आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जीवनमा ध्यान किन चाहिन्छ ?

शुक्रबार, २९ साउन २०७८, १० : २६
शुक्रबार, २९ साउन २०७८

यो ब्रह्माण्ड ऊर्जा नै ऊर्जाले भरिएको छ । एक कोशीय जीवदेखि सूर्य, चन्द्र, तारा, नक्षत्र सबै ऊर्जाको स्वरूप हो र हामी पनि ऊर्जाबाट नै निर्मित हौँ । ऊर्जाको प्रयोग गर्दा होशपूर्वक सजगताका साथमा गरिन्छ भने त्यसले उत्कृष्टता दिन्छ । ऊर्जा विषयसँग जोडिएपछि त्यसले रूप लिन्छ । जस्तो भावका साथमा हामी यसलाई प्रयोग गर्दछौँ । त्यही बढ्छ । त्यसैले निरन्तर होसपूर्वक ऊर्जाको प्रयोग गर्न ध्यानको आवश्यकता पर्दछ ।

हामीसँग प्रमुख ७ किसिमका प्रतिभाहरू हुन्छन् । ती सातै किसिमका प्रतिभा ध्यानद्वारा होशले भरिएर कर्म गर्दा मात्र प्राप्त हुन्छन् । ध्यान आफूतिर फर्किने कला हो । हामीसँग भएका पाँचवटै ज्ञानेन्द्रीयलाई प्रत्याहारमार्फत आफूतिर फर्काउँदै निरन्तर साधनापश्चात हामी ती प्रतिभालाई उद्घाटित गर्न  सक्छौँ । तब हामीमा सजगता र प्रेम बढ्न थाल्छ ।

पहिलो प्रतिभाअन्तर्गत पूर्ण स्वस्थ्य हुनु हो । शरीरभित्रका सम्पूर्ण अङ्गहरूमा प्रशस्त मात्रामा अक्सिजन पुग्नु पर्छ । पर्याप्त मात्रामा अक्सिजनको प्रवाहपश्चात हाम्रो रगत शुद्ध बन्छ । जुन अनुपातमा रगतमा अक्सिजन मिसिन्छ त्यही अनुपातमा हामी आरोग्यतामा जान्छौँ । स्वस्थ, सफा, ताजा खानपान, आहार विहार, निन्द्रा आदिमा हामी होशले भरियो भने हाम्रो शरीरमा ठोकिने ऊर्जा मुक्त बन्छ र हामी अझ होश र सजगताले भरिन्छौँ । नियमित योगाभ्यास, प्राणायाम, ध्यानले चेतनालाई परिष्कृत बनाउँदै लैजान्छ ।

दोस्रो प्रतिभा खुशी बन्नु हो । यो पूरै अस्तित्व खुसी आनन्दले नाचिरहेको छ । जति हामी बाहिरतिर फर्किन्छौँ । त्यति हामी खुसीबाट दूर रहन्छौँ । विगत र भविष्यबाट उन्मुक्त बनेर हामी यदि वर्तमान क्षणमा रहन्छौँ भने त्यो खुसी हामीबाट टाढा रहँदैन । ध्यान मात्र यस्तो साधन हो जसले व्यक्तिलाई निरन्तर वर्तमान क्षणमा स्थित गराइदिन्छ र निरन्तर खुसीलाई बढाइदिन्छ ।

तेस्रो प्रतिभा नेतृत्व क्षमताको विकास गर्नु हो । जे पनि गर्नसक्छु, मैले गरे हुन्छ, म सफल हुन्छु भन्ने भाव निरन्तर आफूभित्र विकसित गर्न सकेको खण्डमा मात्र व्यक्ति अभयमा जान्छ । आँटले भरिएको व्यक्ति मात्र आफ्नो पूर्ण प्रतिभामा फक्रिन सक्दछ । आफूभित्रको ऊर्जालाई पूरापूरा प्रयोग गर्न सक्तछ  । स्वासप्रश्वासको प्रयोग गर्दै हामी आफ्नो आँट, जोश, जाँगरलाई प्रस्फुटन गर्न सक्छाँै । त्यसका लागि पनि सजगता चाहिन्छ ।

चौथो प्रतिभाअन्तर्गत प्रेम, करुणा, दया, क्षमा, परोपकार आदि भावले भरिनु हो । नेतृत्व क्षमताको पूरा पूरा प्रयोग प्रेम, करुणा, दया आदिमा गर्न सकेको खण्डमा मानिस अझ परिष्कृत हुन्छ । उसको सम्बन्ध निरन्तर बढ्दै जान्छ र व्यक्ति योगस्थ बन्छ । निरन्तर होशले भरिएपछि मात्र प्रेम करुणा जन्मिन्छ, जसले गर्दा व्यक्ति ईश्वरसँग निकट बन्न जान्छ ।

पाचौँ प्रतिभा, ज्ञान, बुद्धि, विवेकले भरिनु हो । विवेक भएन भने मानिसले विभेद गर्न थाल्छ । समताको भाव जगाउन विवेक अनिवार्य हुन्छ । विवेकपश्चात ज्ञान आफै जन्मिन थाल्छ । वाणीमा माधुर्यता आउँछ भने सबै व्यक्ति ऊप्रति आकर्षित बन्न थाल्छन् । विवेकपूर्ण मीठो बोलीले कठोर व्यक्तिलाई पनि छुन्छ । त्यसको लागि पनि ध्यानको आवश्यकता पर्दछ ।

छैठौँ प्रतिभा सङ्कल्प को हो । सङ्कल्पवान् व्यक्तिको कार्यमा परमात्माले पनि सहजीकरण गर्नुहुन्छ । म यो कार्य गर्छु गर्छु भनेपछि पूरै अस्तित्वले पनि उसलाई साथ दिन्छ । त्यसपछि व्यक्तिले म यो धर्तीमा आउनुको प्रयोजन थाहा पाउछ । ऊ निरन्तर स्वकेन्द्रमा उपलब्ध बन्दै जान्छ । यसको निमित्त पनि ध्यानको आवश्यकता पर्दछ ।

सातौँ प्रतिभाअन्तर्गत व्यक्ति पूर्ण बन्नु हो । आफूभित्रका सम्पूर्ण प्रतिभाहरूलाई उजागर गराएर परम प्रकाशमा उपलब्ध हुनु हो । मानव जीवनको परमचरम लक्ष्य सत्चिदानन्द बन्नु हो । 

 यी सम्पूर्ण प्रतिभाहरूको उजागर परमत्मामय सद्गुरुदेवको कृपा प्रसादबाट मात्र सम्भव हुन्छ । स्थूल शरीरलाई पकड्दै पकड्दै सूक्ष्मभन्दा सूक्ष्म तलमा प्रवेश सद्गुरुदेवको मार्गनिर्देशनबाट प्राप्त हुन्छ । त्यसैले ध्यान कुनै उमेर समूहका लागि मात्र नभएर सम्पूर्ण मानवको निमित्त आवश्यक छ ।

अन्त्यमा सबैलाई ध्यानको उद्देश्य जान्न सद्गुरुदेवको सानिध्य प्राप्त होस् । जीवन सुख, शान्ति, समृद्धिले भरियोस् ।

 जय जीवन विज्ञान !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप