शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

अफगानिस्तानबाट आफ्ना नागरिक तत्काल फिर्ता गराउन सरकारसँग आग्रह

आइतबार, ३१ साउन २०७८, १६ : ४६
आइतबार, ३१ साउन २०७८

सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

सत्तारुढ दल नेपाली काँग्रेसका नेता रमेश लेखक र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले अतिवादी समूह तालिवानले अफगानिस्तानमा तनावग्रस्त बनाइरहेका बेला नेपाली नागरिकहरुको उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन गम्भिर भइदिन सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाली काँग्रेस नेता एवम् पूर्वमन्त्री लेखकले नेपाली नागरिकहरुलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गराउन जिम्मेवार भईदिन सरकारसँग आग्रह गरे । 

उनले अफगानिस्तानमा ठूलो संख्यामा नेपालीहरु रहेको उल्लेख गर्दै उनीहरुको जीवन सुरक्षा गर्न सरकारलाई संवेदनशील भइदिन पनि पटकपटक आग्रह गरे । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विदेश विभाग प्रमुख डा. भट्टराईले अफगानिस्तानबाट ढिला नगरी नेपाली नागरिकको स्वदेश फिर्ता गराउने काममा लाग्न सरकारसँग माग गरे ।  द्वन्द्व र हिंसाको चपेटामा परेका आफ्ना नागरिकको जीवन रक्षा गर्ने काममा सरकार जिम्मेवार हुनुपर्ने पनि बताए ।  परराष्ट्रविद् समेत रहेका डा. भट्टराईले अफगानिस्तानमा हिंसा अन्त्य र छिटो शान्ति पुनर्बहालीको माग समेत गरे । 

उता, परराष्ट्रविद् डा. निश्चल नाथ पाण्डेले पनि अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए । 

परराष्ट्रविद् पाण्डेले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य भएको नाताले नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा भएको हिंसा अन्त्यका लागि पहल गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप