क्लब रेकर्ड रकममा चेल्सी फर्किए लुकाकु
चेल्सीले स्ट्राइकर रोमेलुलाई इन्टर मिलानबाट क्लब रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः अनुबन्ध गरेको छ । २८ वर्षीय बेल्जियन खेलाडीले चेल्सी पाँच वर्षे करार गरेका छन् । सन् २०१४ मा लुकाकुलाई चेल्सीले २.८ करोड पाउन्डमा एभर्टनलाई बेचेको थियो ।
चेल्सीले लुकाकुलाई खर्च गरेको रकम केही दिनअघि म्यान्चेस्टर सिटीले ज्याक ग्रिलिसलाई अनुबन्ध गर्न सर्च गरेको बेलायतको कीर्तिमानी १० करोड पाउन्डभन्दा केही कम मात्र रह्यो । ‘म यहाँ धेरै सिक्नुपर्ने एउटा बालकका रुपमा आएको थिएँ । अहिले म धेरै अनुभव बटुलेर पुनः आएको छु,’ लुकाकुले भने ।
यता, लुकाकु ट्रान्सफरका लागि इतिहासमा नै सबैभन्दा धेरै रकम खर्च गरिएको खेलाडी बनेका छन् । उनका लागि हालसम्म विभिन्न क्लबहरुले २९ करोड पाउन्ड खर्च गरिसकेका छन् । बेलायतको इतिहासमा कुनै पनि खेलाडीका लागि सबैभन्दा धेरै रकम खर्च गरिएको शीर्ष ५ सूचीमा दुई नाम लुकाकुको रहेको छ ।
बेल्जियमका सर्वकालिन गोलकर्ता लुकाकु कुनै पनि इटालियन क्लबले सर्वाधिक रकममा बिक्री गरेको खेलाडी पनि हुन् ।