बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा : जितबहादुरको नासो

शनिबार, ३० साउन २०७८, ११ : ०१
शनिबार, ३० साउन २०७८

भारतको केरलामा कार्यरत जितबहादुर दुई महिनाको बिदा लिएर नेपाल फर्केको थियो । उता घरमा बुढा भएका बुवाआमाको साथमा श्रीमती र तीन छोरीसहित छ जनाको परिवार थियो । गाउँको घर, थोरै मात्रै जग्गा जमिन, त्यसमा खेतीपाती गरेर जेनतेन मुख र मुठ्ठी जोड्ने काम चल्दै थियो । जितबहादुरकी श्रीमती मैनाले तीन ओटा बाख्रा पालेकी थिइन् । छोरीहरू सानै थिए । बुढा भएका बुबाआमा र साना बालबच्चालाई गोरसका लागि एउटा दुहुनो भैँसी गोठमा थियो ।

आज लाहुरे आएको दिन घरमा छिमेकीहरू जम्मा भएका थिए । तीन वर्षपछि परिवार आफन्त र छिमेकीलाई भेट्न पाउँदा जितबहादुर असाध्यै खुसी थियो । छोरीहरू नयाँ लुगा लगाएर चकलेट खाँदै रमाउँदै, खेल्दै थिए ।
भारतमा हुँदा जितबहादुरसँगै काम गर्ने गोपालमानको घर पनि त्यहीँ गाउँमा थियो । गोपालमानले केही सामान घर पठाएको हुँदा नासो छोड्न भन्दै जितबहादुर माथिल्लो गाउँतिर लाग्यो । नयाँ बिहे गरेर आएकी अनितासँग भेट भयो । अनिताले गाउँको स्कुलमा पढाउने गर्थिन् । जितबहादुरलाई देख्न साथ अनुमान लगाइन यो लाउरे पक्कै मैनाको श्रीमान् हुनुपर्छ भनेर । अनिताले उनीहरूको बच्चालाई पढाउँथिन् ।

अनिता : नमस्कार सर !
हजुर मैनाको श्रीमान् है ? कता हिँड्नु भएको ? आरामै आइपुग्नुभयो ?
जित : हजुर म मैनाको श्रीमान हुँ ! राम्रै आइपुगेँ । तर मैले हजुरलाई चिन्न सकिन नि ?
अनिता : म अनिता थापा, हजुरकी छोरीहरूलाई पढाउँछु । छोरीहरू अनि मैनाले हजुरको कुरा गरिरहन्थे अनि सोधकी ।
(एकछिन् कुराकानी गरी दुवै छुट्टिए ।)

जितबहादुरले साथीको घर गएर नासो बुझायो र परिवारलाई भेटेर आफ्नो घर फर्कियो ।

दिनहरू बित्दै गए । जितबहादुरको फेरि भारत फर्किने बेला नजिकिँदै थियो । यता तीन छोरी हुँदाहुँदै सामाजिक दबाबमा छोरा जन्माउने चाहनाले मैना फेरि गर्भवती भई । पढेलेखेकी बुझेकी अनिताले धेरै सम्झाउने कोसिस गथिन् तर मैनाको सोच परिवर्तन गर्न सकिनन् । अनिता स्कुल पढाउने कामको अलावा जीवन बीमाको काम गर्थिन् ।

चाडबाड सकिए, हिउँद लाग्यो, घरमा खर्चको जोहो गर्नुपर्ने दिन आउँदै थियो । अन्ततः जितबहादुर पुनः भारत जानुपर्ने भयो । आज जितबहादुर भारत जागिरमा फर्किने दिन । गाउँलेहरू भेटघाट गर्न घरभरि जम्मा भएका थिए । कसैले आफ्ना छोरालाई पठाउन गुन्द्रुक र अचारको पोको लिएर आएका थिए । बाहिर सबैजना बसेर गफगाफ गर्दै थिए ।

यत्तिकैमा जितबहादुरका बुढा बाउले दुखेसो पोखे : अब कहिले आउँछस् नि जितु ? हामी डाँडामाथिका घाम भैगयौँ, कति बेला अस्ताउने हो, थाहा हुँदैन । फेरि भेट्न पाइने हो कि होइन ।
यति भन्दै सुक्क सुक्क रुन लागे ।
आमाले छोरालाई बाटोमा खानेकुरा बनाएर झोलामा राख्दै भनिन् : बाबु केही खानेकुरा बाटोमा खानु, केही डिउटीबाट आउँदा भोकाएको बेला खाएस् है ?

अब कहिले आउने होस् तँ आउँदासम्म मरिन्छ कि बाबु । (आमाको पनि उस्तै कुरा)

आमा : चाँडै फर्केस् है ।
मजेत्रोले आसुँ पुछ्दै आमा भित्र पसिस् ।

बिदावारी गरी जितबहादुर भारततर्फ लाग्यो । अलि तल पुगेपछि शिक्षिका अनितालाई भेट्यो, केहीबेर कानेखुसी गरे । जितबहादुरले झोलाबाट केही समान निकालेर अनितालाई दिँदै अघि बढ्यो । गोरखपुरको रेल भेट्न हतार भइसकेको थियो ।

सुनौलीमा पुगेर खाजा खायो । बाटो खर्चका लागि भारतीय पैसा साट्यो र गोरखपुरको बसमा चढ्यो । दुई तीन घन्टाको यात्रापछि गोरखपुरको रेल स्टेसन पुग्यो । त्यहाँ अरू नेपालीहरूसँग भेट भयो । केरला जाने साथीसँगै टिकट काटेर रेलमा चढेर जितबहादुर आफ्नो गाउँ छोडेर टाढाको यात्रा तय गर्दैछ ।

मनभरि परिवारको सम्झना आयो । यो लाहुरे जिन्दगी न परदेश लागेर टन्न पैसा कमाउन सकिने न परिवारसँग बसेर आँटो पिठो खान पुग्ने । घरिघरि आफैलाई धिक्कार्थ्यो । आफ्नो गरिबीप्रति । राज्यले देशका युवालाई स्वदेशमै रोजगार नदिँदा विदेशिनु परेको व्यथाले भरिएको र कुँडिएर अमिलो भएको मन लिएर रेलको आवाजसँगै उसको यात्रा छोट्टिँदै थियो ।

छकछक छकछक गदैै रेल आफ्नै गतिमा हुइँकिँदै थियो । जितबहादुरलाई कटक्क पेट काट्यो । शौचालयभित्र अर्को मानिस रहेछ । ढोका खुलेन । पालो पर्खिरहेको बेला झुक्किएर जितबहादुर रेलबाट खस्यो । उसको घटनास्थलमै मृत्यु भयो ।

जितबहादुर रेलबाट खसेको खबर अर्को स्टेसनमा पुगेपछि बल्लसँगै हिँडेका साथीले थाहा पाए । घटनास्थल फोन गएर पुलिसले जानकारी गराए । नेपालीहरू मिलेर दाहसंस्कार गरे । यता घरमा पूरै परिवारको बोझ एक्लैले टाउकोमाथि बोकेर हिँडेको व्यक्ति दुनियाँबाटै हरायो । केही दिनपछि घरमा खबर आयो । बुढा भएका बुवा आमा ससाना छोरी गर्भवती स्वास्नीको बिजोग भयो । सबैजना रुन कराउन लागे गाउँलेहरू आए । सम्झाउने बुझाउने र लागे ।

आफै डाँडामाथिको घाम, छोराको काजकिरिया गर्नुपर्‍यो, बुढेसकालमा पर्नु शोक पर्‍यो । जवान छोरो गयो म बुढो किन बाँच्नु पर्यो भन्दै बुवा मुर्छा परे । बृद्ध शरीर अनि शोकमा छोराको काजकिरिया गर्नै नसक्ने अवस्थामा पुगे जितबहादुरका बाबु अनि छिमेकीलाई क्रिया गर्न लगाइयो ।

चौध दिनपछि साहुहरू ऋण उठाउन आए । जितेले यति लगेको थियो भनी नभएको पैसा पनि माग्न थाले । बिचरा घर एक पैसा छैन के दिनु ? मौकाको फाइदा लुट्नेले कसैले भैँसी फुकाउन लागे कसैले बाख्रा । घरमा बिचल्ली भयो बुवा थला परे । छोराको खबर सुनेदेखि वृद्ध बाबुआमा शिथिल बन्दै गइरहेका छन् । पतिको नासो यस पटक छोरा जन्माउने आशामा रहेकी मैना गर्भवती अवस्थामा शोकले भोक न प्यासको अवस्थाबाट जीवन गुजार्दै थिइन् ।

गाउँका मुखियाले घर खाली गर्देऊ भन्दै थिए । मैना बिरामी हुँदा जग्गा धितो राखेको स्मरण गराए । गाउँलेले टुलुटुलु हेरिरहेका थिए । साहुको ऋण कसले तिर्न सक्छु भन्ने कोही थिएनन् । बिचरी मैना हतास, निराश र स्तब्ध थिइन् । बज्र उनको शिरमाथि बजारिएको थियो । गाउँले आउँथे, सान्त्वन्ना दिएर जान्थे, गर्ने, दिने कोही थिएनन् ।

महिना दिनको मासिक सकिएको थियो, मैना र वृद्ध आमाबुवा बसेर कुराकानी गर्दै थिए । अलि तलबाट जितबहादुरको कुरा गर्दै तीनजना सुकिला मान्छेहरू घरतिरै सोझिएर आउँदै थिए । जित बहादुरका वृद्ध बाबु आत्तिए, फेरि को के माग्न वा भन्न आएका हुन् भन्दै डराए ।

सबैभन्दा अगाडि शिक्षिका अनिता थिइन् । अर्का एक जना वडा अध्यक्ष र अर्का एक जना नचिनिएका पुरुष थिए ।

जितबहादुरका बुवाले शिक्षिकलाई अघि लगाएर वडा अध्यक्ष आफै आएको देखेपछि नातिनीहरूले केही बिगारेका पो थिए कि ? वा छात्रवृत्ति दिन्छौँ भन्दै आएछन् वा जितबहादुरले अरू पनि ऋण लिएको थियो र उठाउन पो आएकी भन्दै अनुमान गर्दै बसे ।

पीडिमा बसेकी मैना मलिन भएर बसिरहेकी थिइन् । एकैछिनमा गाउँका अरू भद्रभलाद्मीहरू पनि भेला भए । आगनीको पुत्र बियोगमा परेका बुढा बाआमा टोलाइरहेका थिए ।

अनिताले मैनालाई अँगालो हालिन् । सानो भेला नै भइसकेको थियो । अनिता एक जीवन बीमा कम्पनीकी अभिकर्ता थिइन् । उनले जितबहादुर विदेशबाट आउने वित्तिकै छलफल गरेर ४० लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा गरी पहिलो किस्ता बुझाएर गएको बताइन् । बीमा बाँचेमा आफैले पाउने र कुनै कारणवश मृत्यु भएमा आफूमा आश्रित परिवारले पाउने लाभ भएकाले सोही जोखिम बापतको दाबी भुक्तानीको लागि आफूहरू आएको जानकारी गराइन् । अनिताले झोलाबाट एउटा फाइल निकालिन् । मैनालाई हस्ताक्षर गर्न लगाइन् । वडाध्यक्षको हातबाट मैनालाई चालीस लाखको चेक हस्तान्तरण गरियो ।

अध्यक्षले छोटो मन्तव्यमा भनेः जितबहादुरजीले अनिता म्याडममार्फत जीवन बीमा गर्नुभएको थियो । दुर्घटनाबाट उहाँको दुखद् निधन भइसकेको हुनाले उहाँलाई हामीले पाउन नसके पनि उहाँले परिवारप्रति छोडेको यो जिम्मेवारी हो । यो रकम हजुरको परिवारको पीडामा मलहम बन्न सकोस् । जितबहादुरप्रति हाम्रो श्रद्धा छ । मैनाले लामो सास फेरिन्, पेटमा हुर्कंदै गएको जितबहादुरको गर्भ अनि उनले छोडेर गएको नासो सम्झिन् । उनका लागि सबै सपना जस्तो लाग्यो । मैनालाई समूहबाट ऋण काडेर जबर्जस्ती नौगेडी र झुम्का किन्दिन बाध्य पारेको याद आयो । गहनाकै लागि कति झगडा गरेको स्मरणसमेत गरिन् ।

जितबहादुरले गाउँले साथी गोपालमानसँग पैसा सरसापट गरेको कुरा अनिताबाट थाहा भयो । सो भेलामा मैनालाई केही बोल्न मन लाग्यो : मैले मेरो राजालाई किन बुझ्न सकिन ? कहाँ जानुभयो मेरो प्रिय ? आफू जाँदा जाँदै हाम्रा लागि यति ठूलो महान् काम गरेर छोड्नुभएको रैछ बल्ल मेरो होस्, खुल्यो बुद्धि पस्यो तर के गर्नु मैले हजुरलाई गुमाइसके । उनी छाती पिटी पिटी रुन थालिन् ।

यदि आज यो पैसा आउने थिएन भने हाम्रो घर बास उजाडिने थियो । म कहाँ जान्थेँ होला ? वृद्ध अवस्थाका सासुससुरा र यिनी लालाबाला कहाँ लैजान्थे होला । जिन्दगीको केही भरोसा नहुँदो रैछ । भोलि म पनि रहिन भने यो परिवारको मेरा लालाबालाको अवस्था के होला ?

एकैछिनमा शरीरमा भएका सबै गहना फुकालेर एउटा मुठीमा राख्दै हात उचाल्दै भनिन् : अब मैले यी गहना लगाउँदिन । यी गरगहना र मेरो श्रीमानको नासो यो पेटको बच्चा जन्मिएपछि यिनै गहना बेचेर सन्तानको नाममा बीमा गरिदिन्छु । बार्षिक रूपमा किस्ता तिर्न  नसकुँला त्यसैले ऋण तिरेर बचेको पैसा सबै बच्चाको नाममा फिक्स बीमा जम्मा गरिदिने बाचा गर्छु । गाउँले सबै स्तब्ध भए । बीमाको महत्त्व केही हदसम्म बुझेँ ।
मैना अनिताको काखमा घोप्टो परेर रोइरहिन् ।

गैँडाकोट, नवलपुर
हाल : खजुरा बाँके 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना पौडेल ‘जिज्ञासु’
कल्पना पौडेल ‘जिज्ञासु’
लेखकबाट थप