शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको विश्लेषण : देउवा सरकार अल्पमतमा पर्न सक्छ

कम्तिमा आगामी चुनावसम्म गठबन्धन कायमै राखिने
शनिबार, ३० साउन २०७८, १४ : ५२
शनिबार, ३० साउन २०७८


सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन् । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण  छ ।

माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए ।  परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन् ।

‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा भने,‘ यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन ।’

सरकारको गणितबारे चर्चा गर्दै प्रचण्डले अगाडि भने, ‘जसपाले वैधानिकता पाएकाले २० सांसद छन् । काँग्रेस र हाम्रा सांसद १११ छन् । सबै जोड्दा १३१ मात्र पुग्छ, यत्ति हो । यसरी हेर्दा हामी अल्पमतमा छौँ ।’

‘सरकार विस्तार माओवादीका कारण ढिलो भएको होइन’

सरकार गठन भएको एक महिनासम्म मन्त्रिमण्डल विस्तार नहुनुमा माओवादी पार्टीको कुनै दोष नरहेको प्रचण्डको भनाइ छ । प्रधानमन्त्रीले नाम माग्नासाथ स्थायी कमिटीको बैठक राखेर मन्त्रीका नाम दिन सक्ने प्रचण्डको तर्क छ ।

प्रचण्डले भने, ‘दलभित्रको अवस्थाका कारणले ढिलो भएको हो, हाम्रो कारणले ढिलो भएको हैन ।’

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको कारण बताउँदै प्रचण्डले भने, ‘कहिले जसपाको आधिकारिकता विवाद त कहिले एमालेको अन्तरसंघर्षले स्वरूप लेओस् भनियो ।अहिले प्रधानमन्त्री आफैँले काँग्रेस कार्यसमितिको बैठकपछि गरौँ भन्नुभएको छ ।’  

प्रचण्डले पार्टीको बैठकमा माधव नेपालबारे खासै बोलेनन् । उनले यत्ति मात्र भने, ‘माधवजीको के हुन्छ, थाहा छैन । आशा गरौँ, ठिकै हुन्छ ।’

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले केपी ओली प्रवृत्तिबारे लामो व्याख्या गरे पनि माधव नेपाल खासै खुलेनन् । त्यस्तै, नेपाली काँग्रेससँग गरिएको गठबन्धनको विषयमा पनि उनले सम्बोधनमा खासै व्याख्या गरेनन् ।

तर, बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सङ्गठनात्मक प्रस्तावमा भने उनले काँग्रेससँग गरिएको गठबन्धनको औचित्यबारे विश्लेषण गरेका छन् । प्रचण्डको यो प्रतिवेदनमाथि राय दिनका लागि आइतबार ११ बजे पुनः बस्ने बैठकमा समूहगत छलफल गरिने भएको छ ।

चुनावसम्म गठबन्धन कायमै राखिने

प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमा अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी चुनावसम्म कायमै राख्ने पार्टीको नीति रहने उल्लेख छ । प्रस्तावमा भनिएको छ–

‘केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ । यसलाई नरुचाउने शक्तिहरू गठबन्धनलाई कमजोर पार्न र भत्काउन लागिपरेका छन् । अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तिमा कायम राख्ने पार्टीको नीति हुनेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप