मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

स्याफ्रुबेँसीमा पहिरोले चार घरमा क्षति

शुक्रबार, २९ साउन २०७८, १३ : २६
शुक्रबार, २९ साउन २०७८

स्याफ्रुबेँसीस्थित पुरानो गाउँ बस्तीमा आज बिहान घर माथिबाट आएको पहिरनका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ५ः ३० बजे आएको पहिरोका कारण दुई स्थानीय बासिन्दा घाइते हुनाका साथै चार घर पूर्णरूपले क्षति भएका हुन् । जिल्लाको पहिलो सदरमुकामसमेत रहेको स्याफ्रुबेँसीस्थित पुरानो बस्तीमा पहिरोका जोखिम बढेपछि त्यस क्षेत्रमा बसोबास गर्ने २४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

विस्थापितलाई अन्यत्र सार्न गोसाइँकुण्ड गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल प्रहरीलगायत सुरक्षा निकाय एवं जनप्रतिनिधि जुटिरहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । पहिरोका कारण घाइते हुनेमा सोनाम दोर्जे तामाङ र शुकदोर्जे तामाङ छन् । उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 गाउँमाथिबाट आएको पहिराले स्थानीयवासी कामी तामाङ, राजुलामा, कर्पु लामा र सन्तोष तामाङको घर पूर्णरूपमा क्षति भएको छ । क्षतिको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।

पहिरोले घर बस्ती क्षेत्र जोखिममा परेका र घर पूर्णरूपमा क्षति भई विस्थापित भएका २४ घरपरिवारलाई बसोबास र भोजनको व्यवस्थापन गाउँपालिकाका तर्फबाट गरिने जनाउँदै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले व्यवस्थापकीय कार्यमा आवश्यक जनशक्ति परिचालन गराई पूर्वतयारी भइरहेको र साँझसम्म विस्थापितलाई आवश्यक पर्ने सम्पूर्ण आधारभूत व्यवस्थापन भइसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप