सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सञ्चार सचिव अर्यालद्वारा पदबहाली

बिहीबार, २८ साउन २०७८, १२ : ५५
बिहीबार, २८ साउन २०७८

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारी सञ्चार माध्यमहरुलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् । आज आयोजित स्वागत समारोहमा सचिव डा.अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले आम जनताको जीवन पद्धतिलाई सहज गराउन सूचना प्रविधिको पहुँच विस्तार गरी यसप्रतिको जनविश्वास अभिवृद्धिका लागि साइबर सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । सचिव अर्यालले नेपाल टेलिकमको सेवा गुणस्तरीय गराउन, हुलाक सेवालाई प्रतिस्पर्धी तुल्याउन र मुद्रण विभागको दायरा बढाउन आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गरे । उनले डिजिटल नेपाल संरचनामा समयानुकूल सुधार, ब्रोड बैंक इन्टरनेट सेवा तथा सूचना राजमार्गको विस्तार, विद्युतीय हस्ताक्षरलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत जोड दिए ।

विसं २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका सचिव डा अर्यालले अर्थ, वाणिज्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न सरकारी निकायमा कुशलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् । हालैको मन्त्रिपरिषदको निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आउनु भएका सचिव अर्यालले आजै आफ्नो पदभार सम्हालेका छन् ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले आमसञ्चार, दूरसञ्चार र चलचित्र क्षेत्रमा मन्त्रालयले सम्पादन गर्दै आएका र आगामी दिनमा गर्नुपर्ने कार्यहरुबारे अवगत गराउँदै योग्य, अनुभवी र कुशल व्यक्तित्वलाई सचिव पाउँदा मन्त्रालयले अझ प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा वरिष्ठ अधिकृतहरुले सचिव डा.अर्यालको कार्यकालको सफलताको कामना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप