बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारबाट साइकल नपाएकी छात्रालाई युवा संजालको उपहार

मङ्गलबार, ०१ भदौ २०७८, ११ : ३६
मङ्गलबार, ०१ भदौ २०७८

 भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रदेश २ सरकारले जनकपुरधामको एक सामुदायिक विद्यालयमा साइकल वितरण गरेको थियो । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरणका क्रममा एक छात्रालाई साइकल दिइएन ।

भारतीय नागरिक भन्दै छात्रा लाडली खातुनलाई साइकल नदिइएको हो । साइकल नपाएपछि रुँदै घर फर्किएकी उनकोबारे सामाजिक सञ्जालमा निकै चर्चा भयो ।

लामो समयदेखि उनको परिवार नेपालमै रहेर काम गर्दै आइरहेको छ । उनका पिता मोहम्मद आलमले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा अध्ययन गराउँदै आएका छन् । साइकल वितरण हुने भन्दै विद्यार्थीलाई अभिभावकको नागरिकता लिएर आउन विद्यालय व्यवस्थापनले भनेको थियो । सोही अनुसार भारतीय आधार कार्ड लिएर साइकल लिन उपस्थित भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई साइकल दिन नमिल्ने जनायो ।

परिणामस्वरुप जनकपुरधामस्थित जानकी माध्यमिक विद्यालयबाट लाडली खातुन रुदैँ घर आइन् । त्यतिबेलासम्म सामाजिक सञ्जालमा उनी रुदैँ गरेको तस्बिर भाईरल भइसकेको थियो । जसले गर्दा प्रदेश सरकारको निकै आलोचना भयो । अध्ययन गर्ने छात्रालाई साइकल दिनुपर्ने आवाज उठेपछि सोमबार लाडली खातुनलाई जिल्ला युवा सञ्जाल धनुषाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल हस्तान्तरण गरेको छ ।

उनका पिता मोहम्मद आलम भारतको सितामढीबाट आएर विगत ४५ वर्षदेखि जनकपुरधाममा बस्दै आएका छन् । उनकी छोरी लाडली खातुन जानकी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । साइकल पाएपछि उनी खुशीले गद्गद् छिन् ।

मुख्यमन्त्री कार्यालयले वितरण गरेको साइकल नपाएकोमा भने उनले गुनासो गरिन् । आफु नियमित विद्यालय आउने विद्यार्थी रहेको र नेपालकै विद्यालयमा अध्ययन गरे पनि साइकल वितरणमा आफूलाई भेदभाव गरिएकोमा उनको दुखेसो छ ।

विद्यालयका शिक्षक गौरीशंकर लाल कर्णले लाडली खातुनको हकमा  मुख्यमन्त्री कार्यालयको साइकल वितरण फाँटमा निकै बहस भएको बताए । उनी नेपाली नागरिक नरहेकै कारण दिन नमिल्ने भनिएपछि उनलाई साइकल नदिएको कर्णले बताए ।

विद्यालयको प्रशासन फाँटमा समेत भारतीय विद्यार्थीहरु अध्ययन गर्न पाउने, भारतीय शिक्षकहरु पढाउन पाउने, सुविधा पनि पाउने तर उताका विद्यार्थीहरुले यहाँको विद्यार्थीसरह सुविधा किन नपाउने भन्ने बारेमासमेत प्रश्न उठेको थियो । यसले छात्राको मनोविज्ञानमा समेत असर पार्नसक्ने भन्दै साइकल उपलब्ध गराउन विद्यालयस्तरबाट माग भए पनि मुख्यमन्त्री कार्यालयले खातुनका लागि साइकल नपठाएको उनको भनाइ थियो ।

प्रदेश सरकारले साइकल उपलब्ध नगराएपछि निराश भएकी लाडलीलाई आफूहरुले घरमै पुगेर एक थान साइकल र स्टेशनरी सहितका सामग्रीहरु हस्तान्तरण गरेको जिल्ला युवा संजालका महासचिव कुलदीप साहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप