शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाईजात्रा पर्व सामान्य ढंगले मनाउन भक्तपुर नगरपालिकाको अनुरोध

शुक्रबार, २९ साउन २०७८, २२ : ०३
शुक्रबार, २९ साउन २०७८

भक्तपुर नगरपालिकाले कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न  सबैमा अनुरोध गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरू र जनप्रतिनिधिहरुसहितको बैठकले सो निर्णय गरेको हो । बैठकले सापारुको दिन ताहा साँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन समेत अनुरोध गरेको छ ।

बैठकमा नगर प्रमुख प्रजापतिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमण भक्तपुरमा पनि दैनिक रुपमा बढ्दो क्रममा रहेको बताउनुहुँदै नेपालमा १० हजार भन्दा बढीले कोभिडबाट ज्यान गुमाइसकेको बताए । सामान्य अवस्थामा खपत हुने अक्सिजन पनि कोभिड महामारीबीच चरम अभाव हुँदा धेरैले ज्यान गुमाउनुपरेको यथार्थबारे प्रष्ट पार्दै उनले कोभिडबाट बच्ने उपाय भनेकै कोभिडविरुद्धको खोप लगाउनु हो भने ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोभिड संक्रमितहरुको लागि सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको सेवा प्रभावकारी भएको बताउँदै विगतमा गाईजात्रामा सांस्कृतिक प्रतियोगिता गर्दै आएकोमा भक्तपुर नगरपालिकाले कोभिड संक्रमण जोखिमका कारण यसपटक पनि औपचारिकतामा सीमित गर्न नगरबासीहरूलाई अनुरोध गर्दै आइरहेको बताए ।

बढी भीड जम्मा हुने जात्रा, पर्वहरूले संक्रमण फैलिने खतरा रहने बताउँदै उनले भने– ‘कोभिडलाई हेलचेक्र्याइँ होइन, सतर्कता अपनाएर परास्त गर्नुपर्छ ।’ बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको र हाल ख्वप अस्पताल कोभिड युनिटमार्फत कोभिड संक्रमित तथा अन्य बिरामीहरूको उपचार सेवा प्रभावकारी ढंगले अगाडि बढाइरहेको बताइन् ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले यहाँका जात्रा, संस्कृति, पर्व र सभ्यता जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।  बैठकमा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु तथा सांस्कृतिक समूहका प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिम यथावत रहेको हुँदा यस वर्षको गाईजात्रालाई गत वर्ष जस्तै औपचारिकतामा सीमित गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गमा आवश्यक सरसफाई र क्लोरिन छर्कनुपर्ने, भीड जम्मा हुने खालका कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, कोभिडबारे जनतालाई सचेत पार्न माइकिङ गर्नुपर्ने, गाईजात्रा व्यवस्थित गर्न स्वयंसेवकहरू परिचालन गर्नुपर्नेलगायतका राय—सुझावहरू प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप