शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको बैठक भोलि बस्दै

सोमबार, ३२ साउन २०७८, १९ : ५८
सोमबार, ३२ साउन २०७८

 लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक भोली भदौ १ गते मंगलबार बस्दै छ । बैठक भोली मंगलबार दिउसो २ बजे बस्नेछ । भोलि बस्ने बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । 

चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि भोलिका लागि आह्वान गरिएको हो ।

यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले अनिश्चित कालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।  

प्रदेशसभा बैठक बस्नु अघि आज कार्य अपराह्न कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको छ ।  आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा भोली हुने प्रदेशसभाको कार्यसूची, बैठकमा पेस हुने विधेयकका बारेमा छलफल भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

बैठकमा भदौ १ र २ गते प्रदेशसभा बैठक सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । प्रवक्ता अमात्यका अनुसार, भोली देखि चल्ने प्रदेशसभा बैठकमा केही प्रदेश ऐन पेस हुने र प्रदेशसभा नियमावली संशोधन माथि छलफल हुनेछ ।

बैठकमा प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेताहरूले प्रदेशसभा नियमावली संशोधनका बारेमा भने सर्वदलीय बैठक आह्वान गरी सहमति गरेर मात्र संसद्मा छलफल गर्नु पर्ने धारणा राखेका थिए ।

त्यस्तै उक्त बैठकमा प्रदेशसभाको लोगोका बारेमा पनि छलफल भएको र आगामी केही समयभित्रै प्रदेशसभाका सदस्यहरूलाई लोगो उपलब्ध गराउने गरी तयारी भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप