर्दै नेपालीका लागि नेपाली भन्ने नारालाई मूर्त रूप दिन सक्षम नेतृत्व निर्माणमा उल्लेखनीय कार्य गर्न सकोस् ।

यूएईमा कार्यरत गिरी सचिव पदका उम्मेदवार हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप