९९३ ऋणीको ५२ अर्ब कर्जाको ग्रेस अवधि थपियो, १९,७८६ ऋणीको भुक्तानी अवधि बढ्यो
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जाको ग्रेस अवधि थप गर्नसक्ने व्यवस्था गरिएअनुसार ९९३ ऋणीको ५२ अर्व रुपैयाँ कर्जाको ग्रेस अवधि थप गरेको जनाएको छ । यसमध्ये, न्यून प्रभावित १७४ ऋणीको रु। ३ अर्ब ९५ करोड कर्जा ६ महिना, मध्यम प्रभावित ३२१ ऋणीको रु. १८ अर्ब ४१ करोड कर्जा ९ महिना र अति प्रभावित ४९८ ऋणीको रु. २९ अर्ब ६३ करोड कर्जाको ग्रेस अवधि १ वर्ष थप भएको गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए ।
यस्तै विभिन्न कर्जाको भुक्तानी अवधि थप समेत गरिएको छ । जसअनुसार कोभिड–१९ को कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरुका लागि कर्जा भुक्तानी अवधि थप गर्ने व्यवस्था भए बमोजिम १९,७८६ ऋणीको जम्मा रु। ९३ अर्ब ६३ करोड कर्जाको भुक्तानी अवधि थप भएको छ ।
यसमध्ये, न्यून प्रभावित विभिन्न पेशा, उद्योग र व्यवसायका ७,६८८ ऋणीको रु. ३० अर्ब ३ करोड कर्जाको भुक्तानी अवधि ६ महिना, मध्यम प्रभावित ७,८८७ ऋणीको रु. २८ अर्ब २७ करोड कर्जाको भुक्तानी अवधि ९ महिना र अति प्रभावित ४,०१२ ऋणीको रु. १४ अर्ब ४७ करोड कर्जाको भुक्तानी अवधि १ वर्ष थप भएको छ ।
कोभिड–१९ बाट अति प्रभावित पर्यटन लगायत तोकिएका उद्योग व्यवसाय क्षेत्रका १९९ ऋणीको रु. २० अर्ब ८६ करोड कर्जाको भुक्तानी अवधि २ वर्षको लागि थप भएको पनि राष्ट्र बैंकले जनाएको छ ।