शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुर र राजेन्द्र महतो जसपा नेपालको साधारण सदस्यमात्र

आइतबार, ३१ साउन २०७८, २१ : ००
आइतबार, ३१ साउन २०७८

जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर र राजेन्द्र महतोलाई साधारण सदस्यको रुपमा मात्र सीमित गरिएको छ ।जसपाले केन्द्रीय कमिटीलाई अध्यावधिक गर्दै महन्थ ठाकुर, राजेन्द्र महतोलाई साधारण सदस्यका रुपमा सीमित गरेको हो । यसअघि ठाकुर पार्टीका अध्यक्ष थिए भने महतो वरिष्ठ नेताका रुपमा थिए ।

जसपाले निर्वाचन आयोगमा ५१५ जना केन्द्रीय सदस्यको नामावली पठाएको छ । उक्त नामावलीमा महन्थ ठाकुर पक्षका अधिकांशको नाम छैन । जसपा नेपाल पार्टी कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यको सूचीमा उपेन्द्र यादव नेतृत्वका तत्कालीन समाजवादी पार्टी नेपालका चारसय जना छन् भने बाँकी एकसय १५ जनामा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा र अन्य दलबाट आएकाहरु छन् ।

जसपा गठन हुँदा ७७९ सदस्य केन्द्रीय कार्यकारिणी समिति बनाइएको थियो । त्यसलाई अध्यावधिक गर्दा ५१५ मा झारिएको हो । पुरानो केन्द्रीय कमिटीबाट २२८ जनालाई हटाइएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी सदस्य इस्तियाक राईले कतिपय नेताले नागरिकता नदिएको, कतिपयको कागजात अपूर्ण रहेको र कतिपय पार्टी छाडेर हिँडेका र कतिपयको मृत्यु भइसकेका कारण अद्यावधिकका क्रममा ५१५ सदस्य कायम भएको बताए ।

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि केन्द्रीय कमिटीलाई अध्यावधिक गर्नका लागि कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । सोही कार्यदलले ५१५ सदस्यीय कार्यसमिति कायम गरेर पार्टीलाई प्रतिवेदन बुझाएको थियो । पार्टीले त्यसलाई अन्तिम रुप दिइ निर्वाचन आयोगमा बुझाइसकेको छ । कार्यदलका सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवका अनुसार ज–जसले नागरिकतासहितको डकुमेन्ट बुझाए, उनीहरुको छानविन गरी केन्द्रीय समिति सदस्यमा कायम गरिएको छ ।

महन्थ ठाकुर, राजेन्द्र महतोहरूलाई पार्टीको साधारण सदस्यमा राखिएको बताउँदै उनले पार्टीले कारवाही नगरेसम्म उनीहरु पार्टीको साधारण सदस्य रहिरहने बताए । उनीहरुले नयाँ पार्टी गठन गरेमा वा पार्टीको अनुशासन विपरीत कुनै गतिविधि गरेमा भने पार्टीले कारवाही गर्न सक्ने कार्यदलका संयोजक यादवको भनाइ छ ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएर महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्न भनेको थियो । तर निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । यद्यपि ठाकुर पक्षले अहिले पनि जसपाकै ब्यानरमा जिल्ला तथा प्रदेशमा कार्यक्रमहरु गरिरहेको छ । महन्थ ठाकुरले जसपा आफूहरुको पार्टी रहेको दावी गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप