सासूको खुट्टामा झुकेको बुहारीको नयाँ परिचय !

person explore access_timeभदौ १, २०७८ chat_bubble_outline0

 

म अङ्ग्रेजी साहित्यमा एमए र जेन्डर स्टडिजमा पोस्ट ग्र्याजुएसन सकेकी एक नारी ! भर्खरै विवाह भएकी नवविवाहित । आज म विवाह र विवाह पछाडिका प्रसङ्गको कुरा गर्दैछु ।

मेरा बुवाआमा सरकारी स्कुलमा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । म घरकी जेठी छोरी । मेरा एक बहिनी र एक भाइ छन् । मेरो विवाहभन्दा पहिले बहिनीको विवाह भयो । यसको अनुभवको विषयमा पछि बताउँछु । अहिले आफ्नै विवाहको बारेमा बताउँछु ।

विश्व कोरोनाले आक्रान्त छ, यो बेला मसँग धेरै समय छ । लकडाउन छ । २४ घण्टा घरमा थुनिएको बेला मनमा अनेक कुरा चल्ने नै भयो । अझ भनौँ आफूलाई चित्त नबुझेको विगतका कुरा धेरै चल्छ सायद ! मलाई त्यस्तै भएको छ ।

मङ्सिरको २२ गते हाम्रो विवाह भयो । मेरो जीवनसाथी र म शिल्पी थिएटरमा भेट भयाैँ । शिल्पी थिएटर, जहाँ गुरुले प्रथम दिन अभिमुखीकरणमै सत्य बोल्न, झुट नबोल्न साहस दिनुभएको थियो । यहाँ उमेर, जात, लिङ्ग, वर्ण, धर्म, कुनै प्रकारको विभेद नहुने र सबैले आफूलाई नढाँटी आफ्नोबारेमा परिचय दिनुपर्ने । म असाध्यै खुसी भएँ । किनभने आफ्नो जीवनबाट कला र चलचित्र हराएको दशौँ वर्ष हुन लागिसक्दा फेरि एक पटक म कलासँग जोडिन थिएटर पुगेकी थिएँ ।

मैले आफ्नो उमेर ढाँट्छु भन्ने सोचेकी थिएँ । तर गुरु घिमिरे युवराजको कुरा सुनिसकेपछि मैले आफ्नो साँचो उमेर बताएँ । आफू भर्खरै काठमाडौँ आउँदाको उमेरसँग मेल खाने धेरै जनालाई मैले त्यहाँ साथीका रूपमा पाएँ र मैले मेरो जीवनसाथीलाई पनि त्यहीँ फेला पारेँ । आफूलाई नढाँटी म त्यहाँ प्रस्तुत भएँ । अरू साथीहरूले पनि आफूलाई ढाँटेनन् होला । मेरो विश्वास यही छ ।

मेरो जीवनसाथी उनी पनि साधारण सरल, जे हो त्यहीमा आफ्नो धरातलमा उभिने मिहिनेती । हामी दुवैजना प्रेममा प¥यौँ र भेटेको दुई वर्षमा विवाह गर्ने निर्णय ग¥यौँ । विवाह यही मङ्सिरमा भयो ।

म फेमिनिस्ट, जेन्डरको कक्षामा भर्ना नहुँदै महिला अधिकार, मानव अधिकारमा विश्वास गर्ने । महिला र पुरुषलाई जेन्डरको आधारमा किन विभेद ? भनेर वकालत गर्थें । परिवारमा फुपू र सानीमामाथि भएको विभेद र महिला हिंसाको छाप सायद बच्चैदेखि ममा परेको थियो ।

मेरो घरमा केही कुराको पनि विभेद थिएन । बुवाआमाले नै अन्तरजातीय विवाह गर्नुभएको । आमा क्षेत्री, बुवा बाहुन । मेरो मावलकी हजुरआमा नेवारकी नातिनी । म सिङ्गल परिवारमा स्वतन्त्र हिसाबले बाँच्दै आएकी । मेरा बुवाआमाले मलाई एउटा छोरालाई दिने स्वतन्त्रताभन्दा अलि बढी नै स्वतन्त्रता दिनुभएको थियो । म आफ्नो जीवनको हरेक निर्णय आफै गर्थे । शिल्पी थिएटर जाँदा म नासा ब्वाइज होस्टल चलाउँथे ।

त्यतिबेला कोही नयाँ व्यक्तिसँग परिचय हुँदा, होस्टलमा बस्छु भन्दा गर्ल्स होस्टलमा हो भन्थेँ ? हैन म ब्वाइज होस्टल चलाउँछु, त्यहीँ बस्छु भन्दा मान्छेहरू जिब्रो टोक्थे । अविवाहित, त्यो पनि महिलाले ब्वाइज होस्टल चलाएपछि मान्छेहरू अचम्ममा पर्ने नै भए । किनभने हाम्रो समाज पितृसत्ता मान्छ । जुन सत्तामा महिला भनेको पुरुषको सपनामा सघाउने हो । महिलालाई निरीह सोचिन्छ ।

तर, मलाई त मेरो घरबाट तिमी महिला भएकै कारण निरीह छौ भनेर कहिल्यै सिकाउनुभएन । अन्याय सहनुपर्छ भन्नुभएन । के मेरा बुवाआमाले गलत सिकाउनुभएको हो भनेर यो समाजले भन्नुप¥यो । म आज यो समाजलाई सोध्न चाहन्छु ?

विवाह अगाडि नै म र मेरो जीवनसाथी मिलेर गर्ल्स होस्टल खोल्ने निर्णय गर्यौँ । यही क्रममा उनको बुवाआमासँग मेरो ब्वाइज होस्टलमा भेट गर्ने अवसर मिल्यो । चिनापर्ची हुँदै गयो । हामीले होस्टल बेचेर अर्को व्यवसाय ग¥यौँ पहिलो लकडाउनको समयमा । अब कति विवाह नगरी बस्छौ भन्ने कुरा दुवै परिवारबाट आएपछि हामीले विवाह गर्ने निर्णय गर्यौँ । मङ्सिरमा विवाह भयो ।

मलाई सधैँ विवाह अगाडि एउटा कुराले धेरै पिरोल्थ्यो । त्यो हो मेरो महिला अधिकार, मानव अधिकार । महिला हक अधिकार समानताको विषय मैले जानेका कुरा आफ्नो जीवनमा लागू गर्न सक्छु ? के म आफूविरुद्ध हुने असमान व्यवहारविरुद्ध आवाज उठाउन सक्छु ? सोच्थेँ, सक्छु नि । मेरो हुनेवाला जीवनसाथी बुझ्ने छन् । बुवाआमा बुझ्ने हुनुहुन्छ ।

मेरा आफन्त, दिदीको परिवारमा दिदीले भोगेको हरेक किसिमका महिला हिंसाको साछी थिएँ म । उहाँमाथि भएका हिंसामा म आफैले धेरै पटक आवाज उठाएकी थिएँ । परिवारले दिदीको लागि साथ दिएको हिजै जस्तो लाग्छ ।

म दिदीको घरमा बसेर पढ्दा देखेँ कुन हदसम्म महिला हिंसा हुन्छ भनेर । कुर्था लगाउन नहुने, देवरसँग बोल्न नहुने, आफू जन्मेको घर जान नपाउने, खान, बस्न, सुत्न, बोल्न, लिपिस्टिक लगाउन कन्ट्रोल, छोरा पाउन दबाब, बर्सेनि बच्चा पाउन दबाब, सासू, नन्द आमाजू, देवरानी, श्रीमानको हिंसा, दिनहुँ सासूको खुट्टामा तेल लगाउनुपर्ने । कतिकति लेखेरै सकिँदैन । बिहानदेखि रातिसम्म एकोहोरो काम । आराम कतिबेलै छैन । सारा काम सकेर श्रीमानको लागि राति तयार हुनुपर्ने । सायद यही देखेर ममा महिला हिंसाविरुद्ध आवाज उठाउनुपर्छ भन्ने चेत आएको होला ! मैले मेरो दिदीको जीवनमा महिलामाथि हुने हिंसा देखेँ अनि मनमनै प्रण गरेँ, मेरो जीवनमा ममाथि हिंसा हुन दिने छैन । दिदीले जसरी सहने छैन भनेर ।

मैले घरमा सधैँ किन ममीबुवाले हामी दिदीबहिनीको खुट्टा ढोग्नुहुन्छ अनि भाइले चाहिँ तपाईंहरूको ? भनेर प्रश्न गर्थेँ तर, राम्रोसँग उत्तर पाइनँ । तर, आज मम्मीलाई भन्न मन छ तपाईंकी छोरी ठूली भइसकिन् । अरूको खुट्टामा आफू हुनुको अर्थ खोज्दैछिन् । तपाईंले हिजो उत्तर दिन नसकेको प्रश्नको उत्तर पाएँ मैले ।

अर्काको घर गएर दुनियाँको खुट्टा ढोग्न पर्छ भनेर मलाई मेरो भागको माया यता मन दुख्ला भनेर पहिल्यै दिनुभएको रहेछ । मेरो खुट्टामा ढोगेर किन मलाई पुलपुलाउनुभयो मम्मी ? अनि यहाँ जबरजस्ती सासूलाई आमा भन्न सिकाइन्छ ।

खुट्टा ढोग्नुपर्ने सासूलाई कसरी आमाको दर्जा दिने ? माता औँसीमा बुहारीहरूले भटाभट सासूको फोटो राखेर आफ्नो जन्मदिने आमाको उपहास गरेजस्तो लाग्यो मलाई । कि त्यही घरमा बस्नुछ भनेर आफूलाई बचाउ गर्दै हालेका हुन् । सासू बनेर बुहारीलाई माया गर्न मिल्दैन र ? यो महिला महिलाबीचको लडाइँ पितृसत्ताले गर्दा हो भनेर हामी महिलाहरूले कहिले बुझ्ने ? यो विषयमा कसैले आवाज नै नउठाउने हो भने । हिजो संस्कारको नामामा महिलाहरू जलिरहँदा चुपचाप सहिरहेको भए आज हामी पनि जिउँदै जल्न जानपर्थ्यो । आफ्नो दर्दनाक इतिहास हामीले भुलेर पनि हिंसालाई प्रश्रय दिइराख्ने ? निद्राबाट आँखा खोल्न प¥यो हामीले । यसको घाटा–नाफा र महिलाको जीवनमा आइपर्ने जोखिमका लागि सँगै मिलेर अब पनि नलडे कहिले लड्ने ? महिलामाथि हुने कुनै किसिमको हिंसा अब मान्य छैन ।

मैले पहिल्यैदेखि विवाहित साथीहरूसँग सासूको, श्रीमानको, नन्द, आमाजू, काकी सासू, ठूलीआमा सासूलगायतको खुट्टा किन ढोग्ने भनेर सोधिरहन्थेँ । सबैले बाध्यताको कुरा बताउँथे ।

मेरो एकजना साथीले सुनाएको प्रसङ्ग सम्झन्छु । उनको सासूले प्रत्येक दिन बिहान सबैलाई टीका लगाइदिन्थिन् रे । मेरो साथी चाहिँ टीका लगाएपछि सासूको खुट्टा ढोग्नुपर्छ भनेर बिहानमा सधैँ यताउता आँखा छल्ने बहाना खोज्थिन् रे । कठै भन्न मन लाग्छ हामी महिलाको दयनीय अवस्था देखेर । आफ्ना कुरा एक महिला भएर अर्को महिलासँग गर्न नसक्ने । अनि त भन्छन् हामीलाई महिलाको शत्रु महिला भनेर । यो बुझ्नका लागि पितृसत्ता बुझ्नप¥यो । यसले कसरी महिलालाई निरीह बनाउँछ । त्यो बुझ्न प¥यो ।

दिदीलाई विवाह गरेर लगेपछि सासू र बुहारीको कपाल जोल्ठ्याएर टाउकोबाट तेल जानी–जानी सासूको खुट्टामा झारेर त्यो तेल बुहारी अर्थात् मेरो दिदीलाई चाट्न लगाएको रे । नयाँ बेहुली हेर्न आएका पाहुना छिमेकी सबै गलल हाँसे रे । यो सुन्दा मेरो जिउँ काँप्यो आँखाबाट आँशु झ¥यो । अनि मेलै त्यही बेला प्रण गरेँ, म कसैको खुट्टा ढोग्दिन भनेर ।

बुहारीलाई यस्तो व्यवहार गर्ने अनि बुहारीबाट चाहिँ माया र सम्मान चाहने यो समाजले ? जे रोप्यो, त्यही फल्छ हैन र ? माया र सम्मान चाहिन्छ भने पहिला नयाँ बुहारीलाई माया र सम्मानको व्यवहार गरौँ । अनि बुहारीहरूको उछितो काढ्दै हिँड्न बन्द गरौँ । किन यस्तो भइरहेको छ समस्याको जड खोजौँ ।

खुट्टा ढोग्ने विषयमा मैले सिल्पी थिएटरमा पनि गुरु र विद्यार्थीहरूको बीचमा बहस चलेको बेला कुरा उठाएकी थिएँ । सबैको आ–आफ्नो विचार थियो । त्यो छलफलमा पनि यही हो भनेर निष्कर्ष निस्किएन ! सोचे निष्कर्ष ननिस्किए पनि असिमले बुझ्छ । उसको बुवाआमा पनि सरकारी टिचर पढेलेखेको बुझिहाल्नुहुन्छ । उसको मम्मीलाई सम्झाउँछु । खुट्टा चाहिँ ढोग्दिनँ भनेर मन जसोतसो मन बुझाएँ ।

विवाहको मिति तय भएपछि यो खुट्टा ढोग्ने विषयले मनमा राम्रैसँग ठाउँ जमाउँदै थियो । तर विवाहको माहौल त्यो पनि कोरोनाको समयमा कसैसँग यो विषयमा कुरा गर्ने माहौल नै बनेन । झन् उसको मम्मीसँग त मिलेन ।

विवाहको दिन आयो । विवाहकै मण्डपमा श्रीमानको खुट्टा ढोग्नुपर्ने । ढोग्दिनँ भन्न त कि विवाह नै नगर्न प¥यो ! विवाह नगरी बस्न दिन्छ यो समाजले ? विवाहकै दिन के म पण्डित, जन्ती, मेरो घरका मान्छे, सबैसँग आवाज उठाउन सक्छु ? श्रीमान्को खुट्टा ढोग्दिनँ भनेर ।

विवाह सकियो, मलाई होटेलमा लगे भित्र्याए । त्यो दिन मैले लगेको सारीका उपहार र बुवाआमाले ठीक पारिदिएको पैसाको खाम राख्दै नमस्तेमा त्यो दिनको चिनापर्ची सकियो । पश्चिमतिर विवाहकै दिन सारी र पैसा तिरेर बुहारीले अनुहार देखाउने तर ढोग्नै नपर्ने नियम रहेछ । कम्तीमा म चाहिँ कसैको खुट्टा ढोग्न नपरेकाले मनमनै दङ्ग परेँ, खुसी भएँ ।

विवाहको ४, ५ दिनपछि मेरी फुपूको घरबाट फोन आयो । अङ्किताले सुसाइड गरी भनेर । बहिनी काठमाडौँमा हाम्रो विवाहलगत्तै घर फर्किएकी थिई । यसपालि एसईई दिने जम्मा १७ वर्षकी । मेरा लागि फुपू र फुपूका छोरीहरू आफ्नै बहिनी जत्तिकै नजिक । उसको नाम अङ्किता मैलै नै राखिदिएको । मेरो विवाहको सम्पूर्ण खुसी, त्यो नयाँ माहौलको भूत सबै उत्रियो ।

अन्तिम पटक बहिनी हेर्ने हुटहुटी यस्तरी आयो । उडेर चराजस्तै बनेर फुपूको घर पुगेर फुपूलाई अँगालो हालेर रुन मन लाग्यो । अनि हामी श्रीमानको घर पाल्पा नगई मेरो घर मोरङ गयौँ । त्यसलगत्तै हामी काठमाडौँ फर्केर पाल्पा जानलाई एयरपोर्ट गयौँ ।

एयरपोर्टमा बिहानदेखिको बसाई । हुस्सुले गर्दा बिहान १० बजेको भैरहवाको फ्लाइट बेलुकाको ४ बजे भयो । मनभरि फुपूको घर र फुपूको अनुहार मात्र झलझली आइरहेको थियो । फुपूको एक्ली छोरी गुमाउँदाको उसको आँसु र अनुहार मानसपटलभरि दौडिरहेको थियो । नयाँ ठाउँ जाने केही उत्साह थिएन, त्यसमाथि कोरोनाले पनि भेटेर सिकिस्तै भएकी थिएँ म ।

भैरहवाबाट पाल्पा तानसेन पुग्दा बेलुकाको ९ बज्यो । पहाडको बाटो कहिल्यै नहिँडेकी म बान्ता गर्दागर्दा आलस्य भएर पहिलो पटक श्रीमानको घर पुगेँ म । घर पुग्दा सासू–आमा, ठूलीआमाहरू, नन्द आमाजू, सानो बुवा, ठूलो बुवा, फुपू, जेठाजू, जेठानी दिदीहरू, भान्जा, भान्जी, भतिज, भतिजी सबै हामीलाई नै स्वागत गर्न बसेको देख्दा खुसी लाग्यो ।

तर यो मेरो खुसी धेरै बेर टिकेन । सुरु भयो ढोगभेटको कर्मकाण्ड । पश्चिमतिर ढोगभेट कार्यक्रम नै हुँदो रहेछ । सबैजना खुट्टा ढोगाउन जाने आउने चलन नै हुँदो रहेछ । यसको सिकार हुने पालो अब मेरो रहेछ कठै !

पहिलो पटक आफूलाई देखेर दया लागेर आयो । मनमनै रोएँ । छोरीको जिन्दगी ! अर्काको घर जाने जात भनेर किन भनेको रहेछ महसुस गरेँ मैले । एकजना ठूलीआमाले त च्यातिएको मोजा लगाएको खुट्टा उचालेर ढोगाउनुभयो ।

रातको ११ बज्यो । मेरो पढाइ, चेतना, जेन्डर स्टडिज, सबैले पितृसत्ताको अगाडि पालैपालो घुँडा टेक्यो । न मैले केही बोलेँ । न मेरा श्रीमानले केही बोल्ने हिम्मत राखे । सधैँ अरूका लागि आवाज उठाउने मेरो बोली त्यो दिन घाँटीमै अड्कियो ।

अनि दिदीलाई सम्झिएँ, कस्तो आफ्ना लागि बोल्न सक्नुहुन्न हौ भन्दै म रिसाएको । आँखा रसाए मेरा । कठै हामी नारीको जीवन त पैताला मुनि पो रहेछ त ! अब कहाँबाट सक्छन् ती निरक्षर दिदी बहिनीले आफ्ना लागि लड्न ? मेरो आशा भरोसा सबै टुटेर गयो । बुझ्नु भन्दा नबुझ्नु नै बेस रहेछ झैँ लाग्यो मलाई ।

यो लेख लेख्दै गर्दा आफैसँग एउटा प्रण गरेकी छु । अब आइन्दा मेरो शिर कसैको पैतालामा राख्न मलाई मञ्जुर छैन । मेरो जन्मघरमा मेरो भाइको श्रीमती बनेर आउने बुहारीलाई म खुट्टा ढोग्न दिने छैन । बाहिरबाट हेर्दा न कुटेको न गाली गरेको खुट्टा ढोगेर सम्मान हो भन्लान् तर हैन ।

विवाह गरेर लगेकै दिन लगेर खुट्टा ढोगाउने । खुट्टाको तेल चटाएपछि बुहारीले मुख लाग्दैनन् अरे ! कस्तो खतरनाक राजनीति हो यो ? के बुहारीको मुख छैन । कि मुखै नभएको बुहारी खोज्न प¥यो । बुहारीले किन चित्त नबुझेको कुरामा बोल्न नहुने । बोलेर घर बिग्रियो भने हेरौँ कतिको घर बिग्रने रहेछ । अनि गरौँला घाटा–नाफाको हिसाब किताब ।

वास्तवमा छोरीको कुनै पनि घर र थर हुँदैन । जन्मेको घरमा बस्दा कहिले विवाह गरेर श्रीमानको घर जान्छौ भनेर एक छाक भात र एक निद्रा सुत्न दिँदैन यो समाज । विवाह गरेर श्रीमानको घर टेक्दा गएकै दिन तेरो दर्जा यो हो भनेर चिनाइदिने त्यो घर कसरी आफ्नो हुन्छ ।

त्यसपछि सिलसिला सुरु हुन्छ बुहारीमाथिको खुलेआम विभेद । आफ्नो तरिकाको पकाएर खान नपाउने, आफूले भनेको समयमा सुत्न नपाउने, काम नै नहुँदा पनि बिहानको ४ बजेदेखि उठ्नलाई तयार हुनुपर्ने ।

महिनावारी भयो भने के सोच्लान् घरका मान्छेले भनेर भन्न पनि हिचकिचाउनुपर्ने । भएको थाहा पाएपछि खस्रो बोली सुन्न पर्ने । महिनावारी बार्ने नियम पनि बनाउने अनि बुहारीले काम पनि गरिन भन्ने कस्तो दोहोरो चरित्र हो ?

बुहारीको कुरा घर, परिवार, समाज, राष्ट्र, हुँदै अन्तर्राष्ट्रिय स्तरमा पु¥याएर नापतौल गर्ने । के बुहारी पब्लिक प्रोपर्टी हो ? के बुहारीको मगज छैन ?

बुहारी पहिला मानव हो । मानवलाई जस्तो व्यवहार गर । के पहिलो पटक ससुराली जाँदा ज्वाइँलाई सबैको खुट्टा ढोग्न लगाएर च्यातिएको मोजाले दर्शन गरायो भने ती ज्वाइँ फेरि दोस्रो पटक फर्केर ससुराली जालान् ? यो प्रश्न सबै ज्वाइँहरूलाई हो । अनि बुहारीले चाहिँ सबै कुरा सहेर अर्कार्को घरलाई जबरजस्ती घर भन्नुपर्ने ?

महिलाको कुनै पनि घर हुन्न । त्यही भएर मेरो अहिलेसम्म घर र थर दुवै छैन । कुनै दिन घर बनाउन सकेँछु भने म जानकारी गराउनेछु । म मञ्जरी हुँ । मात्र आफ्नो दुनियाँमा आफ्नै लागि परी, एन्जेल मञ्जरी ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।