आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

छिर्के, फुर्के र जुरजुरे रोगका कारण मासिन थाल्यो अलैँची

मङ्गलबार, ०१ भदौ २०७८, १३ : १७
मङ्गलबार, ०१ भदौ २०७८

नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । 

मकै बारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको इलाम, देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि मर्न थाल्यो’’, उनी भन्छन् । उक्त बाली मासिँदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् । 

दुई वर्ष अगाडि प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यक्रममार्फत देउमाई नगरमा अलैँची खेती विस्तार गरिएकामा अहिले डढुवा रोग लाग्नका साथै समयमा वर्षा नहुँदा मासिने क्रममा छ । सन्दकपुर गाउँपालिकामा भने अलैँची ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा समेत यो बाली मासिने क्रममा रहेकाले किसानले वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । उत्पादन घट्दै गएपछि अलैंचीको मूल्य भने प्रति मन रु ३० हजारभन्दा माथि पुगेको छ । 

अन्य बाली लगाउनुपर्दा आफूहरूमा निराशा छाएको मङ्गलबारेस्थित देउमाई कृषि सहकारी सङ्घका देउकुमार राना बताउनुहुन्छ  ।  गत वर्ष जिल्लामा ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।  यस वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए  पनि विभिन्न रोग र  प्रतिकूल मौसमका कारण सोचे बमोजिम उत्पादन नहुने भएको छ । अलैँची भारतलगायत मुलुकमा निर्यात हुँदै आएको छ ।    

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप