शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेमिका जलाएर झ्यालबाट भागेका शिवजी १६ वर्षपछि समातिए

कलंकीको त्यो हत्या : १६ वर्षपछि जग्गा खोज्दै ‘शिवजी’को घरमा प्रहरी
शनिबार, ३० साउन २०७८, ०९ : ४६
शनिबार, ३० साउन २०७८


काठमाडौंको कलंकीस्थित लामापाटीमा रहेको डेरामा २०६२ पुस ६ गते भगवती लामा अधिकारीलाई मट्टीतेल छर्केर आगो लगाइयो । भगवती जल्दै थिइन्, अभियुक्त झ्यालबाट हाम्फालेर भागे । भोलिपल्ट भगवतीको मृत्यु भयो । १६ वर्षसम्म भगवतीका छोराछोरीले आमालाई आगो लगाएर हत्या गर्नेलाई देख्न पाएनन् । 

बुधवार केन्द्रीय अनुसन्धान ब्यूरोबाट फोन आएपछि भगवतीका छोराछोरी हस्याङ–फस्याङ गर्दै महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा पुगे । त्यहाँ रामेछापको खाँडादेवी गाउँपालिका– ६ खत्रीगाउँ घर भएका गबहादुर खत्री उर्फ ‘शिवजी’ लाई प्रहरीले हत्कडी लगाएर राखेको थियो । 

काभ्रेको फूलबारी, दाप्चा घर भएका भगवतीका छोरा निरज र निमा सहित ३ जनाले गबहादुरलाई चिनिहाले । तर, गबहादुरले भने, ‘म तपाईहरुलाई चिन्दिनँ ।’ भगवतीकी जेठी छोरीले गबहादुरलाई पुराना घटना कोट्याउँदै ¥याख¥याख पारेर सोधिन्, ‘ए, मलाई पनि चिन्नुहुन्न ?’ 

हत्याको १६ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गबहादुरलाई भेट्टाएको हो । काठमाडौं–१६ कलंकीस्थित लामापाटीमा गबहादुरले लगाएको आगोका कारण वीर अस्पतालमा भोलिपल्ट भगवतीको ज्यान गएको थियो । 

तास खेलिरहेका बेला पक्राउ

ब्यूरोका डीएसपी रुगम कुँवर र अनिल घिमिरेको टिम ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर–७ चाङ्गाथलीमा पुग्दा गबहादुर तास खेलिरहेका थिए ।

जग्गा किन्ने बहानामा पुगेका प्रहरीले तासको खालमा पुगेर गबहादुर उर्फ शिवजीलाई भने, ‘अस्ति तपाईले देखाएको जग्गा फेरि हेरौं भनेर आएको ।’ 

शिवजीले भने, ‘मैले चिनिँन नि ?’

जग्गा खोज्ने बहानामा पुगेका प्रहरीले शिवजीलाई एउटा फोटो देखाए, ‘उँहालाई चिन्नुहुन्छ ?’

मोवाइलमा जुम गरेको  फोटो हेरेपछि गबहादुरले भने, ‘मान्छे चाहिँ म हुँ तर, कपडा मेरो होइन ।’

स्टुडियोमा भगवतीसँग खिचेको फोटो देखाएपछि चाहिँ ‘शिवजी’ बोल्न सकेनन् । अनि, प्रहरीले उनलाई हत्कडी लगायो । 

शिवजीले नै भगवतीको हत्या गरेको अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । सिंहले भने, ‘प्रारम्भिक अनुसन्धानबाट गबहादुरले नै आगो लगाएको खुलेको छ, थप अनुसन्धान हुँदैछ ।’ 

क्याटरिङ्गमा चिनजान र प्रेम

गबहादुरका ०५१ सालतिर हार्डवेयर पसलमा सिमेन्ट बोक्ने काम गर्थे । पछि भगवती र गबहादुरका बीचमा क्याटरिङ्गमा काम गर्दा चिनजान भयो । उनले कलंकी मन्दिरमा भगवतीसँग भेट र चिनापर्ची भएको प्रहरीलाई बताएका छन् । 

गबहादुर टेकुमा बस्थे, भगवती कलंकीमा । खाजा खाने निहुँमा भेटघाट हुँदा नजिकिएपछि उनी लगातार भगवतीको डेरामा धाउन थाले ।

परपुरुषसँग नजिक भएको थाहा पाएपछि भगवतीका श्रीमानले उनीसँग डिभोर्स गरे । 

श्रीमानले डिभोर्स दिएपछि कोठामा बाक्लै आउन थालेका गबहादुरले भगवतीकी जेठी छोरीलाई कुट्न थाले । उनले भगवतीसँग पैसा मागेर हैरान गरेको छोराछोरीले प्रहरीलाई बताएका छन् । गबहादुरले कुट्न थालेपछि दुई छोरी र एक छोरा स्यूचाटारस्थित मामाघरमा गएर बस्न थाले । 

छोराको बयान : हामी मामाघर गयौं, उनी कोठामा थिए 

भगवतीका छोराले प्रहरीसँग यस्तो बयान दिएका छन्

आमाको हत्या हुनुभन्दा एक वर्षअघिदेखि रामेछाप घर बताउने शिवजी हाम्रो डेरामा आउजाउ गरिरहन्थे । एकपटक उनले ममीसँग पैसा माग्दा ‘छैन’ भनेपछि आमालाई ‘मारिदिन्छु’ भनेका थिए ।

त्यसदिन (पुस ६) मा हामी स्कुलबाट आउँदा शिवजी खाटमा सुतिरहेका थिए । आमाले हामीलाई खाजा (रोटी) दिनुभो । उनलाई पनि खाजा दिनुभो । ममीले चाहिँ चिया खानुभो ।

हामी खाजा खाएर स्यूचाटार मामाघर गयौं । शिवजी त्यहीँ थिए ।  

प्रहरीको प्रारम्भिक निष्कर्ष  : आगो लगाएर फरार 

कलंकीस्थित भगवतीको डेरा एकतला माथि थियो । २०६२ पुस ६ मा भगवतीको कोठामा आगो लागेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरी पुग्दा भित्रबाट चुकुल लागेको थियो । 

अपराधीले मट्टीतेल छर्केर आगो लगाएपछि झ्यालबाट हाम्फालेर भागेको प्रहरीको निष्कर्ष छ । त्यतिबेला ग्रिल नभएको झ्यालको बाहिर साग माडिएको थियो ।

अन्ततः भगवतीलाई आगो लगाएर भागेका गबहादुर उर्फ शिवजी १६ वर्षसम्म काठमाडौंमै लुक्न सफल भए । तर, अपराध छिपेन । १६ वर्षपछि उनी प्रहरीको हिरासतमा पुगेका छन् । 

बरु, अचम्मचाहिँ के छ भने यति लामो समयसम्म प्रहरीले किन गबहादुरको सुराक पत्तो लगाउन सकेन ?हत्यापछि रामेछाप गएर केही समय बसेका गबहादुर काठमाडौं फर्किए । डीआई भ्यान चलाउन थाले । चार वर्षअघि उनले चाङ्गाथलीमा घर बनाए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप