शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

असुरक्षित अफगानिस्तानमा सुरक्षा प्रदान गर्दै नेपाली गार्ड

तालिवानको बयानले हटेको त्रास
आइतबार, ३१ साउन २०७८, २१ : १४
आइतबार, ३१ साउन २०७८


अफगानिस्तानमा कार्यरत नेपालीहरूको उद्धारकार्यका लागि विदेशीहरूले चासो देखाएका छन् । अधिकांश नेपालीहरू ग्रिन जोनमा सुरक्षाकर्मीका रूपमा कार्यरत भएकाले अन्य कर्मचारीको उद्धार भइसकेपछि आफ्नो पालो आउन सक्ने उनीहरूको अपेक्षा छ ।

‘हामीले अन्तिमसम्म ड्युटी गर्नुपर्ने हुन्छ,’ अफगानिस्तानस्थित जर्मनी नियोगमा कार्यरत एक नेपालीले नाम नछाप्ने शर्तमा भने, ‘अरूको उद्धारपछि हाम्रो पालो आउँछ होला ।’

ती व्यक्तिका अनुसार विदेशीहरूको उद्धार कार्य जारी छ । ‘पाँच मिनेटमै विमानस्थल पुग्न सकिने ठाउँमा पनि हेलिकोप्टर चाटर्ड गरेर नागरिकहरूलाई लैजाने काम भएको छ,’ उनले भने ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तान मामिला हेर्ने गर्छ । दूतावासले पनि नेपालीहरूको सुरक्षित उद्धारका लागि काबुलमा रहेका कूटनीतिक नियोगका पदाधिकारीहरूलाई आग्रह गरेको छ ।

भारतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख (डीसीएम) रामप्रसाद सुवेदीले अधिकांश नेपालीहरू सुरक्षित अवस्थामा रहेको खबर प्राप्त भएको बताए । ‘अहिलेसम्म उहाँहरू सुरक्षित रहेको खबर प्राप्त भएको छ,’ उनले भने, ‘हामीले उद्धारका लागि त्यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारीहरूलाई पनि आग्रह गरेका छौँ । र, नेपालीहरूलाई पनि घर फर्कन आग्रह गर्दैछौं ।’


अफगानिस्तानमा झन्डै १२ सयको हाराहारीमा नेपालीहरू सुरक्षा गार्डका रूपमा विभिन्न ग्रिन जोनमा कार्यरत छन् । त्यस्तै, केही सङ्ख्यामा हाई स्किल (डाक्टर, नर्स, इन्जिनियरलगायत) जनशक्ति पनि छन् ।

तालिवानको बयानले हटेको त्रास

आइतबार तालिवानी विद्रोहीले चारैतर्फबाट काबुललाई घेरा हालेपछि केही त्रास बढेको थियो । तर, तालिवानले तत्कालै काबुलभित्र नछिर्ने बयान दिएपछि टकरावको सम्भावना कम भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको विश्लेषण छ ।

‘हाम्रा लडाकु सहरको बाहिरी इलाकामा छन् । तर अहिल्यै, सहरभित्र पस्ने छैनन् । वर्तमान सरकारसँग सत्ता हस्तान्तरण र सुरक्षाको विषयमा हाम्रो कुराकानी चलिरहेको छ,’ तालिवानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि तालिवानका प्रवक्ता  सुहाइल साहिनले कूटनीतिक नियोग र दूतावासहरूलाई तालिवान पक्षबाट कुनै खतरा नहुने बताएका छन् । ‘हामी कुनै पनि देशका कूटनीतिज्ञ र दूतावासलाई निशाना बनाउने छैनौँ । यो कुरा हामीले एकपटक नभएर पटक–पटक विज्ञप्तिमार्फत बताइसकेका छौँ । हाम्रा यी प्रतिवद्धताहरु सञ्चार माध्यममा प्रकाशित भइसकेका छन्,’ उनले भने ।

अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले पनि सङ्क्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गरिने जनाएका छन् ।

‘अफगान जनताले चिन्ता गर्नुपर्दैन... सहरमा कुनै हमला हुँदैन । सङ्क्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुनेछ,’ रेकर्डेड सन्देशमा उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप