शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा संकट : यस्तो छ नेपालीको स्थिति

आइतबार, ३१ साउन २०७८, १३ : ५८
आइतबार, ३१ साउन २०७८

तालिवानी विद्रोहीहरुको प्रभाव बढ्दै गएपछि अशान्त रहेको अफगानिस्तानमा कार्यरत नेपालीहरु आफूलाई विदेशी निकायले उद्धार गर्ने आशामा बसेका छन् । नेपाल सरकारले आफ्ना नागरिकको उद्धारका लागि कुनै पहल वा निर्णय गरिसकेको छैन । त्यहीकारण विदेशीको भर पर्नुबाहेक अर्को विकल्प पनि नेपालीसामु देखिँदैन ।

‘यहाँ आफ्ना कर्मचारीहरुलाई विदेशी निकायले धमाधम लैजान थालेका छन् । सडक सञ्जालबाट लैजाँदा जोखिम हुन्छ भन्दै उनीहरुले कार्यस्थलमै हेलिकप्टर ल्याउने गरेका छन्,’ काबुलस्थित जर्मनी दूतावासमा कार्यरत एक नेपालीले रातोपाटीसँग भने, ‘एयरपोर्टबाट ५–१० मिनेट टाढा रहेका ठाउँमा पनि हेलिकोप्टर ल्याइन्छ र एयर लिफ्टिङ गरी विमानस्थलसम्म पु–याइन्छ । हामीलाई पनि उनीहरुले यसरी नै उद्धार गर्छन् भन्ने आशा छ ।’

जर्मनी दूतावासमा ३५ जना नेपाली कार्यरत रहेको उनले बताए । जर्मनीले यसअघि नै आफ्ना नागरिकलाई घर फर्कन निर्देशन दिइसकेको छ ।

त्यसैगरी अमेरिकाले पनि काबुलस्थित दूतावासमा आफ्ना कर्मचारी कटौती गरेको छ, दूतावासका कर्मचारी र आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्न उसले तीन हजार सेना काबुल पठाएको थियो ।

भारतले उत्तरी शहर मजार–ए–सरिफमा रहेको आफ्नो कन्सुलेट कार्यालय बन्द गर्दै कर्मचारी तथा आफ्ना नागरिक लिन सैनिक विमान पठाएको थियो ।

बेलायतले ६ दिनअघि र फ्रान्सले एक महिनाअघि नै आफ्ना नागरिकलाई घर फर्कन निर्देशन दिइसकेका छन् । नेपाल सरकारले भने आफ्ना नागरिकको उद्धारका विषयमा कुनै निर्णय लिइसकेको छैन ।

परराष्ट्र मन्त्रालयले झन्डै एक सयको हाराहारीमा नेपालीहरु अफगानिस्तानमा रहेको जनाएको छ । यता, दिल्लीस्थित नेपाली दूतावासले त्यहाँ  १५ सयको हाराहारीमा नेपालीहरु रहेको जनाएको छ । तर, यहाँ अवैधरुपमा बसिरहेका नेपालीहरुको संख्या योभन्दा ठूलो हुन सक्ने अनुमान छ ।

अमेरिकी र नेटो सैनिकको बर्हिगमनसँगै अफगानिस्तान संकटमा फसेको छ । यहाँका, ३४ प्रान्तमध्ये १९ प्रान्तमा तालिवानले कब्जा जमाइसकेको छ । काबुलबाट ५० किलोमिटरको दूरीमा तालिवानले आफ्नो उपस्थिति देखाइसकेको छ ।

आफ्नो घर छाडेर काबुल वा तालिवानको कब्जा नरहेका शहरतर्फ गइरहेका नागरिकहरुले तालिवानको आक्रमणलाई रोक्न अफगानी सेना असफल भएको भन्दै आलोचना गरेका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घनीले  शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै अफगानिस्तानको सुरक्षा बल र सेनालाई फेरि एकजुट गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप