शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

उच्च अदालत पाटन, हेटौंडा इजलासबाट वर्षमा ८२६ वटा मुद्दा फर्छ्यौट

न्यायालयप्रति जनविश्वास वृद्धि हुनुपर्छ : मुख्य न्यायाधीश हुशेन
मङ्गलबार, ०१ भदौ २०७८, १० : २१
मङ्गलबार, ०१ भदौ २०७८

 उच्च अदालत पाटन, हेटौंडा इजलासले आर्थिक वर्ष २०७७/०७८ मा ८२६ वटा मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले आफ्नो कार्य सम्पादन प्रगतिको बारेमा दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७७/०७८ को लक्ष्यभन्दा १३ प्रतिशत कम प्रगति हासिल भएको हो ।

इजलासले गत आर्थिक वर्षमा ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य लिएकोमा ५७.१६ प्रतिशतमात्र प्रगति हासिल भएको छ । इजलासले गत आर्थिक वर्षमा नयाँ दर्ता भएका र जिम्मेवारी सरेर आएकामध्ये ९३९ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो ।

गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका ४०८ वटा र नयाँ दर्ता भएका १ हजार ३७ वटा गरी कुल १ हजार ४४५ वटा मुद्दामध्ये ८२६ वटा मुद्दा फर्छ्यौट गरेको इजलासका रजिष्टार कैलाश भट्टराईले जानकारी दिए । त्यस्तै ६१९ वटा मुद्दा भने फर्छ्यौट हुन बाँकी रहेको उनले बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा १ हजार ६१ वटा नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको भए पनि अनुमानभन्दा कम मुद्दा दर्ता भएको छ ।

चितवन र मकवानपुर जिल्ला हेर्ने जिम्मेवारी पाएको उक्त इजलासले गत आर्थिक वर्षमा १ हजार ३७ वटा नयाँ मुद्दा दर्ता गरेको उनले बताए । इजलासमा दर्ता भएर २ वर्ष समय अवधि नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको उनले बताए ।

त्यस्तै, इजलासमा दर्ता भएर १८ महिनादेखि २ वर्षसम्म समय अवधि पुगेका २६ वटा मुद्दा रहेको र आगामी असोजसम्ममा ती सबै मुद्दाको किनारा लगाइसक्ने रजिष्टार भट्टराईले बताए ।

सर्वोच्च अदालतबाट प्राप्त निर्देशन अनुसार गत साउन १५ गतेबाट नियमित रुपमा खुल्ला गरी इजलास पूर्ण रुपमा सञ्चालन भइरहेको उनको भनाइ छ ।

उनका अनुसार हेटौंडा इजलासमा पुनरावेदनका लागि आउने मुद्दा, राजस्व र बैकिङ कसुर सम्बन्धी मुद्दा, साधकमुद्दा, रिट निवेदन र निषेधाज्ञा क्षेत्राधिकार सम्बन्धी मुद्दा दर्ता हुने गरेको छ ।  

चालु आर्थिक वर्षमा १ हजारभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने लक्ष्य

उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०७८/०७९ मा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका मुद्दामध्ये १ हजारभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको छ ।

जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका कुल मुद्दामध्ये इजलासले चालु आर्थिक वर्षमा १ हजार १९४ वटा मुद्दाहरु फर्छ्यौट गर्ने रजिष्टार भट्टराईले बताए ।

चालु आर्थिक वर्षमा १ हजार ४९ वटा मुद्दा दर्ता हुने इजलासको अनुमान छ । गत आर्थिक वर्ष फर्छ्यौट हुन नसकी जिम्मेवारी सरेर आएका ६१९ वटा मुद्दा र नयाँ दर्ता भएका १ हजार ४९ वटा मुद्दा गरी कुल १ हजार ७६८ वटा मुद्दा दर्ता हुने अनुमान रहेको उनले बताए ।

न्यायालयप्रति जनविश्वास वृद्धि हुनु पर्छः मुख्य न्यायाधीश हुसैन

उच्च अदालत पाटन हेटौंडा इजलासका मुख्य न्यायाधीश मोहम्मद साविर हुसैनले न्यायालयप्रति जनविश्वास वृद्धि हुनु जरुरी रहेको बताएका छन् ।

उनले इजलासको प्रगति प्रस्तुत गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अदालको काम कारवाहीहरु लिखित हुने भएकाले न्यायालयप्रति जनताको  पहुँच पु¥याउनका लागि जनविश्वास वृद्धि हुन आवश्यक रहेको बताएका हुन् ।

न्याय सम्पादन गर्नु आफैमा जोखिमपूर्ण काम भएको भन्दै उनले हरेक समय अवधि र परिस्थितिलाई बुझेर न्यायाधीशहरुले फैसला गर्नुपर्ने बताए ।

वास्तविकता नबुझी गलत फैसला गर्नु र न्याय सम्पादन ढिलो गर्नु भनेको न्याय नदिनु हो भन्दै मुख्य न्यायाधीश हुसैनले अदालतको भाषा नबुझ्दा सामान्य नागरिकहरुले अदालती प्रक्रियामा झन्झट मान्ने गरेको बताए ।

उर्दु, अरबी र फारसी भाषाका कारण अदालतको भाषा सामान्य नागरिकका लागि बुझ्न कठिन हुने खालको भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप