सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एनआरएन महासचिव शर्माद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

शनिबार, ३० साउन २०७८, २२ : १२
शनिबार, ३० साउन २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको महासचिव भएपछि आफूले सुरू गरेका रुपान्तरणका प्रयासलाई थप संस्थागत गर्न आवश्यकता महशुस भएको भन्दै शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘संस्थाका महासचिवको जिम्मेवारी लिएपछि सबैलाई केही अनुभूति हुने गरी काम गर्ने छु भन्ने प्रतिबद्धतासहित आएको थिएँ, त्यसको परिणाम सबैतिर दिन थालेको छ’ डा. शर्माले भने, ‘संस्थामा सुरुवात भएका एजेन्डालाई थप निष्कर्षमा पुर्याउनुपर्ने जिम्मेवारी पनि आफ्नै हो भन्ने लागेर चुनावी मैदानमा जाने निर्णय गरेको छु ।’

उनले रातोपाटीसँग थप भने, ‘मैले संस्थामा केही परिवर्तन गर्छु भनेर सार्वजनिक गरेका प्रतिबद्धताहरू पूरा हुने अवस्थामा छन् ती एजेण्डाको स्थायित्व र संस्थागत गर्न चुनौती छन् । आगामी कार्यकालमा अहिले सुरुवात गरिएका कामहरूलाई पूर्ण रूपमा संस्था गर्नेमा लाग्नेछु’ शर्माले भने ।

डा. शर्माले महासचिवको बागडोर समालेपछि स्मार्ट एनआरएनए अन्तर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पञ्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्वपूर्ण निर्णयहरु विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका छन् ।

कुशल प्रशासक समेत रहेका डा.शर्माले काठमाडौंस्थित संघको सचिवालयलाई चुस्त राख्न र पुनरसंरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । डा. शर्माले विश्वव्यापी कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघ समक्ष पुगेर गैरआवासीय नेपाली संघलाई पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायसँग सहकार्यको सुरुवात गरेका थिए ।

बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल समेत हासिल गरेका छन् । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए। संघका संस्थापक नेताहरु तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुलेका शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

१५ भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए । डा.शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप