बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

७ बैङ्कको नाफा ३ अर्ब माथि, चार वटा बैङ्कको नाफा घट्यो

मङ्गलबार, ०१ भदौ २०७८, ०७ : ५७
मङ्गलबार, ०१ भदौ २०७८

वाणिज्य बैङ्कहरूको नाफा बढेर आधा खर्ब नाघेको छ । बैङ्कहरूले हालै मात्र सार्वजनिक गरेको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा अर्थात् चौथो क्वार्टरको अन्तसम्ममा कुल ५९ अर्ब ५७ करोड ७९ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका हुन् ।

यस्तो नाफा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा कुल ४८ अर्ब ४२ करोड ४ लाख ६८ हजार मात्र थियो । समीक्षा अवधिमा बैङ्कहरूले थप ११ अर्ब १५ करोड ७५ लाख ४ हजार रुपैयाँ बढीले नाफा आर्जन गर्न सफल भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २३.०४ प्रतिशतले नै बढी नाफा आर्जन हो । 

यो हिसाबले अन्य व्यावसायिक क्षेत्रहरू कोभिड–१९ का कारण प्रताडित भइरहँदा पनि यता बैंकिङ्ग क्षेत्रले भने राम्रै व्यापार गरिरहेको स्पष्ट देख्न सकिन्छ । त्यति मात्र नभएर केही बैङ्कहरूको नाफाको दरलाई हेर्ने हो भने झनै आक्रामक देखिन्छ । 

७ बैङ्कको नाफा ३ अर्ब माथि

कुल २६ वटा वाणिज्य बैङ्कहरू मध्ये ७ वटा बैङ्कहरूले समीक्षा अवधिमा ३ अर्ब माथिको नाफा आर्जन गरेका छन् । भने त्यस मध्ये पनि २ ठूला बैङ्कहरूले अधिकतम ४ अर्ब माथिको नाफा आर्जन गर्न सफल भएका छन् । 

जसमा उच्च नाफा कमाउने बैङ्कहरूमा नबिल बैङ्क र ग्लोबल आईएमई बैङ्कहरू रहेका छन् । 

समीक्षा अवधिमा सबै भन्दा बढी साढे ४ अर्ब (४ अर्ब ५० करोड) माथिको नाफा आर्जन गरेर नबिल बैङ्क शीर्ष स्थानमा रहेको छ भने ४ अर्ब १२ करोड नाफा गरेर ग्लोबल आईएमई बैङ्क दोस्रो स्थानमा रहेको छ । 

यद्यपि, नाफा आर्जनका हिसाबले भने ग्लोबल आईएमई बैङ्कले नबिललाई पनि पछि पारेको छ । आर्थिक वर्षभित्र नबिलले ३०.६ प्रतिशतले नाफा वृद्धि गर्दा ग्लोबलले अधिकतम ४१.८७ प्रतिशतले वृद्धि गरेको छ । 

जबकि गत अघिल्लो वर्ष ग्लोबल आईएमई बैङ्कको खुद नाफा २ अर्ब ९० करोड र नबिल बैङ्कको ३ अर्ब ४६ करोड रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा कृषि विकास बैङ्कले ३ अर्ब ६९ करोड, नेपाल इन्भेष्टमेन्ट बैङ्कले ३ अर्ब ६५ करोड, प्राइम कमर्सियल बैङ्कले ३ अर्ब २५ करोड, एनआईसी एसिया बैङ्कले ३ अर्ब २५ करोड र नेपाल बैङ्कले ३ अर्ब ६ करोड माथिको नाफा कमाएको छ । 

यस्तै अन्य बैङ्कहरूमा स्टान्डर्ड चार्टर्ड बैङ्कले १ अर्ब ४० करोड, सिटिजन बैङ्कले १ अर्ब ५९ करोड, सिद्धार्थ बैङ्कले २ अर्ब ८३ करोड, माछापुच्छ्रे बैङ्कले १ अर्ब ६३ करोड, सानिमा बैङ्कले १ अर्ब २७ करोड, प्रभु बैङ्कले २ अर्ब १ करोड, एनएमबी बैङ्कले २ अर्ब ७३ करोड, नेपाल बंगलादेश बैङ्कले २ अर्ब २९ करोड (सबै भन्दा बढी ८४.१६ प्रतिशतले नाफा वृद्धि ), लक्ष्मी बैङ्कले १ अर्ब ५४ करोड, कुमारी बैङ्कले २ अर्ब, बैक अफ काठमाडौंले १ अर्ब ५३ करोड, मेगा बैङ्कले २ अर्ब ३० करोड, हिमालयन बैङ्कले २ अर्ब ९९ करोड, एनसीसी बैङ्कले १ अर्ब २७ करोड, सिभिल बैङ्कले ५५ करोड ९३ लाख र सनराइज बैङ्कले १ अर्ब ५० करोड बढीले नाफा कमाएका छन् । 

यसरी आयो चार वटा बैङ्कको नाफामा सङ्कुचन

समीक्षा अवधिमा अधिकांश बैङ्कहरूले उल्लेखनीय नाफा कमाइरहँदा यता चार वटा बैङ्कले भने गुमाउन पुगेका छन् । अर्थात् चार वटा बैङ्कहरूको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा पनि समीक्षा अवधिमा घट्न पुगेको छ । 

बैङ्कहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा यसरी नाफा गुमाउने बैङ्कहरूमा स्टान्डर्ड चार्टर्ड बैङ्क, एभरेष्ट बैङ्क, सेन्चुरी बैङ्क र एसबीआई बैङ्क रहेका छन् । जसमध्ये सबैभन्दा बढी गुमाउनेमा एसबीआई बैङ्क रहेको छ । जुन बैङ्कले समीक्षा अवधिमा अधिकतम ३७.७३ प्रतिशत बढीले नाफा गुमाएको जनाएको छ । 

आर्थिक वर्ष २०७६/७७ मा कुल १ अर्ब ५४ करोड खुद नाफा आर्जन गरेको बैङ्कले आर्थिक वर्ष २०७७/७८ मा ९६ करोड मात्र नाफा आर्जन गर्न सफल भएको छ । 

यस्तै, अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९८ करोड बढी नाफा आर्जन गरेको स्टान्डर्ड चार्टर्ड बैङ्कले समीक्षा अवधिमा अधिकतम २९.४९ प्रतिशतले नाफा घटाउँदै समीक्षा अवधिमा १ अर्ब ४० करोड नाफा गरेको छ । 

यस्तै, अघिल्लो आर्थिक वर्षमा २ अर्ब १५ करोड नाफा गरेको एभरेष्ट बैङ्कले समीक्षा अवधिमा २७ प्रतिशतले नाफा घटाउँदै १ अर्ब ८२ करोड मात्र नाफा आर्जन गरेको छ भने, सेन्चुरी बैङ्कले ८० करोड ४५ लाख नाफा अघिल्लो वर्षमा गरेकोमा गत आर्थिक वर्षको अन्तसम्ममा ६.७७ प्रतिशतले नाफा घटाउँदै ७५ करोड ३६ लाखको मात्र नाफा आर्जन गरेको छ । 

अंक हजारमा (०००)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप