सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मकवानपुरमा मालपोत र नापी कार्यालयको सेवा आइतबारदेखि बन्द हुने

बिहीबार, २८ साउन २०७८, १८ : १६
बिहीबार, २८ साउन २०७८

मकवानपुरमा पछिल्लो समय कोरोना संक्रमण दर उच्च भएसँगै निषेधाज्ञालाई थप कडाइ गरिएको छ ।  मकवानपुरमा दैनिक ५० जनाको हाराहारीमा संक्रमितहरु बढिरहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, मकवानपुरमा हाल सक्रिय संक्रमितको संख्या ९ सय ९३ जना रहेको छ ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले खाद्यान्न बिक्री गर्ने व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म र अन्य व्यवसायहरु मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म खुल्न अनुमती दिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरु आलोपालो गरी विहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाउने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बढी भिडभाड हुने कार्यालयहरु पनि बन्द गर्ने भएको छ । संक्रमणको जोखिम बढेकाले केही समयका लागि भिडभाड हुने सरकारी कार्यालयहरु बन्द गर्ने प्रशासन कार्यालय मकवानपुरको भनाइ छ । 

प्रशासन कार्यालय मकवानपुरका अनुसार, आगामी आइतबारबाट मालपोत कार्यालय र नापी कार्यालय बन्द गर्ने र प्रशासन कार्यालयबाट प्रदान गरिदै आएको सेवा कटौती गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

उनका अनुसार प्रशासन कार्यालय मकवानपुरबाट प्रदान गरिदै आएको नागरिकता, राहदानी वितरण र नवीकरण सम्बन्धी सेवा फरक फरक सातामा गर्ने तयारी गरीएको छ ।

एक साता नयाँ नागरिकता र राहदानी वितरण गर्ने र अर्को साता नवीकरणको सेवा प्रदान गर्ने गरी तयारी भइरहेको उनले बताए ।

यसअघि पालिकाहरुलाई कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पालिका अनुसार आलोपालो विधिबाट सेवा प्रदान गर्दै आएको  मालपोत कार्यालयको सम्पूर्ण काम आगामी साउन ३१ गते आइतबारबाट एक साता लागि बन्द गर्ने निर्णय भएको मालपोत कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र भण्डारीले बताए ।

त्यस्तै नापी कार्यालय मकवानपुरले पनि कोरोना जोखिम बढेको भन्दै एक साताका लागि कार्यालय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नापी कार्यालय मकवानपुरका प्रमुख पूर्णहरि सुवेदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप