सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

छि ! कस्तो वाइफाई नै नभएको घर !

मङ्गलबार, ०१ भदौ २०७८, ०९ : ४४
मङ्गलबार, ०१ भदौ २०७८

मलाई धमिलो गरी याद छ, म स्कुल जान्न भनेर वा आमासँग जिद्दी गर्दा मलाई मेरा बाले एक मोहोर (पचास पैसा) दिएर स्कुल पठाएको दिन । त्यो दिन मैले त्यो एक मोहोरले एक प्लेट चना र २० वटा पिपलगेडी किनेको । आज मेरो छोरी त्यही उमेरमा छन् तर जिद्दी उस्तै छ तर चाहना फरक भएका छन् । मैले मेरो छोरीलाई फकाउन भरे स्कुलबाट आएपछि मोबाइल अफ नभएसम्म चलाउली ।

स्मार्ट फोनको पहुँच पुग्ने सबै नेपालीका बच्चाहरूलाई फकाउने तरिका यही होला । मेरो छोरीकै उमेरका मेरा भाञ्जा पाँच वर्षको नहुँदै चस्मा लगाउने गरेका छन्, हाम्रो जिनमा कसैले पनि आजका दिनसम्म आँखा कमजोर भएर चस्मा लगाएको थाहा पाएको छैन ।

सुरुमै प्रविधिका बारेमा नकारात्म प्रसङ्गग उठाउन खोजेको भनेर आरोप पनि आउला तर पनि यो वास्तविकता हो । नपत्याए एक पटक तपाईंका बच्चा के गरिरहेका छन् हेर्नुहोस् त ? अनि तपाईंको श्रीमान्, श्रीमती पनि ? हो सबै व्यस्त छन् । घरभरी मान्छे भएर पनि शून्यता छ ।

आमाले आज फेसबुक चलाउँदै खाना पकाउँदै हुनुहुन्छ, बाबाले युटुब हेर्दै छोरालाई पढ भनिरहनु भएको छ अनि छोराले अनलाइन क्लासलाई अन गर्दै पब्जी खेल्दै छ । छोरीले कोरोनाले कोल्याप्स हान्यो बिच्च बिच्चमा भन्ने गीतमा टिकटक बनाउँदै छन्, होइन र ? हो यही हो आजको वास्तविकता ।

कसैको घरमा पाहुना लाग्न जाँदा फलफूल समाउने हात आजभोलि स्मार्ट मोबाइल समाउन व्यस्त छन् । सन्चै हुनुहुन्छ अनि घरमा सबै सन्चै भन्नुपर्ने शब्दलाई “वाइफाईको पासवर्ड के होला नि ?” मा परिणत भएका छन् । प्रविधि भनेको व्यापार हो र व्यापारमा जे बिक्छ, त्यही बेच्ने हो, तर उपभोक्ताले विचार गरौँ के किन्ने के नकिन्ने । प्रविधि भनेको भान्साको नुन र दीर्घ रोगीहरूका लागि बनाइएको औषधि पनि होइन प्रयोग नगरी नहुने ।

मानव स्वास्थ्यका बारेमा कलम चलाइरहने डाक्टर अरुणा उप्रेती पटक पटक बच्चाहरू र घरलाई डिजिटल प्रविधिको कुलतबाट टाढा राख्न अनुरोध गरिरहेकी छन् । उनी भन्छिन्– “पहिला पहिला ५० वर्षमाथिकालाई लाग्ने रोगहरू आजभोलि तातेताते हिँड्ने बेलाबाटै सुरु हुन थालेको छ । त्यसैले मोबाइल र कम्प्युटरमा लत नलागोस् भनेर पनि सोच्ने हो कि ?”

कुरा ठीक हो नि के गरेपछि दैलो देख्नुको त के अर्थ होला र ? त्यसैले पनि होला पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि तत्कालीन अवस्थामा सूचना प्रविधि र स्मार्ट फोनको प्रयोग नकारात्मक दिशामा गएको फेहरिस्त सुनाएका थिए । उनले आफू सूचना प्रविधि र स्मार्ट फोनमा त्यति पोख्त नभए पनि युवा पुस्ताले त्यसको दुरुपयोग गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।

त्यसो त अहिले मोबाइलमा समय फाल्ने युवा जमात पनि निकै छ । यही अवसरको फाइदा उठाउँदै कतिले अफवाह फैलाउने काम पनि अत्यधिक रहेको छ । यो मात्रै होइन बेला बेलामा डिजिटल प्लेटफर्ममै पढ्न पाइन्छ । फेसबुकबाट लभ परेर भेट्न बोलाइकी केटी आफ्नै भतिजी परेपछि, यस्तै यस्तै शीर्षकका खराब खुराकहरू ।

समय व्यतितका लागि गरिने हाई शब्दसँगै बढ्दो यौन हिंसा र त्यसले निम्त्याएका अनगन्ती गलत हर्कतहरू । सायद यो लतका कोही पनि मान्छेहरू प्रविधिको सदुपयोगमा लागेका भेट्न मुस्किल नै हुन्छ । नपत्याए एक पटक आफ्नो छोरा, छोरी, भाइदाइ, दिदीबहिनी वा श्रीमान्श्रीमतीको मोबाइल चेक गर्नुस् त कति भयावह अवस्थामा अति अराजक भएर कुरा गरिरहेका छन् ?

एउटै समयमा फरक फरक मान्छेहरूसँग जोडिँदै गएको डिजिटल सम्बन्ध अनि त्यसले निम्त्याउने सामाजिक विकृत अवस्था ? के यसरी सुन्दर र स्वास्थ्य समाजको निर्माण होला त ?  कि प्रविधिले जता लग्यो उतै बहकिने हो ? हामीले आजै सोचेनौँ भने भोलि हाम्रो लासलाई फेसबुकबाटै सतगत गरिने छ अनि आर्यघाटहरू रित्ता हुने छन् । भावना शून्य समाजको निर्माण हुनेछ ।

सय पटक एउटै कुरा भन्ने हो भने समाजमा असत्य पनि सत्यजस्तै लाग्छ भन्ने गोयवल्स रणनीति नेपालमा पनि अहिले प्रचलनमा आएको छ । त्यो पनि स्मार्ट फोन र प्रविधिसँगै जोडिएर । त्यसैले त नेकपा एमालेले साइबर सेना स्थापना गरेको छ आधिकारिक रूपमा । आफ्ना विपक्षलाई तह लगाउन र आफ्ना पक्षमा जनमानस तयार गराउने उद्देश्यमा केन्द्रित रहेर देशैभरमा सञ्चालित सामाजिक सञ्जालमा स्मार्ट तरिकाले सूचनाको बाढी नै सम्प्रेषण गर्ने गरेका छन् ।

सञ्जालमा फाल्दैमा असत्य सत्यमा परिणत हुँदैन भन्ने कुरा दुई तिहाइको नजिक रहेको सरकार पनि पाखा लाग्नुप¥यो । प्रसङ्ग किन उल्लेख गरेको भन्दा पछिल्लो समयमा प्रविधिलाई जसरी प्रयोग गरिएको छ । त्यो सूचनाभन्दा पनि प्रभाव हो । सबैले सोच्नुपर्ने छ, हामी सूचना लिने कि प्रभावित हुने ?

फेरि हामी घरभित्रै फर्कौँ न, तपाईंको जस्तै मेरो घरको दुई वर्षको छोराले पनि मोबाइलमै जिद्दी गर्छ । अन्त्यमा केही केही लागेन भने मोबाइल हाक्का (काखमा) लिएर सुत्छु भन्छ । यो लेखिरहँदा पुनः छोरीको भिडियो कल आयो अनि कलमा कुरा हुँदा भनिन् बाबा आजको जाँच राम्रो भयो अनि मैले दुई घण्टा मोबाइल हेरेँ ।

परीक्षा राम्रो भएको पुरस्कार यस्तोमा परिवर्तन भयो, हैट जमाना !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप