शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमणदर बढेको बढ्यै

बिहीबार, २८ साउन २०७८, २२ : २३
बिहीबार, २८ साउन २०७८

बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दरमा बिस्तारै वृद्धि हुँदै गएको  छ । बेलायतमा अघिल्लो हप्ताको तुलनामा ८.६ प्रतिशतले संक्रमण दर बढेको अधिकारीहरुले बताएका छन् । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३३ हजार भन्दा बढी संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । एक सातामा करिब दुई लाख जनामा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ६१ लाख ७९ हजार ५०६ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा ९४ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । एक सातामा मात्र बेलायतमा ६१५ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३० हजार ७०१ पुगेको छ । तर, कोभिडका कारण मृत्यु दर्ता गरिएको प्रमाणको आधारमा भने मृतक संख्या एक लाख ५४ हजार बढी छ ।

संक्रमण दरमा वृद्धि भएपनि अस्पताल भर्ना हुनेको संख्या भने गतसाताको तुलनामा ५.४ प्रतिशतले ह्रास आएको छ । पछिल्लो २४ घन्टामा ७३७ जना संक्रमित भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या पाँच हजार ९०९ रहेको छ । यस्तै ८७१ जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

खोपका कारण ८४ हजारको ज्यान सुरक्षित

कोरोनाविरुद्धको खोपका कारण बेलायतमा करिब ८४ हजार ज्यान सुरक्षित भएको  सरकारी तथ्याङ्कले सार्वजनिक गरेको छ । यसैगरी २३ लाख ४० हजार भन्दा बढीलाई संक्रमित हुनबाट जोगाएको पनि उक्त तथ्याङ्कमा उल्लेख छ । गएको महिना संक्रमणदर ५० हजार नाघेपनि खोपका कारण  मृत्युदरमा भने खासै वृद्धि भएन । अझैपनि संक्रमणदरको तुलनामा मृत्युदर निकै कम हो ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ७१ लाख ८४ हजार ४३८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७१ लाख ७० हजार ९६८ जना अर्थात ८९.२ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड १३ हजार ४७० जना अर्थात ७५.७ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप