शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

केन्द्रीय सदस्यको सुझावका आधारमा काँग्रेसले महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने

बिहीबार, २८ साउन २०७८, २२ : २१
बिहीबार, २८ साउन २०७८

नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरुको सुझावको आधारमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने भएको छ । काँग्रेसको पूर्वनिर्धारित कार्यतालिकामा १४ औं महाधिवेशन नहुने निश्चित भएपछि जारी केन्द्रीय समिति बैठकबाट नयाँ कार्यतालिका सार्वजनिक गरिने भएको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरुको सुझावको आधारमा जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिए ।  काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी यसअघि कार्यतालिका ल्याएको भएपनि सो मितिमा महाधिवेशन हुन नसक्ने देखिएको छ ।  सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बुधबारको बैठकबाट महाधिवेशन सार्न सहमत भइसकेको अवस्थामा केन्द्रीय समितिबाट पनि राय लिन लागिएको उनको भनाइ छ । विशेषगरी रामचन्द्र पौडेल दशैँअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन् भने देउवा दशैँपछि महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् ।  

यही क्रममा आजको बैठकमा सभापति शेरबहादुर देउवाले नयाँ कार्यतालिका पेश गर्ने भनिएपनि नगरी केन्द्रीय समितिलाई पर्खिइएको हो । संवैधानिक प्रश्न र कोरोना महामारीलाई मध्यनजर गरेर केन्द्रीय सदस्यको सुझावको आधारमा कार्यतालिका ल्याउने भन्दै प्रवक्ता शर्माले भने बैठकमा विभिन्न प्रतिवेदनमात्रै पेश भएको बताए । 

आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिकासम्बन्धी प्रस्ताव, उपसभापति तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले  क्रियाशील छानबिन समितिको प्रतिवेदन पेश गरेका छन् । लेखकको प्रतिवेदनमाथि प्रतिवेदनमाथि देउवा पक्षकै आनन्द ढुंगाना  र पौडेल पक्षका कल्याण गुरुङले फरक मत राखेका छन् । 

यसै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु भएको र बैठक केही दिन जारी रहने प्रवक्ता शर्माको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप