आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मौद्रिक नीति : यस्तो देखियो आर्थिक वर्ष २०७८/७९ को आर्थिक परिदृश्य

शुक्रबार, २९ साउन २०७८, २३ : ३३
शुक्रबार, २९ साउन २०७८

आगामी आर्थिक वर्ष कोभिड–१९ महामारीले संकुचित रहेको विश्व अर्थतन्त्रको पुनरुत्थानमा सुधार आउनुको साथै मुद्रास्फीति न्यून रहने अनुमान गरिएको छ । यद्यपि आर्थिक पुनरुत्थानको गति कोरोना विरुद्धको खोपमा पहुँच हुने र नहुने मुलुकहरूबीच भिन्न हुने देखिएको छ । 

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको ‘आर्थिक वर्ष २०७८/७९ को आर्थिक परिदृश्य’ शीर्षकको विवरणमा सन् २०२१ मा विश्व अर्थतन्त्रको बिस्तार ६.० प्रतिशतले र सन् २०२२ मा ४.९ प्रतिशतले हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको उल्लेख गरिएको छ । 

 त्यसैगरी, सन् २०२२ मा विकसित मुलुकहरुको मुद्रास्फीति २.१ प्रतिशत र उदीयमान तथा विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति ४.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।  देशमा वर्षायामको शुरुवात मै कतिपय स्थानहरुमा बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जन–धनमा क्षति पुगेको भएपनि समग्रमा मौसम अनुकूल रहने पूर्वानुमान रहेको, उन्नत बीऊ तथा रासायनिक मलको उपलब्धता बढेको र कृषि कर्जामा पहुँच बिस्तार हुँदै गएको सन्दर्भमा कृषि क्षेत्रको उत्पादन वृद्धि सन्तोषजनक रहने अनुमान राष्ट्र बैंकको छ । 

त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा नेपालमा कोभिड–१९ विरुद्ध खोप उपलब्ध भई उद्योग र सेवा क्षेत्रमा सुधार आउने अपेक्षाको आधारमा आर्थिक वृद्धि सुधार हुने आँकलन गरिएको छ।  पछिल्लो समय मुद्रास्फीति नियन्त्रित रहेको भएपनि आर्थिक पुनरुत्थानले गति लिएसँगै समष्टिगत माग बिस्तार हुने अवस्था रहेको, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भइरहेको र नेपाली रुपैयाँको परिवत्र्य विदेशी मुद्रासँगको विनिमय दरमा उतारचढाव आइरहेकाले मूल्यमा केही चाप पर्ने भने देखिएको राष्ट्र बैंकको भनाइ छ । 

तर, कोभिड–१९ महामारीबीच पनि निर्यात र विप्रेषण आप्रवाह सन्तोषजनक रहेको छ । पछिल्लो समय आयात वृद्धिमा तीव्रता आउन थालेको र वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेको कारण विप्रेषण आप्रवाहमा जोखिम कायमै रहेकोले शोधनान्तर स्थितिमा दवाव पर्न सक्ने सम्भावना रहेको छ । तथापि, कोरोना विरुद्ध खोप उपलब्ध हुन थालेको हुँदा वैदेशिक रोजगारीमा जाने संख्या बढ्न सक्ने देखिएको मौद्रिक नीतिमा उल्लेख गरिएको छ । 

 समग्रमा, आर्थिक पुनरुत्थानसँंगै शोधनान्तर स्थितिमा चाप पर्न सक्ने भए पनि विदेशी विनिमय सञ्चिति सुबिधाजनक स्थितिमा रहने देखिएको छ भने आर्थिक पुनरुत्थानले गति लिएसँगै कर्जाको माग बढ्ने पनि देखिएको उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप