ad
x
भाषा संवाद

नेपाली शुद्ध लेख्ने हो भने प्रयोगका आधारमा पढाऔँ : प्रा.डा. भट्टराई

person explore access_timeभदौ १, २०७८ chat_bubble_outline0


नेपाली भाषा कसरी शुद्ध लेख्ने ? शुद्ध लेखनका लागि व्याकरणका नियमहरुलाई पछ्याउने कि प्रचलन वा प्रयोगलाई आधार मान्ने ? यस विषयमा भाषाशास्त्रीबीच बहस हुँदै आइरहेको छ । कोही भन्छन्, व्याकरणका नियमलाई पछ्याउनुपर्छ । कोही भन्छन्, प्रयोग र प्रचलनलाई हेर्नुपर्छ ।


पछिल्लो समय निजी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीहरुको सङ्ख्या बढेसँगै नेपाली भाषामा विद्यार्थीहरु कमजोर बन्न थालेका र नेपाली भाषा पछि परेको भन्दै भाषाशास्त्रीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।



सञ्चार माध्यम र सामाजिक सञ्जालमा  प्रयोग हुने नेपाली भाषाको शुद्धाशुद्धिलाई लिएरसमेत भाषाशास्त्रीहरु चिन्तित देखिएका छन् । सरकारी कार्यालयबाट जारी गरिने विज्ञप्तिहरुको भाषा पनि झुर देखिने गरेको टिप्पणीहरु आइरहेकै छन् ।



यिनै सन्दर्भलाई लिएर यहाँ हामीले संस्कृतमा आचार्य एवं त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए र विद्यावारिधिसमेत गरेका प्रा.डा. बद्री विशाल भट्टराईसँग नेपाली भाषाको शुद्ध लेखनका लागि के गर्ने भनेर सोधेका छौँ।



नेपाली विषयका शिक्षक तथा अध्यापकहरुलाई प्राडा भट्टराईको सुझाव छ, ‘नेपाली भाषालाई शुद्ध लेखनतर्फ लैजाने हो भने नियमका आधारमा होइन, प्रयोगका आधारमा पठनपाठन गर्नुपर्छ । नियमवादीभन्दा प्रयोगवादी पठनपाठनबाट भाषा शिक्षणको जग निर्माण गर्नुपर्छ । विद्यार्थीलाई परिभाषा र उदाहरणको शिक्षण होइन, प्रयोगको शिक्षणबाट व्याकरण र हिज्जे सिकाउनुपर्छ ।’ 



भोजपुरमा विसं. २०१४ सालमा जन्मेर भोजपुरमै कक्षा ६ सम्मको अध्ययनपछि थप अध्ययनका लागि धरान झरेका भट्टराई भाषाशास्त्री बालकृष्ण पोखरेलका पुस्तकहरूको अध्ययनबाट प्रेरित भई भाषा विज्ञान अध्ययनमा लागेको बताउँछन् । रत्नराज्य क्याम्पसबाट अवकाश प्राप्त प्रा.​डा.​ भट्टराईसँग रातोपाटीले गरेको भाषासम्बन्धी कुराकानी :



प्राध्यापन पेसाबाट अवकाश लिनुभयो, यो समय के गर्दै हुनुहुन्छ ?



मैले २०७७ वैशाख २४ मा अवकाश लिएँ । अवकाशपछि दुईवटा कार्यमा संलग्न भएँ । आमा बिरामी हुनुहुन्थ्यो । उहाँकै  सेवामा धेरै समय बिताएँ । त्यसैले अवकाशको समय मेरा लागि सौभाग्यको समय पनि भयो । कोभिडको बन्दले त झन् त्यसलाई सहज बनाइदियो । तर, त्यतिबेला पनि केही काम गरियो । गरेका काममध्ये  प्रयोगात्मक माध्यमिक नेपाली शब्दकोशको सम्पादन मुख्य हो ।

२०६१ सालमा प्रयोगात्मक नेपाली शब्दकोश प्रकाशित भएको थियो । त्यो कोश हामी दुई जना हेमाङ्ग राज अधिकारी र मैले मिलेर सम्पादन गरेका थियौँ । त्यो अलि ठूलो थियो । वि.सं. २०७० मा त्यसको परिवर्तित स्वरूपमा दोस्रो संस्करण प्रकाशित भयो ।

पहिलेको भन्दा अझ ठूलो भएर यो संस्करण आएपछि धेरै साथीहरूले अलि छरितो शब्दकोश भए हुन्थ्यो भन्ने सुझाव दिए । छरितो शब्दकोश बनाउने सिलसिलामा प्रयोगात्मक माध्यमिक नेपाली शब्दकोश तयार गरियो ।

पहिलेको शब्दकोशमा शब्द र सूचनाहरू पनि धेरै छन् त्यसैले अलि ठूलो आकारको हुने नै भयो । छोटो, छरितो शब्दकोश भए हुन्थ्यो भन्ने प्रयोक्ताहरूको सुझाव र चाहनाका आधारमा यो प्रयोगात्मक माध्यमिक कोश तयार गरिएको हो ।

प्रयोगात्मक माध्यमिक शब्दकोशमा पहिलेको कोशमा भन्दा शब्द घटेर आएका छन् ?

छरितो कोश बनाउन शब्द त घटाउनै पर्‍यो । शब्दसँगै अर्थ पनि केही छोट्याइएको छ । हाल प्रकाशित प्रयोगात्मक माध्यमिक शब्दकोश माध्यमिक तहसम्म वा १२ कक्षासम्मका विद्यार्थीलाई लक्षित समूह बनाएर तयार गरिएको हुनाले उनीहरूले प्रयोग गर्ने चलनचल्तीका शब्दहरू यसमा सङ्कलित छन् । उनीहरूको तहअनुरूप यसको भाषा मिलाइएको छ । त्यसैले यो आकारमा केही सानो छ । शब्दसङ्ख्या र सूचनाहरू पनि तहअनुरूप छन् ।

नेपाली भाषाको अध्ययन अनुसन्धानतर्फ चाहिँ कसरी आकर्षित हुनुभयो ?

बालकृष्ण पोखरेलको राष्ट्रभाषा भन्ने पुस्तकले मलाई भाषा विज्ञान पढ्न सर्वप्रथम प्रेरित गर्‍यो । पछि उनका नेपाली भाषा र साहित्यसँग सम्बन्धित लेखहरू पनि धेरै हेरेँ । पाँच सय वर्ष अनि ध्वनिविज्ञान र केही ध्वनि सिद्धान्तहरू भन्ने पुस्तक पनि हेरेँ । यी पुस्तकले भाषाको अध्ययनमा रुचि बढाए । हुन त बालकृष्ण पोखरेलसँग मैले धेरै पटक भेट गरेँ तर संयोग नै भन्नुपर्छ उहाँसँगका तीन भेट मेरो प्राज्ञिक जीवनमा अविस्मरणीय छन् ।

२०१३ सालमा बालकृष्ण पोखरेल, ताना शर्मा, बल्लभमणि दाहाल, चूडामणि रेग्मीहरूले विद्यार्थीकालमा बनारसबाट झर्रोवादी आन्दोलन चलाएका थिए । मैले एमएको शोध यही विषय वा ‘नेपाली भाषामा झर्रोवादी आन्दोलन’ शीर्षकमा गरेको हुँ । एमएको शोधपत्रको भाइवामा बालकृष्ण पोखरेल नै बाह्य परीक्षकका रूपमा आउनुभएको थियो । त्यतिबेला उहाँ प्रज्ञा प्रतिष्ठानमा हुनुहुन्थ्यो । यो पोखरेलसँगको पहिलो प्राज्ञिक भेट थियो ।

दोस्रो भेट पनि बडो गजबसँग भयो । मैले ‘नेपाली बृहत् शब्दकोशको कोश वैज्ञानिक अध्ययन’ शीर्षकमा २०६४ सालमा विद्यावारिधि गरेको हुँ । नेपाली बृहत् शब्दकोशको सम्पादनमा पोखरेलको योगदान महत्त्वपूर्ण थियो । मेरो विद्यावारिधिको भाइवामा पनि उहाँ नै बाह्य विशेषज्ञका रूपमा आउनुभयो यो दोस्रो प्राज्ञिक भेट हुन पुग्यो । तेस्रो भेट २०६५ सालमा प्राध्यापकको अन्तरवार्तामा भयो । सो अन्तरवार्तामा रहेका पाँच विशेषज्ञमा उहाँ पनि हुनुहुन्थ्यो ।

एमएको शोधदेखि विद्यावारिधिसम्म उहाँको संलग्नता भएका प्राज्ञिक कार्यमा नै मैले अनुसन्धान गरेँ । यसरी मेरो अध्ययन अनुसन्धानमा पोखरेल अनौठोसँग गाँसिएको यथार्थ छ ।

प्रज्ञा प्रतिष्ठानको शब्दकोश परिमार्जनमा संलग्न हुनुभयो कि भएन ?

प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशको नवौँ संस्करणमा धेरै काम गरेको हुँ । त्योभन्दा अगाडिकोमा पनि केही काम गरेको हो । प्रज्ञामा शब्दहरू दिने काम त पहिलेदेखि नै हुँदै आएको हो । नवौँमा चाहिँ बढी काम गरियो । पछिल्लो समयमा प्रज्ञा नेपाली बृहत् शब्दकोशका लागि भनी सङ्कलित एक लाख नौ हजारभन्दा बढी शब्द सम्पादन गरेर प्रकाशन गर्दा हुने अवस्थामा छोडिएको थियो । अझै केही शब्द थप्ने सोचले सो कोश प्रकाशित भएको छैन । मैले सुनेअनुसार त्यो प्रकाशोन्मुख छ, आउने चैतसम्ममा प्रकाशित हुँदै छ रे ।

नेपाली भाषामा विगतमा झर्रोवादी आन्दोलनजस्तै अरू आन्दोलन पनि भएका थिए ?

विगतमा घोषित रूपमा झर्रोवादी आन्दोलन र हलन्त बहिष्कार आन्दोलन गरी दुई आन्दोलन भएका छन् । यी दुईका अतिरिक्त लेख्य नेपाली भाषामा सानातिना वादविवादहरू पनि भएका छन् । तिनमा दार्जीलिङमा गङ्गाप्रसाद प्रधानको सम्पादनमा प्रकाशित गोर्खे खबर् कागज् भन्ने पत्रिकाले प्रयोगमा ल्याएको भाषा, बनारसका नेपाली संस्कृत विद्वान् तथा विद्यार्थीहरूको लेख्य भाषा र काठमाडौँको लेख्य भाषामा देखिएका भिन्नताहरू हुन् ।

२०३३–३४ सालतिर कुन्ता शर्माले सङ्कल्प पत्रिकाको माध्यमबाट नेपाली हिज्जेमा गर्न खोजेका केही परिवर्तनलाई पनि यस्तै भाषा सुधारको कदम मान्न सकिन्छ । दार्जिलिङ, बनारस र काठमाडौँको लेख्य भाषागत भिन्नता नै यस्तो प्रयोग हो जसलाई लेख्य भाषामा सुधारको अभियान वा चिन्तन भन्न सकिन्छ ।

भिन्नता आफैमा नौलो कुरा हुँदैन तर त्यसको स्थापनाका निम्ति भएका वादविवाद मुख्य हुन्छन् । यस्ता सबै भाषासम्बन्धी आन्दोलन र विवादबारे ‘नेपाली भाषामा भाषासम्बन्धी आन्दोलनहरू’ भन्ने मेरो एउटा पुस्तक प्रकाशित छ । त्यसमा नेपाली बृहत् शब्दकोश (२०४०) प्रकाशन हुनुभन्दा अगाडिका भाषिक आन्दोलन तथा गतिविधिबारे अध्ययन गरिएको छ ।

तपाईंले नेपाली बृहत् शब्दकोशमा विद्यावारिधि गरेको हुँ भन्नुभयो । त्यो कोश निर्माणका क्रममा केकस्तो अप्ठेरो परेको रहेछ ?

नेपाली बृहत् शब्दकोश (२०४०) प्रकाशित हुनुअगि पनि प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति बालचन्द्र शर्माको सम्पादन र प्रज्ञा प्रतिष्ठानकै सम्पूर्ण खर्चमा २०१९ सालमा प्रकाशित नेपाली शब्दकोश कोशवैज्ञानिक आधारमा बनाइएको र राम्रो पनि छ । २०३४÷०३५ तिर यो कोश बजारमा सकिएपछि पुनर्मुद्रण गर्न खोजिएछ ।

बालचन्द्र शर्माले शब्दकोशको सर्वाधिकार आफैँमा राखेका रहेछन् । ३०३२ मा उनी दिवंगत भएकाले पुनर्मुद्रणका लागि प्रज्ञाले परिवारसँग अनुमति माग्दा कुरो मिलेनछ । यो घटनापछि प्रज्ञा प्रतिष्ठानले आफ्नै स्वामित्वमा सधैँ रहने गरी शब्दकोश प्रकाशित गर्ने चाहनाअनुरूप नेपाली बृहत् शब्दकोश (२०४०) निकाल्ने प्रक्रिया सुरु गरेको रहेछ ।

प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली व्याकरण (२०३२) का लेखक रोहिणीप्रसाद भट्टराईको भाषिक ज्ञान र सिपको उपयोग गर्दै कोश बनाउन एउटा शब्दकोश निर्माण समिति गठन गरेर काम अगि बढाउन लागे पनि तत्कालीन प्राज्ञ परिषद्को कार्यकाल सकिएकाले यो योजना अधुरै रहेछ । त्यसपछि गठित प्राज्ञ परिषद्ले उपकुलपति माधव घिमिरेको अध्यक्षतामा फेरि नयाँ शब्दकोश समिति गठन गरेर काम सुरु गरेछ । त्यसकै प्रयासमा प्रज्ञा प्रतिष्ठानको रजत जयन्तीको अवसर पारेर २०४० मा नेपाली बृहत् शब्दकोश निस्किएको रहेछ ।

त्यसो भए नेपाली बृहत् शब्दकोश निर्माणको आधार बालचन्द्र शर्माको शब्दकोश नै हो त ?

शब्दकोश निर्माणको आधार वा स्रोत एउटै ग्रन्थ हुँदैन । नेपालीमा प्रकाशित भएकाले बालचन्द्रको शब्दकोशबाट धेरै शब्द लिइएका भए पनि त्यसका सबै शब्द लिइएका छैनन् । त्यसमा संस्कृतका अप्ठेरा शब्द धेरै भएकाले सबै शब्द लिन सकिने सम्भावना पनि थिएन । प्रयोक्ता समुदायले बढी प्रयोग र प्रचलनमा आउने शब्द मात्र शब्दकोशमा राख्नुपर्छ ।

विशेष अर्थ दिने व्यक्ति तथा स्थानवाचक नाम राख्न सकिन्छ तर सामान्य एकार्थी व्यक्ति तथा स्थान जनाउने शब्द राख्नु उपयुक्त हुँदैन । तर, शर्माको कोशमा सामान्य व्यक्ति तथा स्थानवाची शब्द पनि अलि बढी भएकाले तिनलाई छाँटकाँट गर्ने सिलसिलामा आन्तरिक उहापोह, आन्तरिक तर्क–वितर्क चलेछ । त्यति धेरै समस्या त आएनछ । खालि शब्द थप्ने सिलसिलामा कसरी शब्द थप्ने, कहाँ कहाँबाट ल्याउने, शब्द सङ्कलनको आधार के बनाउने भन्ने विषय मात्र आएको रहेछ । त्यसबाट लिइएका शब्दबाहेक बाँकी शब्द विभिन्न स्रोतबाट सङ्कलन गरिएको रहेछ ।

त्यतिबेला अहिलेको जस्तो भाषा बिगारे भनेर विरोध भएको थियो कि थिएन ? लेख्य नेपाली भाषाको मानक निर्धारण गर्ने सन्दर्भमा विवादहरू आएका थिए कि थिएनन् ?

नेपाली बृहत् शब्दकोश (२०४०) ले लेख्य नेपाली भाषामा केही नयाँ कुरा अगाडि बढाएको देखिन्छ । नेपाली भाषाको शब्द भण्डार तत्सम, तद्भव, आगन्तुक तीन मूल स्रोतका शब्दले बनेको छ ।

यस कोशले शब्द भण्डारका यी तिनै स्रोतका शब्दलेखन पद्धतिलाई उचित र तार्किक ढङ्ले लेख्ने दिशानिर्देश र केही प्रयोग पनि गरेको छ । नेपालीमा प्रचलित श, ष, स, ब, व, य, ए, क्ष, छ, छ्य, छे, ऋ, रि, ञ, न, ण, न, ज्ञ, ग्यँ आदि वर्णका साथै ह्रस्व र दीर्घ मात्राको प्रयोग कसरी गर्ने भन्ने पेचिलो समस्याको समाधानको बाटो देखाएको छ । यसका निम्ति त्रिभुवन विश्वविद्यालयले २०३६ सालदेखि २०३९ सालसम्म अनिवार्य नेपाली विषयका शिक्षकहरूको गोष्ठीले प्रशस्त छलफल गरी निकालेका निष्कर्षको उपयोग गरेको देखिन्छ ।

 निष्कर्षअनुसार तत्सम शब्दलाई संस्कृत नियमअनुसार राखिएका छन् । संस्कृतबाट विकसित भए पनि तद्भव शब्द हाम्रो भाषाका मौलिक सम्पत्ति भएकाले र आगन्तुक शब्दहरू हाम्रो जिब्रोमा खेलेर नेपालीकरण भएकाले यिनीहरूलाई नेपाली नेपाली लेखन पद्धतिअनुरूप लेख्ने सोच र प्रयोग नेपाली बृहत् शब्दकोशले गरेको छ ।

यसअघि उर्दु, फारसी, अरबी, पोर्चुगाली, अङ्ग्रेजी आदि विभिन्न भाषाबाट आएका आगन्तुक शब्दमा गर्ने गरेको श, स, ब, व आदिसम्बन्धित भाषाकै हिज्जे नियममा लेख्ने प्रवृत्तिलाई नेपाली बृहत् शब्दकोशले शिथिल गरेको छ । आगन्तुक शब्द उही हिज्जेमा लेख्नुपर्दा त्यस भाषाको व्याकरण र हिज्जे नियम पनि याद गर्नुपर्ने समस्या हटाएको छ । यो युक्तिपूर्ण र वैज्ञानिक पनि छ किनकि त्यो भाषामा जस्तो उच्चारण हुन्छ, त्यस्तो त उच्चारण त हामीले गरेका हुँदैनौँ र गर्न पनि सक्दैनौँ ।

जस्तै–रेस्टुराँ फ्रेन्च शब्द हो । फ्रेन्चमा रेस्त्राँ उच्चारण हुन्छ । हामीले भन्दा रेस्टुरेन्ट पनि भन्छौँ, र लेख्दा पनि तदनुसार रेस्टुरेन्ट लेख्छौँ । त्यसकारण हामीले लेख्दा हाम्रो उच्चारणअनुसार लेख्ने हो । त्यो ढाँचा अनुसरण गरेर तद्भव र आगन्तुक शब्दलाई लेख्ने परिपाटी नेपाली बृहत् शब्दकोश २०४० ले बनाएको छ ।

क्षतिपूर्ति दीर्घीभवन भन्ने त्यतिबेला नै आएको हो ?

संस्कृत शब्द प्राकृतमा आउँदा उच्चारणमा अलिकति परिवर्तित भयो । त्यो प्राकृतबाट अन्य अपभ्रंस हुँदै नेपालीमा आउँदा अझ परिवर्तन भयो; जस्तै– संस्कृतमा दुग्धम्, प्राकृतमा दुध्ध र नेपालीमा दूध भयो । संस्कृतको दुग्धम्बाट नेपालीमा आउँदा एउटा वर्ण हट्यो । हटेको त्यही वर्णको क्षतिपूर्तिका लागि भनेर अगाडिको वर्ण दीर्घ पार्ने प्रचलनलाई क्षतिपूर्ति दीर्घीभवन भन्ने गरिएको हो । यो चलन अगाडिदेखि नै थियो ।

नेपालीमा ह्रस्व दीर्घमा नै फरक पर्ने यस्ता दूध, मीत, बूढो, रूख आदि शब्द करिब चार दर्जन जति छन् । यी शब्द पनि तद्भव नै भएकाले तद्भवीकरण गरेर ह्रस्व लेख्न सकिने भन्ने सोच पहिलेदेखिकै हो । अहिले यी शब्द ह्रस्व लेख्न थालिएको छ ।

संस्कृतमा उच्चारण नमिल्दा उच्चारण गर्ने व्यक्तिको मृत्युभएको प्रसङ्ग छ । तर, नेपाली भाषामा चाहिँ लेख्ने एकथोक, उच्चारण गर्दा अर्कै हुन्छ ? अलि नमिले जस्तो भएन र ?

शब्दमा आएका वर्ण र अक्षरको उच्चारण शुद्ध हुनुपर्छ । यसका लागि उच्चारणको मानक निर्धारण हुनुपर्छ, गर्नुपर्छ । हामी नेपालीका श, ष, स प्रयोग भएका शिव, षट्कोण र संसार शब्द उच्चारण गरेर हेरौँ त । के हामी यी शब्दका तीन भिन्नाभिन्नै वर्णलाई बेग्लाबेग्लै स्वर निकालेर उच्चारण गछौँ ? सबै एउटै सकारमा उच्चारण हुन्छन् ।

त्यस्तै, ऋषि र रिस शब्दका ऋ रि भिन्नाभिन्नै वर्ण हुन् । तर, उच्चारण गर्दा एउटै रि उच्चरित भएको छ । दिदी शब्दमा अगाडिको दि ह्रस्व र पछाडिको दी दीर्घ छ । के यसलाई ह्रस्व र दीर्घ मिलाएर उच्चारण गरिन्छ ?

हामी विकास लेखेर बिकास् भन्छौँ, कन्या लेखेर कन्न्या उच्चारण गर्छौँ । तसर्थ हरेक भाषाको उच्चारण व्यवस्था हेरेर तदनुसार उच्चारण गर्ने परिपाटीलाई शुद्ध मान्नुपर्छ ।

नेपालीमा आएका संस्कृत शब्दको कुरा गर्ने हो भने पनि दिदी र रिस बाहेक माथिका अरू शब्द त संस्कृतकै हुन् । ती शब्द पहिलेदेखि नै नेपाली उच्चारणअनुसार छन् ।

हो, लेखाइमा हामीले संस्कृत नियम मानेका छौँ । जुनसुकै भाषामा उच्चारण र लेखनमा शतप्रतिशत मेल हुँदैन । तसर्थ वैदिक संस्कृत परम्पराको ‘मन्त्रो दुष्ट स्वरतो वर्णतो वा ..............स वाग्वज्रा यजमानं हिनस्ति.....आदि’ कुरा उठाएर लेख्य नेपालीमा अपवाद नियम बढाउनुभन्दा नेपाली उच्चारण व्यवस्थाअनुसार शब्दको उच्चारण पर्गेल्ने र तदनुसार उच्चारण गर्ने र लेख्ने परिपाटी बसाउनु उपयुक्त हुन्छ ।

नेपाली भाषालाई संस्कृतको प्रभावबाट मुक्त गर्न सकिन्छ कि सकिँदैन होला ? संस्कृत शब्द लेख्न संस्कृत व्याकरणका नियम नै जान्नुपर्ने भएको छ । यो अप्ठ्यारो भएन ?

नेपाली भाषा संस्कृतबाट विकसित भएकाले वंशानुगत गुणका रूपमा यसमा संस्कृतका केही विशेषता रहनुलाई अन्यथा मान्नुहुन्न सँगसँगै नेपालीलाई संस्कृत व्याकरणको नियममा नै राख्नु पनि हुन्न । नेपाली संस्कृतबाट विकसित हो तर यो स्वतन्त्र भाषा हो । यसको आफ्नै व्याकरण र हिज्जे नियम छ ।

संस्कृतबाट नेपालीमा आएका शब्दलाई तत्सम शब्द भनिन्छ । ती संस्कृत शब्द नभई संस्कृत समान शब्द हुन् । जस्ताको तस्तै त कहाँ छन् र ? हेर्नुहोस् त संस्कृतमा हरिः, रामः, ज्ञानम्, धनम्, वनम् हुन्छ हामी हरि, राम, ज्ञान, धन, वन लेख्छौँ । ब्याकर्ण भन्छौँ व्याकरण लेख्छौँ । बिकास्–विकास, बिनास्–विनाश यस्ता धेरै उदाहरण छन् ।

त्यसैले संस्कृत शब्दलाई धेरै नचलाउने भनेर नै तत्सम स्थितिका यस्ता शब्दलाई तत्सम नियममा राखिएको हो । यिनको लेख्य विन्यासलाई चलाउनु उपयुक्त पनि हुँदैन । तर अब परिवर्तन हुँदै आउँदा कतिपय शब्दहरू विस्तारै नेपाली लेखनमा आउन लागेका पनि छन् जस्तै सभासद् संसद् शब्दलाई सभासद संसद लेख्न थालिएको पनि देखिन्छ । नेपाली लेखनतिर आउन लागेको यो बाटो पूर्णतः बन्द गर्नु पनि हुँदैन, ह्वाङ्ङै खुला राख्नु पनि हुँदैन ।

तपाईंंले तत्सम शब्द लेख्न संस्कृत व्याकरण पढ्नुपर्ने भयो भन्नुभयो । म के भन्छु भने हामीले तत्सम शब्द लेख्न संस्कृत व्याकरण नै पढिराख्नु पर्दैन; सचेत मात्र भए पुग्छ । कुनै शब्दको हिज्जेमा शङ्का लाग्दा कुनै पनि शब्दकोश पल्टाए हुन्छ । नेपाली शब्दकोशहरूमा तत्सम शब्दको हिज्जेमा कुनै भिन्नता छैन ।

कतिपय प्राध्यापकले नै एकपटक लेखेको कुरा अर्को पटक लेख्दा फरक हिज्जेमा लेख्ने गरेका छन्, एकरूपता भएन भन्ने छ नि ?

पछिल्लो हिज्जे नियम आएपछि यो कुरा उठेको होला । जुन शब्दमा शङ्का लाग्छ त्यसको समाधान गर्न शब्दकोश पल्टाउने गर्नुपर्छ । हामी अङ्ग्रेजी लेख्दा डिक्सनरी पल्टाएर स्पेलिङमा ढुक्क हुन्छौँ भने नेपाली लेख्दा पनि शब्दकोश पल्टाउने बानी बसाल्नुपर्‍यो । 

नेपाली बृहत् शब्दकोश सरकारी कार्यालयहरूले पनि कार्यान्वयन गरेनन्, यसका लागि के प्रयास गर्नुपर्छ होला ?

भाषा सिक्ने र सिकाउने साधन शब्दकोश र व्याकरण हुन् । लेख्य भाषामा एकरूपता दिने कार्यमा शब्दकोशको भूमिका महत्त्वपूर्ण हुन्छ । व्याकरणले भाषाको संरचना पक्षलाई हेर्छ । शब्दकोशले व्याकरणको पनि सूचना त दिन्छ । तर, यसले दिने मुख्य सूचना अर्थ र हिज्जे हुन् । हिज्जेको एकरूपताका लागि नै शब्दकोश प्रयोग गर्ने हो । तर, शब्दकोश बनाउँदैमा र व्याकरण लेखिदिँदैमा भाषामा शुद्धता र एकरूपता आइहाल्छ भन्न सकिन्न ।

प्रयोगको सचेतताले शुद्धता र एकरूपता आउँछ । पठनपाठनमा फेर्दैदेखि एकरूपतातिर लैजाने योजनामा गएमा एकरूपता आउन सक्छ । जस्तो अङ्ग्रेजीमा त्यति समस्या छैन किनभने व्याकरण र शब्दकोशको निर्देशन अनुसरण गरी प्रयोगको माध्यमबाट अङ्ग्रेजी पढाइन्छ ।

सरकारी कार्यालयहरू पनि शुद्ध लेखनतर्फ गएनन् भन्ने सन्दर्भमा म के भन्छु भने शुद्ध नेपाली लेख्ने जिम्मा नेपाली पढाउने मास्टरको मात्र हो भन्ने मानसिकताको विकास भएको छ । विद्यालयमा नेपाली शिक्षक बाहेक अन्य विषयका शिक्षकको नेपाली हेर्नुहोस् त ! के शुद्ध लेखेको पाइन्छ ? तर, अङ्ग्रेजी लेख्दा गणित, भूगोल, सामाजिक अध्ययन, विज्ञान जुन विषय शिक्षकले पनि तलमाथि पार्दैनन् ।

सरकारी कार्यालयमा पनि यो उदाहरण लागु हुन्छ, अङ्ग्रेजी शुद्ध लेख्ने नेपाली जस्तो लेखे पनि हुने मानसिकता त्यहाँ पनि छ । तर, केही सरकारी कर्मचारीको भाषा शुद्ध पाइन्छ, तसर्थ सचेतता नै यसको मुख्य पक्ष हो ।

प्रत्येक संशोधनमा नयाँ नियम थपिएर आउँछन्, नयाँ नयाँ नियम पढाउनुपर्यो भन्ने गुनासो शिक्षकहरूको छ नि ?

अहिले प्रज्ञा प्रतिष्ठानल क्षतिपूर्ति दीर्घीभवन नै हटायो । अब ठुलो, बुढो, मित आदि शब्द ह्रस्व भए । शिष्ट प्रयोग भनी दीर्घ लेख्ने गरिएका कीरो, पीरो जस्ता शब्द पनि ह्रस्व भएका छन् । एउटा कुरो प्रज्ञा प्रतिष्ठानले केही शब्दको हिज्जेबारे आफै निर्णय गरेर त्यसको कार्यान्वयन गर्न चाहिँ सकेन । पूरा, फूल, तीन, जून जस्ता केही तद्भव शब्दलाई ह्रस्व गरेर अनेकार्थी वर्गमा नलगी श्रुतिसमभिन्नार्थक भनी ह्रस्व र दीर्घ दुवैतिर राख्यो ।

बाबु, ताल, नानी जस्ता शब्द पनि त्यस्तै भिन्नार्थक हुन् । हेर्नुहोस् त बाबुले पिता, छोरो, देवर र समाजमा लब्धप्रतिष्ठित व्यक्ति (उदाहरण– डाक्टर बाबु, गिरिजा बाबु आदि) पनि जनाउँछ । ताल शब्दले तलाउ, पटक (उदाहरण– मैले पनि एक ताल गीत गाएँ ।) सुर (उदाहरण–गीतको ताल मिलेन । मादलुको देब्रे ताल दाहिने ताल आदि) । यी शब्दमा एउटै मात्राले चल्यो । तर फुल, फूल, पुरा पूरा जस्ता ४, ५ शब्दलाई ह्रस्व दीर्घ दुवैतिर जोडी बाँधेर राखी छुट्टै नियम बसाइदियो ।

प्रज्ञा प्रतिष्ठानले भर्खरै निकालेको प्रज्ञा नेपाली शैक्षणिक व्याकरण भन्ने पुस्तकमा पनि श्रुतिसमभिन्नार्थक शब्द भनेर एउटा छुट्टै अभ्यास नै राखेको देखियो । यसले एउटा अपवाद नियमलाई जगायो । भन्नुहोस् त यसले पढाउनेलाई गाह्रो पर्दैन ? दोस्रो भाषाका रूपमा नेपाली भाषा सिक्ने र सिकाउनेलाई गाह्रो हुँदैन ? हिज्जेका अपवाद नियम जति बढी राखिन्छ, त्यति नै लेख्य भाषा क्लिष्ट बन्दै जान्छ । पठन पाठनमा गाह्रो हुन्छ ।

   जहाँसम्म हामी शिक्षकको कुरा छ, हामीले आफ्नो ज्ञान र सूचनालाई अद्यावधिक गरिरहनुपर्छ, हतियारमा धार लगाए झैँ । आफू अद्यावधिक नभई मसँग जुन शब्दकोश छ म त्यही अनुसार लेख्छु भन्न त मिलेन नि । शिक्षकहरूले यस्तो धारणा राख्दा न वृत्ति विकासमा मदत पुग्छ न पठनपाठनमा एकरूपता आउँछ । जसरी हामी प्रविधिमा अपडेट हुँदै आयौँ, ज्ञान, सूचना, शिक्षण सिकाइमा पनि त्यसरी नै अपडेट हुँदै जानुपर्छ । हामी नयाँ मोबाइल किनेपछि त्यसको कार्यविधिमा अपडेट हुन्छौँ भने पठनपाठनमा चाहिँ अपडेट नहुने ?

भनेपछि अहिले हामी लेखनको एकरूपता र मानकीकरणको विकासमा कुन चरणमा छौँ ?

भाषाको मानकीकरणका दुई पाटा हुन्छन्– उच्चार्य मानक र लेख्य मानक । शब्दको सही उच्चारण कसरी गर्ने भन्ने उच्चार्य मानकतिर हामी गएकै छैनौँ । हामी कन्या लेख्छौँ तर उच्चारण गर्दा कन्न्या भन्छौँ । लेख्दाको कन्यादान भन्दा कन्न्यादान् हुन्छ । तर, भाइले टाउको कन्यायो यस वाक्यको कन्यायो क्रियाको उच्चारण कन्न्यायो हुँदैन । लेखाइ र उच्चारणमा यस्तो फरक हुन्छ । यतातर्फ पनि सोच्ने र मानक उच्चारण पहिल्याउने प्रयास हुनुपर्छ ।

मानक उच्चारण र मानक लेखनलाई सँगसँगै लिएर जान सक्नुपर्छ । अङ्ग्रेजी शब्दकोशमा फोनेटिक ट्रान्सक्रिप्सनद्वारा शब्दको उच्चारण दिइएको हुन्छ । स्पेलिङसँगै उच्चारण हुँदा लेख्य मानक र उच्चार्य मानकमा द्विविधा हुँदैन । जब हाम्रो भाषामा पनि यो आउँछ र त्यसमा हामी अभ्यस्त बन्न थाल्छौँ, अनि हामी मानकीकरणतिर उन्मुख हुन थाल्छौँ । अहिले हामी लेख्य मानकको अभ्यासमै अलमलिएका छौँ, उच्चार्य मानकतर्फ त गएकै छैनौँ । यस दिशामा अग्रसर भएमा बोलाइ र लेखाइ दुवैमा मानकीकरण र एकरूपता आउँछ ।

नेपालीका वर्णहरू चाहिँ कति छन् त, खासमा संस्कृतका वर्णले पो लेखनमा अप्ठ्यारो बनाएको हो कि ?

कथ्य वर्ण कि लेख्य वर्ण ? लेख्य वर्ण भन्ने हो भने अ, आ, इ... आदि १३ स्वर र क देखि ज्ञ सम्म ३६ व्यञ्जन छन् । कथ्य भन्ने हो भने अ, आ, इ, उ, ए, ओ गरी ६ वटा स्वर र व्यञ्जनतर्फ लेख्य व्यञ्जनभित्रका ञ, ण, श, ष, क्ष, त्र, ज्ञ हटाएर बाँकी रहेका २९ वर्ण कथ्य नेपाली व्यञ्जन हुन् ।

त्यति वर्णले पुग्ला र ? जस्तै– घोडा भन्दा उच्चारण हुने ड फरक होइन ? 

उच्चारणका क्रममा एउटै वर्णमा पनि परिवेशगत भिन्नता हुन्छ । काख र खकार उच्चारण गर्दा ख, घोडा र डाडु शब्द उच्चारण गर्दाको पछिल्लो ड र डकारको अगिल्लो ड, ढकनी र पढ्नुको ढ यसका उदाहरण हुन् । यी क्रमशः ख, ड र ढ वर्णका संवर्ण हुन् । कुनै वर्णको उच्चारणमा परिवेशगत भिन्नता आयो भने त्यसलाई संवर्ण चलिन्छ । संवर्ण त्यही मूल वर्णमा नै आउँछ । त्यसलाई छुट्टै लेख्नुपर्दैन ।

अन्त्यमा, नेपाली भाषाका पाठकलाई भन्नुपर्ने केही छ कि ?

नेपाली भाषालाई शुद्ध लेखनतर्फ लैजाने हो भने नियमका आधारमा होइन प्रयोगका आधारमा पठनपाठन गर्नुपर्छ । नियमवादीभन्दा प्रयोगवादी पठनपाठनबाट भाषा शिक्षणको जग निर्माण गर्नुपर्छ । विद्यार्थीलाई परिभाषा र उदाहरणको शिक्षण होइन, प्रयोगको शिक्षणबाट व्याकरण र हिज्जे सिकाउनुपर्छ ।

म आफैंले लामो समयसम्म नेपाली पढाएँ । विद्यार्थीले नियम कण्ठ गरे तर लेख्दा हिज्जेकै झमेलामा रहे । उनीहरूको गल्ती थोरै घट्यो तर धेरै हटेन । यसले म आफैं पनि झस्किएँ । मलाई लाग्यो प्रयोगबाट सिकाउँदा सिकाइ सदाका लागि स्थिर रहन्छ । लेख्दाखेरि हामी हाम्रो हात कतातिर घुम्छ, त्यही विचार गर्छौं । त्यसैले मुख चलाउन वा नियम कण्ठ पार्नभन्दा हात घुमाउन वा अभ्यासद्वारा सिकाउनुपर्छ । यसले लेखन पद्धति सही ढङ्गले अगाडि बढ्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।