शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाईजात्रा पर्व औपचारिकतामा मात्रै सीमित गर्न आग्रह

शनिबार, ३० साउन २०७८, ०९ : ५३
शनिबार, ३० साउन २०७८

भक्तपुर नगरपालिकाले नेवार समुदायको महत्त्वपूर्ण गाईजात्रा पर्वलाई यो वर्ष औपचारिकतामा मात्रै सीमित गर्न आग्रह गरेको छ । कोभिड सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरू र जनप्रतिनिधिहरू सहितको बैठक बसेको थियो  । सो बैठकमा सापारु (गाईजात्रा)को दिन ताहा साँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको थियो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोभिड सङ्क्रमितहरूको लागि सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको सेवा प्रभावकारी भएको बताए । विगतमा गाईजात्रामा सांस्कृतिक प्रतियोगिता गर्दै आएकोमा भक्तपुर नगरपालिकाले कोभिड सङ्क्रमण जोखिमका कारण यस पटक पनि औपचारिकतामा सीमित गर्न नगरबासीहरूलाई अनुरोध गरेका छौँ, नगरप्रमुख प्रजापतिले भने । 

जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञासमेत जारी गरिएको अवस्थामा यस वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्वलाई सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न नगराउन नगरपालिकाले आग्रह गरेको छ । 

मृतकको स्मरणमा लगिने ताहा साँ परिक्रमाको क्रममा बढीमा २० जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खलः लगायत सबैमा अनुरोध गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप