खुर्सानी सेवन स्वास्थ्यका लागि ठिक कि बेठिक ?
हामीले खाने खुर्सानीका सम्बन्धमा समुदायमा विभिन्न धारणा सुन्ने गरिन्छ । कुनै पनि रोग लाग्दा र खासगरी पेटसम्बन्धी रोग लागेमा पिरो, चिल्लो र अमिलो खानु हुँदैन भन्ने मान्यता नै स्थापित भएको छ । तर जे भए पनि खुर्सानी बिना खानाको स्वादै नहुने खुर्सानी पारखीहरूको भनाइ छ । यसबाट के बुझ्न सकिन्छ भने खुर्सानी हाम्रो दैनिक खानामा समावेश गर्नैपर्छ अन्यथा खाना खानाजस्तो हुँदैन । खुर्सानी पारखीहरू खुर्सानी नखाए पनि हेरेर चित्त बुझाउन खाना खाने ठाउँमा हरिया वा राता खुर्सानी राख्न मन पराउँछन् । कसैले अति पीरो स्वाद मन पराउँछन् भने कसैले पीरोको सामान्य मात्रा पनि सहन सक्दैनन् । भारतमा खुर्सानी सेवन अत्यधिक हुनेगर्छ । विश्वमा सबैभन्दा बढी हरियो खुर्सानी उत्पादन गर्ने, उपभोग गर्ने र निर्यात गर्ने देश भारत हो । भारतीय कुनै पनि खाना वा खाजामा खुर्सानी नभए त्यो खाना अपूर्ण भएको मानिन्छ । आखिर खुर्सानी स्वास्थ्यका लागि ठीक वा बेठीक के छ भन्ने सन्दर्भमा सामान्य तरिकाले प्रष्ट पार्ने उद्देश्यले यो आलेख तयार गरिएको छ ।
खुर्सानीका बारेमा बुझ्नुपर्ने कुरा
खुर्सानी एउटा पूरक मसला हो । पिरो हुने भएकाले यसले खानालाई स्वादिलो बनाइदिन्छ । यसका बियाँमा अझ बढी पिरोपन हुन्छ । ताजा हरियो खुर्सानीमा एन्टिअक्सिडेन्ट बढी पाइन्छ भने सुकेकोमा कम पाइन्छ । जब यसको सेवन गरिन्छ यसले जिब्रोमा तातो र दुखाइजस्तो अनुभव गराइदिन्छ । रातो खुर्सानीलाई जडीबुटीको राजा पनि भनिन्छ । हजारौँ वर्ष पहिलादेखि नै यस्तो खुर्सानी स्वास्थ्य समस्या हल गर्न र पौष्टिक पदार्थका लागि प्रयोगमा ल्याइएको थियो । यसमा भएको क्याप्साइसिनभन्ने तत्त्वको घनत्वका आधारमा यसको पिरोपन वा तातोपनको मात्रा निर्धारण हुन्छ ।
खुर्सानीमा भिटामिन सी, बी ६, फाइबर र म्याग्नेसियमको उच्च मात्रा पाइन्छ तर यसलाई पकाएमा भिटामिन सी नष्ट हुन्छ । त्यसैले हरियो खुर्सानीलाई सकभर काँचै खानु लाभदायक छ । गाढा रातो खुर्सानीमा प्रशस्त मात्रामा पाइने क्याप्साइसिन भन्ने तत्वले रक्तनलीको कार्यमा सहयोग गर्दछ । यसले रक्तनलीको मांसपेशीलाई समेत लचकदार बनाई रगत प्रवाहलाई सजिलो बनाइदिन्छ । यसले गर्दा रक्तचापसमेत नियन्त्रण हुन्छ ।
खुर्सानी खानु स्वास्थ्यका लागि निकै राम्रो छ तर एकै पटकमा बढी सेवन गरियो भने पेट दुख्ने, पोल्ने र दिसा गर्दा पोल्ने हुन्छ । रगत पातलो बनाउने औषधि र उच्च रक्तचापको औषधि सेवन गरिरहेका व्यक्तिले भने सकभर यसको प्रयोग नगर्दा राम्रो मानिन्छ ।
खुर्सानीमा पाइने विभिन्न खालका तत्त्वहरू सुरक्षित गरी राख्न घाममा सुकाउने, सुक्खा बनाउने, अचार बनाई राख्ने जस्ता उपाय अपनाई सबै सिजनमा यसको सेवन गर्न सकिन्छ । खुर्सानीमा पाइने क्याप्साइसिन तत्त्वमा औषधीय गुण पनि पाइन्छ । यजसले दुखाइ कम गर्ने औषधीको रूपमा समेत काम गर्छ र यो तत्त्वबाट मालिस गर्ने मलम बनाउने र चिसो तथा रुघाखोकीका लागि नाकमा स्प्रे गर्ने औषधिसमेत बनाइन्छ ।
खुर्सानीका रङ्ग र प्रकारहरू
खुर्सानी विभिन्न प्रकारका र रङ्गका हुन्छन् । यो देश र ठाउँअनुसार फरक फरक खालको हुन्छ । तीमध्ये घण्टी वा अकबरे खुर्सानी एउटा महत्त्वपूर्ण फाइदाजनक खुर्सानी हो, जुन विभिन्न रङ्गमा पाइन्छ । हरियो, रातो र पहेँलो रङ्गमा पाइने असाध्यै पिरो यो खुर्सानीमा प्रशस्त भिटामिन सी लगायतका तत्त्वहरू पाइन्छन् । यसैगरी विश्वमा रातो लामो खुर्सानी, हरियो खुर्सानी, गाढा बैजनी, कालो, पहेँलो, डल्लो, जिरे खुर्सानी, पिरो र कम पिरो खुर्सानी जस्ता विभिन्न रूपरङ्ग, विशेषता, आकार प्रकारका खुर्सानीहरू गरी करिब ४ हजार प्रकारका खुर्सानी पाइन्छन् ।
खुर्सानी सेवन गर्नुका फाइदाहरू
खुर्सानीमा पाइने तत्त्व क्याप्साइसिनका कारण पिरो हुने गर्छ । खुर्सानीमा पाइने एन्टिअक्सिडेन्ट् लगायत विभिन्न तत्त्वहरूका साथै पिरो बनाउने क्याप्साइसिन तत्त्वले स्वास्थ्यमा पार्ने फाइदाहरू यसप्रकार छन्–
̵ खुर्सानीको सेवनले मेटाबोलिज्मको दर (कोषभित्र हुने पाचन) बढाइदिन्छ र बिस्तारै बोसो घटाउने र तौल कम गराउने काम गर्छ ।
̵ श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाई अक्सिजन लिने प्रक्रिया बढाउँछ, भोक लगाउने प्रक्रिया कम गर्छ र शरीरको तापक्रम बढाउनुका साथै क्यालोरी जलाउने काम गर्छ ।
̵ सुजन वा इन्फ्लामेसन घटाउँछ । कोषमा पाइने फ्री रेडिकल्स् कम गराउँछ र क्यान्सर, अटोइम्युनमा आएको खराबी, स्ट्रोक, मुटुका रोग कम गराई जीवन आयु बढाइदिन्छ ।
̵ दुखाइ कम गर्नका लागि पनि क्याप्साइसिन प्रयोगमा ल्याउन सकिन्छ । यसले दुखाइ थाहा दिने ग्राहक कोषलाई उत्तेजित बनाइदिन्छ र बिस्तारै दुखाइप्रति कम चेतना मिल्छ । यसलाई दुखाइ कम गर्न लगाउने मलमको रूपमा प्रयोग गर्न पनि सकिन्छ । यसका साथै जोर्नीको समस्या, बाथ, हाडका समस्या, मधुमेह रोगीलाई हुने नशाका समस्या, स्नायुका खराबी आदिमा समेत यो मलम छालामा प्रयोग गर्न सकिन्छ ।
̵ यसमा पाइने पोटासियम र फोलेटले मुटुका रोगहरूको जोखिम घटाउनुका साथै स्वस्थकर कोलेस्ट्रोललाई नियमित गराउने, रक्तनलीलाई आराम र लचक बनाई रक्तचाप कम गर्नसमेत मद्दत गर्छ ।
̵ पाचनप्रणालीको सङ्क्रमण हुन नदिने, पाचन रसहरू बढी उत्पादन गराउने, आमाशयको स्नायुलाई उत्तेजित बनाई सक्रिय बनाउने, अम्लपित्त, पेप्टिक अल्सर हुनबाट बचाउने, एच. पाइलोरी (अल्सर बनाउने किटाणु) लगायत अन्य किटाणुलाई पनि मारी अल्सर निको बनाउने र पाचनप्रणालीको समग्र स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ ।
̵ शरीरको अटोइम्युन रोगका कारण उत्पन्न हुने सोरियासिस् जस्तो निको नहुने खालको छालाको समस्यामा क्याप्साइसिन मलम लगाउनाले केही सुधार हुन्छ ।
̵ क्यान्सर गराउने कोषको उत्पादनलाई कम गराई प्रोस्टेट, प्याङ्क्रियाज र छालाको क्यान्सरको जोखिम कम गर्छ ।
̵ यो मसलाको रूपमा तरकारीमा राखेर, सलाद बनाएर आफूले खाने नियमित खानामा सजिलै समावेश गरेर खान सकिन्छ । खानालाई स्वादिलो बनाउने र जिब्रो तथा पाचन प्रणालीलाई सक्रिय बनाउँछ ।
̵ खुर्सानीको सेवनले यसमा पाइने बिटा क्यारोटिन र प्रो भिटामिन ए को असरले छालामा हुने दाद, डण्डीफोर, छाला चाउरी पर्ने समस्या, काला दागहरू आदि निको बनाउने, रुघाखोकी निको बनाउने, आँखाको स्वास्थ्य राम्रो बनाउने, पर्याप्त रक्तसञ्चालन गर्ने तथा भिटामिन सीले गर्दा रौँ र छाला चमक तथा स्वस्थ बनाउने, अल्जाइमर्स र डिमेन्सिया जस्ता रोगको सम्भावना कम गर्ने र मस्तिष्कको कार्यक्षमता बढाउने, यसमा पाइने एन्टिब्याक्टेरियल गुणका कारण पिनासलाई राम्रो बनाउने, माइग्रेन जस्तो टाउको दुखाइ कम गराउने र जीवनआयु बढाउने काम गर्छ ।
̵ खाना स्वादिलो बनाउने, तातो अनुभव गराउने र इन्सुलिनलाई नियमित बनाई दोस्रो प्रकारको मधुमेह रोगको जोखिम समेत घटाउँछ ।
̵ खुर्सानीमा पाइने कपर, फोलिक एसिड र आईरनले राता रक्तकणको वृद्धि र विकास गराइ रक्तअल्पता हुन नदिने, गर्भवती र गर्भको बच्चाको स्वास्थ्यमा समेत फाइदा पु¥याउने काम गर्छ ।
̵ खुर्सानीमा पाइने क्याप्साइसिन तत्त्वले इन्डोर्फिन हर्मोन उत्पादन गराई मुड ताजा बनाइदिने, सकारात्मक मुड बनाइदिने र डिप्रेसन जस्तो रोग लाग्नबाट बचाउँछ ।
खुर्सानी सेवनका असर
खुर्सानीको सेवन धेरैलाई राम्रो र फाइदाजनक भए पनि कसैका लागि नराम्रो पनि हुनसक्छ । खुर्सानी खाने बानी परेकालाई यसको पिरोको असर कम देखिन्छ तर खुर्सानी खाने बानी नहुनेहरूलाई यसको सेवनका केही असरहरू पनि हुनसक्छ । खुर्सानीको सेवनले पसिना आउने, जिब्रोमा पोल्ने भए पनि यसले त्यति ठूलो असर त गर्दैन तर सामान्यतया यसको बढी मात्रामा सेवन गरेमा अधिकांशमा देखापर्ने केही असर यसप्रकार छन् ।
̵ पेट पोल्ने : खुर्सानीको सेवन गर्दा कसैलाई मुखदेखि मलद्वारसम्म पूरा पाचन प्रणालीमा जलन हुनसक्छ । अम्लपित्तका केही रोगीहरूमा यस्तो लक्षण अझ बढी हुनसक्छ र कसैलाई घातक पनि हुनसक्छ । यदि पाचन प्रणालीले यस्तो जलन बिस्तारै सहन गर्न सक्यो भने अस्वाभाविकप्रति असर र अनुभवहरू कम हुँदै जान्छन् ।
̵ आँखा तथा छालामा पोल्ने : खुर्सानी चलाउँदा, छुँदा र नाक मुखमा लैजाँदा यसले आँखा, महत्त्वपूर्ण अङ्ग तथा छालासमेत पोल्न सक्छ । यसमा पाइने क्याप्साइसिन तत्त्वका फाइदाहरू बढी भए पनि उत्तिकै मात्रामा दुःखपूर्ण पनि छ ।
̵ शारीरिक तापक्रम बढ्ने : एकै पटकमा अलि धेरै खुर्सानी खाएमा यसमा पाइने क्याप्साइसिनको मात्रा बढी हुन सक्छ र शरीरको तापक्रम बढ्न सक्छ । यस्तो बेलामा रक्तचाप उच्च हुन सक्छ । खाने समयमा यसरी तापक्रम बढेर गर्मी महसुस् भए पनि वास्तवमा यसले शरीरमा तापक्रम नियन्त्रण गर्ने र चिसोपन बनाउँछ । तैपनि खुर्सानी सेवनका कारण देखिने यी समस्या हटाउन सुरुमा थोरै मात्राबाट खुर्सानीको सेवन सुरु गरी बिस्तारै आफूले चाहे जति मात्रा मिलाउन सकिन्छ । क्याप्साइसिनको मात्रा २–६ मिग्रा प्रतिदिन लिनु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
अन्त्यमा,
खुर्सानीमा पाइने विभिन्न तत्त्वहरू, खनिज, भिटामिन र शारीरिक रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्त्वहरू प्राप्त गर्न खुर्सानी नै खानुपर्छ भन्ने छैन । तर खुर्सानी सेवन गर्दा खाना स्वादिलो हुने, समग्र पाचन प्रणालीलाई सक्रिय राख्ने भएकाले यसका बेफाइदाभन्दा फाइदाहरू नै बढी छन् । आफ्नो शारीरिक अवस्था र क्षमताअनुसार खुर्सानी खान सकिन्छ । अनावश्यक र बढी मात्रामा खुर्सानी सेवनले बेफाइदा नै गराउँछ । त्यसकारण आफ्नो अवस्थाअनुसार खुर्सानी सेवन गरौँ, मन नपरे नगरौँ र स्वदेशी उत्पादनलाई ध्यान दिऔँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट