बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पब्जी र फ्री फायरको आतङ्क बन्द गरौँ

सोमबार, ३२ साउन २०७८, १२ : ४६
सोमबार, ३२ साउन २०७८

-विकास गुप्ता

यतिबेला शक्तिशाली र विकसित भनिएका देशमा कोरोना भाइरस (कोभिड–१९) ले ताण्डव मच्चाइरहेको छ भने अर्कोतिर अनलाइन गेम पब्जी र फ्री फायरले । यो सुन्दा युवाहरू आक्रोशित पनि हुन्छन् । युवालाई लाग्न सक्छ पब्जी, फ्री फायरले पनि ताण्डव मच्चाउँछ र ? 

तर हो, यसले बच्चादेखि युवा पुस्तालाई बर्बाद हुने अवस्थामा पुर्याइसकेको छ । दुई वर्षआगाडि नेपालमा पब्जी, फ्री फायरले गर्दा आत्महत्या गराएको समाचार हामी धेरैले सुनेका छौँ । विश्व स्वास्थ्य सङ्गठनले पनि खेलको कुलतलाई मानसिक समस्या भनेको छ ।

पब्जी गेम सन् २०१७ मा दक्षिण कोरियाली कम्पनीले सार्वजनिक गरेको थियो । उक्त खेल पब्जी मोबाइल एक रोयाल खेल हो । यस खेलमा कुल सय खेलाडी युद्धको मैदानमा उत्रन्छन् र उनीहरूको जमघट कौशल र अस्तित्व जोगाउन युद्ध गर्छन् । काल्पनिक चिकन डिनर जित्न खेलाडीहरूले प्रयास गरिरहेका हुन्छन् । 

यही प्रसङ्गमा प्रतिनिधि सभाको बैठकमा एमाले सांसद आशाकुमारी विकले पब्जी, फ्री फायर जस्ता खेल बन्द गर्नुपर्ने कुरा उठाएकी थिइन् । उनका अनुसार पब्जी, फ्री फायरको लतले बालबालिकामा देखिएका मनोवैज्ञानिक असरबारे बताएकी थिइन् । यस गेमले बालबालिकामा डराउने, जिद्दी हुने, रुनेकराउने जस्ता स्वभावले अभिभावकहरूमा चिन्ता थपेको छ । उनले भनिन्, यो खेलबाट मानसिक रोगीको सङ्ख्या ह्वात्ते बढेको छ ।

खासगरी १० देखि २० वर्षसम्मका बालबालिका यस खेलको कुलतमा फसेका छन् । अभिभावकले यस्ता खेलको लतमा नलाग्न सुझाउँदा मोबाइलले हान्ने र मोबाइल नै फुटाउने जस्ता गतिविधि गर्ने गरेको बताएका छन् । 
समय मिलाएर र बुझेर खेलेमा अनलाइन खेलले हानि मात्रै गर्ने होइन । केही व्यक्तिहरूको आम्दानीको स्रोत पनि बनेको छ । तर कोरोना महामारीमा शैक्षिक संस्था बन्द रहेको अवस्थामा त यसको कुलतकै रुपमा विस्तार भएकाले युवामा मानसिक रोग बढेको धेरैको तर्क रहेको त । 

विद्यालय जाने उमेरका बालबालिका यस खेलको लतमा परेका छन् । उनीहरूमा एकान्तमा बस्न रुचाउने र अधिकांश समय अनलाइनमा रमाउने जस्ता मनोवैज्ञानिक समस्या देखा परेका छन् ।

पब्जी खेल नेपालमा बन्द गर्ने काम सराहनीय हो । जनजीविकाका विभिन्न सीपहरु सिक्नुपर्ने किशोरावस्थामा दिमाग एकोहोरो बनाउने, पढ्न मन नलाग्ने, आँखामा समस्या आउने, बाल्यकालमै ढाडसम्बन्धी साथै अन्य मानसिक तथा शारीरिक समस्या उत्पन्न भएको देखिएको छ ।

कतिलाई नराम्रो लाग्ला तर युवापुस्ता बालबालिकामा पब्जीको लत बढ्यो भने मानसिक र शारीरिक समस्या चाँडै आउँछ । मेरा छिमेकमा एउटा केटा पढाइमा निकै राम्रो थियो । कक्षामा टप पनि गथ्र्यो तर पब्जी र फ्रिफायरको लत परेकाले उसले पढाइ बिगारेको छ । उसमा मानसिक समस्या पनि देखा परेको छ । बेलाबेला झस्किने गर्छ । जुनसुकै कुरामा जिद्दी गर्ने बानीको विकास भएको छ । पब्जी खेल्ने बेलामा खाना खान पनि बिर्सछन । हामीले सुनेकै हौँ । छिमेकी देश भारतमा केही दिनअगाडि एकजना केटाले आफ्नै बुबालाई पब्जीकै कारण हत्या गरेको थियो । तसर्थ यस्तो घटना नदोहोरियोस् भन्ने उद्देश्यले यस्ता खेलमा प्रतिबन्ध लगाउनु राम्रो हुन्छ । 

भविष्य निर्माण गर्ने समयमा बालबालिका तथा युवाले यस्ता कुलतमा फसे भने देश र समाज कसले बनाउँछ ? यसर्थ पब्जी र फ्रिफायर खेल नेपाल सरकार, सरकारका निकाय, स्थानीय निकाय, नागरिक समाज, सङ्घ सङ्गठन एवं चेतनशील नागरिकहरूको सामूहिक प्रयासबाट प्रतिबन्ध लगाउन सम्भव छ । यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण होस् र छिटोभन्दा छिटो कार्यान्वयन होस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप