बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

खाग काटिएका अवस्थामा भेटियो मृत गैँडा

आइतबार, ३१ साउन २०७८, १३ : २१
आइतबार, ३१ साउन २०७८

–नारायण अधिकारी

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । 
 
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिए । दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आज मात्रै जानकारी दिएको हो । कम्तीमा दुई महिनाअघि मरेको हुनसक्ने आशङ्का गरिएको छ । 

खाग काटिएको र टाउकोका हड्डीमा गोली लागेको जस्तो चोट देखिएको बताइएको छ । उनले भने, “खाग काटिएका अवस्थामा मृत गैँडा भेटियो ।” नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीले  मृतावस्थामा फेला पारेको हो । यस लगत्तै निकुञ्जको उच्चस्तरको टोलीले अनुसन्धान अघि बढाएको छ । उनले भने, “हामीले अनुसन्धान जारी राखेका छौं ।” कुहिएकाले भाले पोथी पहिचान हुनसकेको छैन । घटना लगत्तै कारागारबाट छुटेका र अन्य शंकास्पदमाथि अनुसन्धान थालिएको छ । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा चार गैँडा चोरी सिकारीले मारेका थिए भने प्राकृतिक कारणले २८ मरेका थिए । चालू आवका साउनमा मात्रै प्राकृतिक कारणले पाँच गैँडा मरेका छन् । यो सहित ६ गैँडा मरेका हुन् । निकुञ्जले गस्ती कार्यलाई तीव्रता दिएको भए पनि चोरी सिकार रोकिन सकेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप