दुङाल उपन्यास : तिब्बती शरणार्थीको कथा
दुङाल तिब्बती भाषाबाट भित्र्याइएको शब्द भएकाले नेपाली शब्दकोशमा यो शब्द पाइँदैन । तिब्बती भाषामा दुङालको अर्थ हुन्छ– दुःख, पीडा । यो पुस्तकमा तिनै तिब्बतीहरुको व्यथा छ, जो दशकौंदेखि नेपाली भूमिमा शरणार्थीका रूपमा बसोबास गरिरहेका छन् । उनीहरुकै दुःखको भाषा यस पुस्तकले बोलेकाले पुस्तकको नाम दुङाल जुराइएको होे ।
यो उपन्यासमा समग्रमा तिब्बती शरणार्थीको भोगाइ छ । मानवीय संवेदना छ । पलायनको पीडा, अनिश्चित भविष्यका बीच मौलाउन खोजेको प्रेमका कथाहरु छन् । उनीहरूको आगमनपछि नेपाल मात्र नभएर विश्वमा फैलिएको हिमाली बौद्ध परम्पराको पनि थोरबहुत चर्चा छ ।
मैले तिब्बती शरणार्थी क्याम्पमा धेरै नै घुलमिल गरेर बाल्यकाल बिताएँ । मैले फरक पृष्ठभूमिबाट आएका अनौठा भेषभूषाका ती मानिसहरुसँग संगत गरें । उनीहरूको हाँसोमा मात्र होइन, पीडालाई पनि नजिकबाट नियाल्ने अवसर पाएँ । त्यसैले मैले उनीहरूको वास्तविक अनुभूतिलाई मैले दुङालमा उतारेको छु । पाठकलाई नेपाली समाजभित्र घुल्न चाहेर पनि घुल्न नसकेको तिब्बती समाजभित्रको कथा बुझ्न दुङाल पक्कै पनि एउटा प्रभावकारी माध्यम हुन सक्छ ।
यस कृतिमा पनि मैले जाने र बुझेसम्म बुद्धका ती अमूल्य ज्ञानलाई समाहित गर्ने कोशिस गरेको छु । साथै शरणार्थीका विषयमा नखुलेको पक्ष पनि यस कृतिले उजागर गर्ने प्रयास गरेको छ ।
मेरो बौद्ध दर्शनप्रतिको रुचिलाई मोहका रूपमा लिनुभन्दा पनि जीवन जिउने एउटा सरल आयामको रुपमा लिँदा उपयुक्त होला । संसारमा अन्य धेरै दर्शन नभएका होइनन्, तर सरल र सहज जीवन जिउन बुद्धको जस्तो महान् सूत्र सायदै अन्य दर्शनले दिएको छ । मलाई बुद्धका सबैभन्दा मनपरेका कुरा दुईवटा छन् ।
पहिलो, बुद्ध स्वविवेकको प्रयोग गर्न सिकाउनुहुन्छ । कहीँ कतै लेखिँदैमा या कसैले भन्दैमा कुनै कुराको आँखा चिम्लेर विश्वास नगर । आत्मज्ञान र प्रयोगबाट सिद्ध भएपछि मात्र विश्वास गर ।
दोस्रो हो– मध्यमार्ग । न जितको अभिमानमा उत्तेजना होस्, न हारको पीडामा रोदन । सदैव संयमित बन ।
किशोरकालको उट्पट्याङ समयमा मैले केही साथीहरुको प्रेमपत्र लेखिदिएको थिएँ । केटाको मात्र होइन, केही केटी साथीको जवाफी पत्र पनि लेखिदिएको थिएँ । त्यो रमाइलो सम्झना मात्र हो । तर, प्रेमपत्र लेखेरै साहित्यमा होमिएको हुँ भन्ने मलाई लाग्दैन । सायद, मैले साथीहरूले भन्दा केही राम्रोसँग शब्द संरचना मिलाउन जान्दथें । त्यसैले उनीहरू मलाई लेख्न लगाउँथे वा अल्छी थिए, दुवै हुन सक्छ ।
मेरा पूर्वकृति पुनरुत्थान र सुवर्णलतालाई जुन स्नेह दिएर सफल बनाइदिनुभयो, त्यसरी नै दुङाललाई पनि माया गरिदिनुहोस् । यसका कमीकमजोरीलाई आंैल्याएर मलाई अझ परिष्कृत हुने अवसर प्रदान गरिदिनुहोस् भन्न चाहन्छु ।
(उपन्यासकार मालिका केशरीका पुनरुत्थान, सुवर्णलता र दुङाल गरी तीनवटा आख्यान प्रकाशित छन् )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा ‘दसैँ आयो’ले जित्यो १ लाख पुरस्कार
-
यस वर्षको नोबेल पुरस्कार, अमेरिकी खुला बजार नीति परित्यागको पक्षमा
-
भूल भुलैयाले कमायो २५० करोड
-
कीर्तिपुरको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने
-
नेपाल र फिनल्याण्डबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
-
‘डोरी’को शुभ–मुहूर्त