सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय

मेरो देश स्विजरल्यान्डभन्दा स्वर्ग छ, तर...

आइतबार, ३१ साउन २०७८, ०९ : ०४
आइतबार, ३१ साउन २०७८

स्विजरल्यान्डलाई कर्मथलो बनाएको दुई दशक बितिसक्यो । यात्रामा रुची राख्ने विश्वका मानिसहरुका लागि स्विजरल्यान्ड ‘ड्रिमल्यान्ड’ हो । विश्वका १० मिलियन पर्यटक वार्षिक स्विजरल्यान्डको भ्रमणमा निस्कन्छन् । मलाई लाग्छ, यसको राज स्विजरल्यान्ड सरकारले प्राकृतिक सौन्दर्यलाई ह्रास नपुर्याई गरेको विकास हो । गन्तव्यमा पुग्नको लागि बनाइएको छरितो र सुविधायुक्त प्रविधि हो ।

यसको एउटा उदाहरण – १२० डिग्रीको स्टोस पहाडको कान्लामा ट्रेन दौडन्छ । स्विजरल्यान्डको ल्यान्डस्केप कुनै कलाकारले चित्र कोरेर राखेको किताबजस्तो लाग्छ । व्यवस्थापन राम्रो भए पर्यटकको जतिसुकै भीड भए पनि प्रकृतिको सौन्दर्य भत्किँदैन भन्ने पाठ सिकाउँछ स्विजरल्यान्डले ।

मलाई भने वर्षको कम्तीमा दुईपटक नेपालको भ्रमण नगरेसम्म आफैसँग छुटिएजस्तो लाग्छ । नेपालका गन्तव्यहरुमा लिन हुँदा जति आनन्द आउँछ, त्यति विश्वका सायदै देशको यात्रामा आउला । 
नेपालको मौसम र प्राकृतिक सौन्दर्यको विविधता पर्यटकीय हव स्विजरल्यान्डको भन्दा अतुलनीय उचाइमा छ । यही अर्गानिक स्वाद चख्नका लागि मैले बहाना बनाइरहेको छु – जर्मनी र स्विस पर्यटकको गाइड । यस वर्ष भने म पर्यटकविनै नेपाल आएँ । गाइड नभएर, मात्र पर्यटक बनेर बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सयर गर्न । 

फराकिलो फाँटमा चित्तलका बथान सल्बलाएको कल्पना मेरो साँघुरो मनले कैयौँ वर्षदेखि गर्दै आएको थियो । जसरी खप्तड र ढोरपाटन शिखर आरक्षले वर्षौंदेखि तानिरहेको छ ।

मैले स्कुलमा पढ्दा शुक्लाफाँटा वन्यजन्तु आरक्ष थियो । पछि बस्ती उठाएर राष्ट्रिय निकुञ्ज बनाइयो । जहाँ गत अप्रिलको पहिलो हप्ता म उभिएँ । तर, कल्पना विपरीत शुक्लाफाँटाको अस्तव्यस्तताले मेरो मन कुदायो । यति सुन्दर ठाउँमा यस्तो कुरुप दृश्य ! उफ् कस्तो अत्यासलाग्दो ।

०००

गत वर्षको फेब्रुअरीमा लाङटाङ ट्रेक गरेको थिएँ । गोसाइँकुण्डबाट झरलहरुसँग खेल्दै लाङटाङ झर्दा देखिएको रेड पाण्डा स्मरणमा अमिट भनेर बसेको छ । संसारबाटै लोपोन्मुख रेड पाण्डालाई कालो क्यामेरामा कैद गर्न नसकेकोमा भने थकथकी लागेको छ ।

गणेश, दोर्जे लाक्पाजस्ता हिमाल अगाडि फैलिएको लाङटाङ भ्याली निकै मनमोहक छ । व्यवसायीकरण भैसकेको छैन । अर्गानिक लाङटाङ राष्ट्रिय निकुञ्ज मसी नछर्किएको सेतो कपडाजस्तै सफा छ । जानुभएको छैन भने काठमाडौंबाट एक हप्ताको प्याकेजमा पुगेर त हेर्नुस् । 

लाङटाङ सम्झँदै गर्दा याद उछट्टिएर सगरमाथा राष्ट्रिय निकुञ्ज उक्लियो । तर, यो कुञ्जसँग मेरो चार पटकसम्म दर्शन भैसकेको छ । त्यसैले यहाँको अनुभुति पनि मसँग सगरमाथाजस्तै अग्लिएको छ । जति धेरै संसर्ग, उति धेरै अनुभूति । कि कसो ?

मैले बुझेसम्म बाह्य पर्यटकका लागि सगरमाथा अन्तिम गोल हो । लाङटाङ, मकालु वा अन्नपूर्ण पदमार्गलाई ‘डेस्टिनेसन’ मानेर विरलै पर्यटकहरु नेपाल भित्रिन्छन् । 

सगरमाथा बेसक्याम्प पुग्नका लागि लुक्लाबाट पैदलयात्रा शुरु गर्नु मनासिव हुन्छ, जहाँबाट फाइनल गोलको मजा लिनका लागि मकालु शेर्पा संस्कृतिलाई अङ्गीकार गर्दै १० देखि १४ दिनको यात्रा पर्याप्त हुन्छ । 

तपाईं सगरमाथाको यात्रा योजनामा हुनुहुन्छ भने गोकियोतर्फ लाग्न नभुल्नुस् । यो ठाउँ मलाई अद्भुत लाग्छ । गोकियो ताल ! सूर्योदय ।  र, रातो किरणसँगै तालको छेउमा बसेर आठ हजार मिटर उचाइका रेन्जसहितका दन्तलहर हेर्दा तपाईंको मुखबाट अनायास फुत्कन्छ – वाउ !


र, त्यहीँबाट औँला तेर्स्याएर दन्तका नाम उच्चरण गर्न थाल्नुस् – चोयु हिमाल, लोत्से, नुप्से, आमाडब्लम, सगरमाथा..... । यो पो हो नेपाल ! नेपालको यो दृश्यसँगै विभोर नहुने पर्यटक कुनचाहिँ होला !

सगरमाथा बेसक्याम्प त खोँच हो । हिमालले घेरिएको खोँच । या यसो भनौँ – हिमालय गुफा । तर, कालापत्थरमा पुगेर उभिँदा सेता हिमालहरु तपाईंका ऐना बन्छन् । यसले अन्नपूर्ण बेसक्याम्पको याद दिलाउँछ ।

अन्नपूर्ण बेसक्याम्प छाडेर, एकछिन अन्नपूर्ण पदमार्गतिर यात्रा गरौँ ।

केही वर्ष पहिले जर्मनीको गाइड बोकेर म अन्नपूर्ण पदमार्गतर्फ निस्किएको थिएँ । काठमाडौंबाट जिपमार्फत लमजुङको बुलबुले पुगेर पैदल यात्रा थाल्यौँ ।

मनाङ हुँदै थोराङ पास गरेर मुक्तिनाथ, कागबेनी हुँदै जोमसोम निस्कनका लागि हामीले २१ दिन उपयोग गरेका थियौँ । पछिल्लो समय म यो मार्गमा हिँड्दा आन्तरिक पर्यटकको उपस्थिति बाक्लो थियो । बाह्य पर्यटक भने कताकति मात्र । 

अन्नपूर्ण हिमालयका तीनवटा हिमाल र चारवटा पहाडलाई परिक्रमा गरिने भएकाले यसलाई अन्नपूर्ण पदमार्ग भनिएको हो । यति हिँडेपछि मजा नआउने त कुरै भएन । दैनिक जिजीविषालाई पन्छाएर स्वच्छन्दपूर्वक यात्राको वर्णन ‘आनन्ददायक’ शब्दले मात्र पुग्दैन ।

अब भने अन्नपूर्ण पदमार्गमा पश्चिमा पर्यटकहरुको चाप नगन्य हुन्छ । त्यो किनभने, पैदलयात्री भन्दा मोटरसाइकल र गाडीमा पुग्नेहरुको संख्या ठूलो छ । केही वर्षमा थोराङ लासम्मै मोटरबाटो पुग्ला । त्यसपछि जुनसुकै उमेरका मानिस सवारी चढेर सहजै १७ हजार ७ सय ६९ फिट उचाइमा पुग्नेछन् । 

मोटरबाटो पुग्नुसँग मेरो गुनासो छैन । त्यसले स्थानीय जनजीवनलाई पनि सहज बनाउँछ । तर, धुलैधुलोले ढाकिएको पदमार्ग, बाटैभरि प्लास्टिकका प्याकेट र मदिराका बोतल, दुर्गन्ध र अव्यवस्थित पूर्वाधारहुँदै हिँड्न र अवलोकन गर्न पक्कै पनि पश्चिमा पर्यटक आउनेछैनन् ।

त्यसैले, यो पदमार्गमा पर्यटकलाई वातावरण संरक्षित चेतना जगाउन र वैकल्पिक पदमार्गको ट्रयाक खोल्न जरुरी देखिन्छ । नत्र अन्नपूर्ण सर्किट पदमार्ग नभएर पार्टी प्यालेस हुँदैछ ।

अन्नपूर्ण सर्किटमा मात्र होइन सगरमाथा, लुक्लालगायतका मनमोहक पर्यटकीय ठाउँमा पनि रक्सी र वियरका सिसीको अर्को पहाड ठडिएका छन् । प्लास्टिकको प्रयोग अत्याधिक छ, जसले दुर्गन्धित बनाएको छ ।
यस्ता ठाउँहरुमा प्लास्टिक निषेध गर्नुपर्छ, सिसीको रिसाइक्लिङको व्यावस्था सरकारले लिनुपर्छ । कतिसम्म भने लुक्ला एयरपोर्टकै नजिक बोतलको धरहरा छ । कवाफमा हड्डी त सुहाउँदैन नि !

०००
म शुक्लाफाँटाबारे लेख्न बसेको थिएँ । तर, म त विगतको यात्रा संस्मरणमा हराउन थालेछु । शुक्लाफाँटाबारे बताउने नै छु । तर, यति लेखिसकेपछि मानसरोवरको अद्भुत दृश्यबारे नबोल्ने हो भने म अधुरो हुनेछु । हुम्ला सिमिकोटदेखि मानसरोवरसम्मको छोटो वर्णणले पक्कै पनि तपाईंलाई ‘बोरिङ’ बनाउने छैन ।

यदि यात्रामा रुचि राख्नुहुन्छ भने एकपटक मानसरोवर पुग्नैपर्छ । यात्रा नभएर त्यो तपाईंका लागि एक प्रकारको मेडिटेसन नै हुनेछ । जिन्दगीमा संग्रहनीय स्मरण हुनेछन् । मलाई त लागेको थियो । यदि स्वर्ग भन्ने कहीँ छ भने त्यो मानसरोवरको यात्रामा भेटिएको छ ।

अहिले त काठमाडौंबाट मानसरोवरका लागि छोटा बाटा बनिसकेका छन् । एक हप्ता मात्रै समय निकाल्दा पनि काफी हुन्छ । हामी भने हुम्लाको सिमिकोट एयरपोर्टबाट मानसरोवरतर्फ सोझिएका थियौँ । यो साढे दुई दशकअघिको कुरा हो । कस्तो भने स्मरण भने ताजै जस्तो । 

सिमिकोटबाट केही माथि उक्लिएर धारापारिको ठकुरी बस्तीमा पुगेका थियौँ । जहाँ मंगोलियनको बसोबास तुलनात्मकरुपमा निकै कम छ । त्यसभन्दा अलिमाथि उक्लिएर बुद्धिस्ट संस्कृतिलाई नजिकबाट अनुभूत गर्याैं । 

नेपाल र तिब्बतको सीमाभन्दा निकै वर ‘यारी’ गाउँमै नेपालको भन्सार कार्यालय थियो । यस्तो लाग्थ्यो गाउँ नभएर नेपाल र चीनको सीमा नै यही हो । नेपाल प्रहरीको चेक पोस्ट पनि त्यहीँ थियो । कर्णाली नदीले यो बस्तीको टोपी लगाएको छ, अगाडि अपु सैपाल हिमाल अग्लिएको छ । त....ल खोँचमा धागो तानेजस्तो देखिने कार्णनिल मितेरी पुल । अजवको कम्बिनेसन ।

यारीबाट करिब चार घण्टाको पैदलयात्रापछि हामी ‘नारा ला’ लेक पुग्यौँ । हाम्रो भाषामा ‘नारा ला’ लाई भञ्ज्याङ सम्बोधन गर्दा उपयुक्त होला । तर, मलाई ‘नारा ला’ कुनै अद्भुत द्वारजस्तो लाग्यो । मानौं स्वर्गको द्वारजस्तो । (यदि स्वर्गको परिभाषा सबैभन्दा मनमोहक हो भने मात्र) 

वारि नेपाल । हरियाली गल्छेंडो, पहाड र हिमालहरु । तर, द्वारपारि पूरै तिब्बतको फराकिलो र थुम्कोसहितका उच्च समस्थली ल्यान्डस्केप । सुख्खा, रातोमाटोको मरुभूमिजस्तो जमिन । झुरुप्प झुरुप्प बस्ती । बस्ती छेउछाउ कताकति हरिया बुकी । फहराइरहेका रंगीविरंगी बुद्धिस्ट झण्डाहरु । र, पा...रि जमिनसँगै टाँसिएको नी...लो गगन । बाटोमा याकहरुको घण्टी । अर्कै ब्रह्माण्डमा प्रवेश गरेजस्तो । त्यो दृश्यले मेरो मनकै अर्को ढोका खुलेजस्तोे आभाष भएको थियो । 

तिब्बतको बाटो हुँदै मानसरोवर पुग्दा नितान्त फरक संस्कृतिसँग साक्षात्कार गर्ने अनुपम अनुभूति सँगाल्न पाइन्छ । यसै पनि मान सरोवरलाई सेन्टर अफ द युनिभर्स भन्छन् । धार्मिक हिसाबमा होली प्यासलेसको रुपमा चिनिन्छ मानसरोवर । 

दुई दिनको सवारी यात्रापछि हामी मानसरोवर नजिकै पुग्यौँ । त्यहाँ पुगेपछि यस्तो आत्मविश्वास आउन थाल्छ कि म जे पनि गर्न सक्छु । फेरि पनि भन्छु, त्यो स्वर्गीय आनन्दको यात्रा थियो ।

अब म मानसरोबारबाट सीधै समुन्द्री सतहदेखि १७४ मिटरको उचाइमा रहेको शुक्लाफाँटामा झर्छु । तराईका चितवन, कोसीटप्पु वन्यजन्तु आरक्षण, कञ्चनजंगा, बरुण, बर्दिया राष्ट्रिय निकुञ्जको अनुभूतिपछि म शुक्लाफाँटा पुगेको थिएँ ।

शुक्लाफाँटा काठमाडौंको पनि सहज पहुँचमा छ । महेन्द्रनगरको विमानस्थलबाट मात्र छ किलोमिटरको दूरीमा । शुक्लाफाँटा विशाल घाँसे मैदानका रुपमा जति लोकप्रिय छ । बाह्रसिंगेका लागि पनि उत्तिकै प्रख्यात छ ।

चर्चित भनाइ छ नि – फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन । मलाई शुक्लाफाँटाको गेटले नै ङिच्च पारिदियो ।

भिजिटर बस्ने ठाउँ पनि डम्पिङ साइडजस्तो । तर, पनि मलाई फाँटसम्म पुग्नु त छँदै थियो । जसका लागि एक सय रुपैयाँको टिकट लिएर साल र झाडीको जङ्गलै जङ्गल करिब २० किलोमिटर जिपको यात्रा गर्नुपर्दोरहेछ ।

मलाई जङ्गल पसेपछि राष्ट्रिय निकुञ्जभन्दा पनि पिकनिक स्थलजस्तो पो लाग्यो । मानिसहरु स्पिकर लगाएर नाचिरहेका छन् । चुरोट उडाइरहेका छन्, रक्सी पिइरहेका छन् । फोहोर व्यवस्थापनसम्मको पनि चेत छैन उनीहरुसँग ।
मानिसहरु निकुञ्जमा कोलाहाल सुन्न होइन कि प्रकृतिको रसास्वादनका लागि पुग्छन् । वन्यजन्तु तथा चराचुरुङ्गीको ठाउँमा पुगेर कोलाहल मच्चाएपछि उनीहरुलाई डिस्टर्ब हुँदैन ?

निकुञ्जभित्र निजी सवारी हुइँकिरहेको थियो । त्यो पनि गाइडबिनाको । सवारीले बेपरवाह हर्न बजाइरहेका । 

मैले त्यहीँ पुगेर देखेँ कि सांसद र स्थानीय तहका राजनीतिक टिमको करिब एक दर्जन सेतो स्करपियो तीव्र गतिमा गुडिरहेका थिए । तर, उनीहरु रातिसम्म फर्किएनछन् । जङ्गलमै बाटो हराएछन् ।
खबर पाएपछि उनीहरुलाई उद्धार गर्न अर्को निजी कार हिँड्यो । त्यो जङ्गलको बाटो छिचोल्न होचो कारलाई मुस्किल छ । त्यो कार पनि कतै बाटोमै अड्कियो ।त्यसपछि बल्ल राति अबेर गाइड उनीहरुको उद्धारमा पुग्नुपर्यो ।

एकजना व्यवस्थापकले मलाई भने, ‘हामीले निकै ठूलो राजनीतिक दबाब झेल्नु परिरहेको छ ।’ 

                                                                                                           शुक्लाफाँटा

एक त राष्ट्रिय निकुञ्जमा सेतो वा रङ्गीचङ्गी गाडी लैजान पाइँदैन । हरियो वा आर्मी रङको गाडी मात्र राष्ट्रय निकुञ्जका लागि अनुमति हुनुपर्छ । निजी गाडीका लागि प्रवेश निषेध हुनुपर्छ । र, गाइडको पनि हरियो रङकै पहिरन हुनुपर्छ । यो अन्तराष्ट्रिय नियम नै हो । तर, त्यहाँ त गाइडहरु पहेलो रङको कपडामा पो हिँडिरहेका थिए ।

निकुञ्जभित्रको अस्तव्यस्तताले यत्रतत्र, सर्वत्र मयूरहरु पनि स्वच्छन्दतापूर्वक नाच्न नसकिरहेजस्तो लाग्थ्यो । जङ्गलमा देखिएका दर्जनौं प्रजातिका चरा र हुके चील, घोल्च, हरिण, रतुवालगायतले नयाँ अनुभुति भने दिलायो । 

जब फाँटमा पुगेँ, विशाल घाँसे मैदानको दृश्यले मुस्कुराएँ । त्यतिबेला म एसियाकै सबैभन्दा विशाल घाँसे मैदानमा थिएँ । जसलाई नाङ्गो आँखाले हेरेर भ्याउन सकिँदैन । 

केही छिन घाँसमाथि नै बिसाइ मारेँ । मैले कल्पना गरेजस्तै हुलका हुल जरायोहरु फाँटमा दौडिरहेका थिएँ । टाढैबाट भए पनि बाह्रसिंगेको जमात देख्ने दुर्लभ मौका पाएँ ।
शुक्लाफाँटा एउटा यस्तो ठाउँ हो, जहाँ बाघलाई पनि जरायोको शिकार गर्नका लागि प्रशस्त रनवे पुग्छ अनि बाघको पञ्जाबाट फुत्कन वा भाग्नका लागि जरायोका लागि पनि प्रशस्त ठाउँ छ । 

मेरो गाइडले भन्नुभयो, ‘त्यो दृश्य निकै रोमाञ्चककारी हुन्छ । दर्जनाैँ पटकको प्रयासमा पनि बाघले आफ्नो शिकार नपाउन सक्छ ।’

तर, यो दृश्य भने मैले हेर्न पाइनँ ।

निकुञ्जमा लगाएको डढेलोले भने मन भाँचियो । घाँस आउँछ भनेर डढेलो लगाएको रे ! राष्ट्रिय निकुञ्जमा कहिल्यै पनि डढेलो लगाइँदैन । डढेलोले एक त जीवहरुको नास हुन्छ, अर्कोतर्फ बुट्यानहरुको सत्यनास हुन्छ । एउटा सिसौ बयस्क बन्न कति समय लाग्ला ? डढेलोपछिको देखिने बिरुपताको त कुरै छाडौँ ।

हामीले भने यत्रतत्र छरिएका प्लास्टिकलाई डस्बिन जम्मा गरेर आगो लगायौँ । अनि फर्कियौँ । 

शुक्लाफाँटा यस्तो निकुञ्ज हो, जहाँ सम्भावनाका अनेकन खानी छन् । शुक्लाफाँटामा जङ्गल र घाँसे मैदान मात्र होइन, ताल, खोला र ससाना झरनाहरुले पनि त्यसको सौन्दर्यलाई थप परिभाषित गरेको छ । शुक्लाफाँटा बन्यजन्तुको लागि ‘प्याडाइज’ हो । तपाई त्यहाँ मयुरसँगै नाच्न सक्नुहुन्छ र बाह्रसिंगे सँगै दौडिन ।

हामीले पर्यटकीय देश भनेर मात्र हुँदैन । हिमाली होस् या पहाडी र तराईका पर्यटकीय क्षेत्र नै किन नहुन् प्रदूषणबाट जोगाउन जरुरी छ । जनकपुरबाट रारासम्म प्रदूषण पुगिसकेको छ ।अहिले विरुपता हुने तीव्र गतिबाट बचेको माथिल्लो डोल्पा मात्र हो ।
साँच्चिकै पर्यटनमा सम्भावना खोज्ने हो भने विमानस्थलबाटै सुधारको जरुरी छ । प्रकृतिको दुष्प्रयोग होइन कि सौन्दर्य नबिगारी प्रयोग मात्र गर्नुपर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनार्दन गौतम
जनार्दन गौतम
लेखकबाट थप