आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता

आइतबार, ३१ साउन २०७८, २१ : २९
आइतबार, ३१ साउन २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २२ आमन्त्रित केन्द्रीय सदस्यले दिएको राजीनामा फिर्ता गरि दिएका छन् । आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलका अनुसार सभापति देउवालाई राजीनामा फिर्ता गरिदिएका हुन् ।

देउवाको भनाइ उद्धृत गर्दै  पौडेलले भने, 'तपाईंहरुको मागको सम्बोधन गर्नु । मैले तपाईंहरुको राजीनामा मैले फिर्ता भयो । मैले फिर्ता गरिदिए भन्नुभयो ।' शुक्रबारको केन्द्रीय समिति बैठकमा स्वतः महाधिवेशनको प्रतिनिधि हुने व्यवस्थाको माग आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए । 

राजीनामा दिनेमा आमन्त्रित सदस्यहरू नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी  र मनोहरनारायण श्रेष्ठ  थिए ।

यस्तै ध्रुव वाग्ले , मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ,अभिषेक प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङ, दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंह गरी काँग्रेसमा २२ जनाले आमन्त्रित केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । उनीहरू सबैको राजीनामा फिर्ता भएको सभापति देउवाले बताएका हुन् ।

काँग्रेसमा पार्टी केन्द्रीय समितिका वर्तमान एवं पूर्व पदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, सङ्घीय संसद्का सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवार एक अवधिका लागि स्वतः क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था छ ।

आमन्त्रित केन्द्रीय सदस्यको हकमा भने उक्त व्यवस्था छैन । सो सुविधासहित आमन्त्रित केन्द्रीय सदस्यहरूले आफूलाई पनि स्वतः महाधिवेशनको प्रतिनिधि हुने व्यवस्थाको माग गरेका छन् ।  काँग्रेस विधानमा बढीमा १० जना मात्रै आमन्त्रित केन्द्रीय सदस्य रहने व्यवस्था छ । तर काँग्रेस र अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकालाई समेट्दा २२ जना आमन्त्रित सदस्य पुगेका छन् । 

आमन्त्रित केन्द्रीय सदस्यमा नवप्रवेशी र देउवा पक्षीय नेता मात्र छन् । उनीहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनु देउवाका लागि २२ जना मतदाता थपिनु हो । देउवाले उनीहरूको माग सम्बोधनका लागि प्रयास गरिरहेको पौडेलले बताए ।

उनले भने, 'हाम्रो माग निर्वाचन निर्देशिकामा समेटेर आउँछ भन्ने हामीलाई विश्वास छ । सभापतिज्यूको आश्वासनलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । सभापतिज्यूले माग सम्बोधन गर्छु भन्नु भएको छ ।'

केन्द्रीय समिति बैठकले सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिकामा बैठकबाट प्राप्त सुझावलाई समेटेर सहमतिमा टुङ्गो लगाउन भदौ १ को समय दिइएको हो ।

त्यसमा आफूहरूका माग सम्बोधन हुने पौडेलले विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप