शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिउँडोमा मास्क लगाएर कोरोनालाई चुनौती ? (फोटो फिचर)

शनिबार, ३० साउन २०७८, १४ : १०
शनिबार, ३० साउन २०७८

स्वास्थ्यविद्हरुले कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुन लागेको चेतावनी दिँदा समेत सर्वसाधारणले प्रभावकारी रूपमा मास्क लगाउन हेलचेक्रयाई गर्दै आएका छन् । कतिपयले मास्क समेत नलगाई सार्वजनिक स्थानमा भेटघाट तथा कुराकानी गर्ने गरेका छन् भने मास्क खरिद गरेकाहरूले पनि राम्रोसँग मास्क लगाउने गरेका छैनन् । 

नाक र मुख छोपिने गरी मास्क लगाउनुपर्नेमा धेरैजसो सर्वसाधारणहरूले चिउँडो र घाँटीमा मास्क लगाउने गरेका छन् । ललितपुरमा सडकमा फलफूल बेच्दै आएका कृष्णमान अमात्यले निरन्तर रूपमा नाक मुख छोपिने गरी मास्क लगाउँदा श्वास फेर्न गाह्रो भएकोले घाँटीमा मास्क लगाउनुपरेको बताए । सडकमा पैदल यात्रा गरिरहेका गणेश बुढाथोकीले ‘चुरोट खाँदा र साथीभाइ भेट हुँदा कुराकानी गर्ने क्रममा मास्क झिक्ने बानी लागेको’को सुनाए । 

काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका स्थानमा एक अर्काबीच दुरी कायम गर्नुपर्ने, भेटघाट कुराकानी गर्दा मास्क लगाउनुपर्ने सामान्य स्वास्थ्य मापदण्ड समेत सर्वसाधारणले उल्लङ्घन गरिरहेका छन् । 

यस्तो छ हालसम्मको कोरोना सङ्क्रमणको अवस्था

नेपालमा हालसम्म ७ लाख २८ हजार ५ सय ३२ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ लाख ७९ हजार ४ सय ९५ जना निको भएका छन् भने १० हजार २ सय ३९ जनाको ज्यान गएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडा अनुसार यति बेला ३८ हजार ७ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ७ सय ३६ जनाको सघन उपचार कक्षमा रहेका छन्, १ सय ८६ जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन् । यस्तै ३५ हजार ५ सय १८ जना होम आइसोलेसनमा रहेका छन् भने ३२ सय ८० जना संस्थागत आइसोलेसनमा र ४ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् । 

हालसम्म ३७ लाख ४० हजार ८ सय १७ जनाको पीसीआर विधिबाट र ३ लाख ८६ हजार ९ सय २९ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । शुक्रबारसम्मको आँकडा अनुसार ४६ लाख ५९ हजार ४ सय १४ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ३२ लाख २३ हजार ६ सय ९३ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप