मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बाम एकतामाथि काङ्ग्रेसको दृष्टिदोष

आइतबार, १२ कात्तिक २०७४, १२ : ३६
आइतबार, १२ कात्तिक २०७४

रूपचन्द्र अधिकारी
 

वर्तमान समयमा देशका प्रमुख राजनीति पार्टीले एक न एक आदर्श कुरा गर्ने गर्छन् । नेपाली काङ्ग्रेसले बीपीको ‘प्रजातान्त्रिक समाजवाद’, नेकपा एमालेले मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ तथा नेकपा माओवादी केन्द्रले १० वर्षसम्म सशस्त्र सङ्घषपछि शान्तिपूर्ण राजनीति यात्राका क्रममा विकास गरेको ‘२१औँ शताब्दिको जनवाद’लाई व्याख्या गर्दै आजको राष्ट्रको आवश्यकता र जनताको चाहनाबारे आफ्नो दृष्टिकोण निर्माण गरेका छन् । 

मदन भण्डारी स्वर्गीय भएको पनि यतिका वर्ष बितिसक्दा उनी र उनले प्रतिपादन गरेको जबजलाई एमालेले व्याहारिक प्रयोगमा कति महत्व दियो ? द्वन्द्वकालमा मारिएका र बेपत्ताहरूको आत्माले शान्ति पाउनेगरी माओवादीले बाँकी कार्यभार पूरा गर्दैछ या छैन ? त्यो अलग बहसको विषय होला । राजनीति समानताको मात्र (आर्थिक असमानताबारे पर्याप्त दृष्टि निर्माण नगरी) व्याख्या गर्ने बीपीको प्रजातान्त्रिक समाजवाद नेपाली काङ्ग्रेसले कति अङ्गीकार गरिरहेको छ ? त्यो पनि नेपाली समाजले देखेकै कुरा हो । 

नेपाली राजनीतिमा बारम्बार हुने विभिन्न घटनामध्ये अहिले दुईवटा शब्द धेरै चर्चामा छन् । एउटा– वाम गठबन्धन र अर्को लोकतान्त्रिक गठबन्धन । भित्र जेजस्तो तयारी भए पनि बाहिर देख्दा चामत्कारिक रूपमा नै चुनावी तालमेल हुँदै पार्टी एकीकरणको समेतको दीर्घकालीन उद्देश्य निर्माण गरी बाम एकताको सुरुवात भएको छ । प्रमुख र सशक्त प्रतिपक्षको भूमिकामा रहेको दलसँग नजिक भएपछि सत्तामा रहेका दुई प्रमुख दल नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच खटपट सिर्जना भयो । त्यसैको परिणामस्वरूप हाल माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने १६ जना मन्त्रीहरू बिना विभागीय रूपमा सरकारमा सामेल भएका छन् । 
यस क्रममा जसले जे भने पनि अबको राजनीति जालझेल र षड्यन्त्रमा नअल्झिने अवस्थामा हो भने नेपाली काङ्ग्रेस अत्तालिएको नै हो । जुन कुरा काङ्ग्रेस नेताहरूले दिनदिनै व्यक्त गर्ने अभिव्यक्तिबाट नै  प्रष्ट भइरहेको छ । यस क्रममा पुनः प्रतिगमन र अग्रगमन तथा अधिनायकवाद र प्रजातन्त्र र लोकतन्त्रको दुहाई हुन थालेको छ । हुन त प्रजातान्त्रिक समाजवादकै प्रतिपादक र व्याख्याता वीपीको चर्चित रचना ‘दोषी चस्मा’ आज उनकै पिढीमा देखिएको छ ।

काङ्ग्रेसको दृष्टिमा स्थानीय तहको निर्वाचनमा  सशक्त उपस्थितिका साथ पहिलो भएको नेकपा एमालेसँग सहकार्य गर्ने सम्पूर्णलाई उसले गैरप्रजातान्त्रिक र गैरलोकतान्त्रिक देख्न थालेको छ । अझ हाँस्यास्पद कुरा के छ भने आफूलाई प्रजातन्त्र र लोकतन्त्रको हिमायति ठान्ने उसले आफूसँग रहँदासम्म अग्रगामी र एमालेसँग मिल्न जाँदा प्रतिगामी देख्ने दोषी चस्मा लगाएको छ । 

तर यहाँनिर प्रश्न के छ भने त्यही दलाई (काङ्ग्रेस) माओवादी केन्द्रले काखी च्याप्दा अधिनायकवाद जन्मने खतरा नहुन र एमालेसँगको सहकार्य गरेमा कुन कारणले अधिनायकवादको जन्म हुन्छ ? 

‘अपराध रोपेर सुनाखरी फल्दैन’ भन्ने हेक्का किन काङ्ग्रेसीजनले थाहा पाउनु अवश्यक छ । राज्यको एउटा इमानदार सिपाहीलाई प्रहरी प्रमुख बन्न नदिन भएभरका जालझेल रचिएको ताजै छ ।  इतिहासमा पहिलोपल्ट प्रधानन्यायाधीश भएकी महिला न्यायमूर्तिलाई बिनाकारण महाअभियोग लगाइयो । देखादेख अरबौँ भ्रष्टाचार गर्नेलाई कारवाही गर्नुको सट्टा कानमा तेल हालेर बस्यो । अझै पनि न्यायालयलाई दुर्गन्धित बनाइँदैछ । यस्तो गर्दा पनि प्रजातन्त्र र लोकतन्त्रको रक्षा भयो । तर छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एक हुँदा अधिनायकवाद जन्मिने खतरा देख्नु उसको दृष्टिभ्रम हो । इतिहासलाई हेर्ने हो भने उसैको सरकार हुँदा संसद विघटन गरी जनताको सत्ता दरबारमा बुझाएको थियो । तसर्थ बीपीको नाम मात्र बेचेर नेपाली काङ्ग्रेसले चुनावको उपयोग मात्र गरेको छ । 

अहिले कम्युनिस्ट साँच्चै नै देश र जनताको हितमा गम्भीर भएर लागेका हुन् भने यस पटकको चुनावमा जनताले नयाँ प्रयोग गर्ने बेला आएको छ । किनभने योगदानका आधारमा भलै नेपाली काङ्ग्रेसको प्रजातन्त्र र लोकतन्त्रमा धेरै योगदान रहेको काङ्ग्रेसका नेताहरूले बताउने गरेका होलान् तर इतिहासमा ३ पटक बहुमत प्रदान गरेर नेपाली जनताले उसको राष्ट्र निर्माणको असक्षमता राम्ररी नियालिसकेका छन् । 

२०५१ सालमा मनमोहन अधिकारीको सरकार बन्नुअघि कम्युनिस्टको सरकार बने वृद्ध–वृद्धाहरू सबैलाई ‘मार्नेछ’ भन्ने भ्रम फैलाउनु र हाल कम्युनिस्टहरू मिल्दा अधिनायकवाद जन्म हुन्छ र प्रजातन्त्र समाप्त हुन्छ भन्नु हतास मानसिकता बाहेक केही होइन । नेपालमा रहेका कम्युनिस्ट पार्टीहरूमध्ये नेकपा एमालेले विश्व कम्युनिस्टलाई नै शिक्षा मिल्नेगरी कम्युनिस्टहरूको मूल दर्शन् ‘माक्र्सवाद’लाई नेपाली परिवेशमा रूपान्तरण गरी ‘जनताको बहुदलीय जनवाद’को आडमा प्रजान्त्रिक पद्धतिद्वारा विश्वमै पहिलो पटक सरकारको नेतृत्व गर्ने कम्युनिस्टको परिचय दिइसकेको छ । बन्दुकको नालबाट सत्ता कब्जा गर्ने उद्देश्य लिएको माओवादी शान्तिपूर्ण राजनीतिमा आएर संसदीय पद्धतिमा घुलमिल भएको पनि एक दशक भइसकेको छ ।

अब कसरी रहन्छ, अधिनायकवादको खतरा ? संसदीय अभ्यासद्वारा आफ्नो वर्चस्व स्थापित हुँदा काङ्ग्रेसले पनि हिजोका दिनमा आफूअनुकुल र राष्ट्रलाई दुरगामी प्रभाव पार्ने काम र निर्णय गरेकै छ त ! कम्युनिस्टहरूले जनमत सिर्जना गरेर आफू अनुकुलको सैद्धान्तिक धरातलमा राष्ट्रको विकास गर्नेभन्दा किन काङ्ग्रेसको टाउको दुखाइ ? एकातिर कम्युनिस्टको एकतालाई अधिनायकवादसँग जोडेर भ्रम छर्दैछ, प्रजातन्त्र नरहने भयो भनी रोइलो गर्दैछ भने अर्कातिर केही क्षेत्रीय र राजावादीहरूसँगको सहकार्य निर्माण गर्दैछ । यस अर्थमा राजासहितको हिन्दू अधिराज्य र समथर भू–भाग जति सबै मधेस प्रदेश हुनुपर्ने तर्क पनि अब प्रजातन्त्रको रक्षाकै लागि भएजस्तो गरी देखिन थालेको छ । 

नेपाल इतिहासमा कहिल्यै अरूको अधीनमा रहेन तर वास्तविकता तितो–पिरो हुन्छ । वर्तमान समयमा नेपाल जति संवैधानिक रूपमा स्वाधीन र आत्मनिर्णयको अधिकार सम्पन्न छ, व्यहारमा त्यो देखिएको छैन । यसको दोष नेपालका कम्युनिष्टहरूले पनि लिनैपर्छ । तर एक पटक देश र जनताका लागि सोचेर गरिएको हो भने वाम एकता अहिलेको आवश्यकता हो । कार्यकर्ता पङ्क्तिमा एक महिनामा केही एकताको भाव निर्माण भइसकेको छ । अब नेतृत्व पङ्क्ति साना मसिना कुरामा नअल्झी यो महान् अभिभारा पूरा गर्न हृदयदेखि नै लाग्ने हो भने सफलता निश्चित छ । अवश्य नेपालमा कम्युनिस्टले झण्डा फहराउने छ । काङ्ग्रेसको दोषी चस्मालाई राष्ट्रको आर्थिक समृद्धि, विकास र एकताले गतिलो जवाफ दिने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप