कश्यपको कथा : लोभले लाभ लाभले विलाप
एकादेशमा एक शौखिन राजा थिए । विभिन्न प्रजातिका पशुपक्षी तथा कलाकृति जम्मा पार्ने उनको शोख थियो । दरबारमा काष्ठकला तथा हस्तीहाड कलाकृतिका सङ्ग्रहालय नै खोलेका थिए । ढुङ्गा, माटो र धातुबाट बनेका कलाकृति पनि उत्तिकै जम्मा गर्थे । चारचुरुङ्गी एवं पशुहरूका लागि गाउँ नै तारवारले घेरेका थिए । उनलाई देशदेवरका राजामहाराजहरूले समेत नयाँनयाँ चीज उपहार पठाउँथे । दरवारियाहरू पनि कुनै नयाँ चीज भेटे भने राजा समक्ष ल्याउँथे । उनी त्यसको उचित मूल्य दिएर खरीद गरी सङ्ग्रहालयमा जम्मा गर्ने गर्थे ।
वर्षको एकपटक त्यस वर्ष जम्मा भएका वस्तुमध्ये सर्वोत्कृष्ट ठहरिएकालाई आकर्षक पुरस्कार दिएर प्रोत्साहित गर्दै आएका थिए । वस्तुको उचित मूल्य पनि पाइने र सर्वोत्कृष्ट ठहरिए पुरस्कार पनि पाइने भएपछि मानिसहरू नयाँ कुनै पशुपक्षी तथा कलाकृति भेट्नासाथ दरवारमा दाखिला गर्न ल्याउँथे । कोही जङ्गली जनावरहरू ल्याउँथे । कोही सुगा, मैना, मयूर तित्रा, कालिज । कोही हात्ती, घोडा ल्याउँथे । कोही मृग, जरायो, खरायो यस्तैयस्तै ।
एकदिन एउटा मानिस सुन्दर रातो मयूर लिएर आए । यस अघि यस्तो मयूर कतै देखिएकै थिएन । मयूर देख्ने बित्तिकै राजाले आश्चर्य मान्दै सोधे–
‘यति सुन्दर मयूर कहाँ भेट्टाउनुभयो ?’
राजाको कुरा सुनेर उनले हौसिँदै भने–
‘हालै काम विशेषले परदेश गएको थिएँ । उतैबाट खरीद गरेर ल्याएको हुँ ।’
‘कतिमा खरीद गर्नुभयो ?’
‘दुई सय स्वर्णमुद्रामा सरकार !’
राजाले तत्कालै दुई सय स्वर्ण मुद्रा दिएर मयूर खरीद गरे । मयूर साँच्चिकै हेर्न लायक थियो । दैनिक उसलाई हेर्ने मानिसको ठूलै भीड लाग्ने गथ्र्यो । सबै मयूरको बारेमा सोध्थे । मयूर र ल्याउने मानिसको प्रशंसा गर्दै फर्कँन्थे ।
बिस्तारै खबर चतुरे (चतुर्भुज शर्मा) सम्म पुग्यो । उनी पनि एक दिन मयूर हेर्न आए तर देख्ने बित्तिकै उनलाई कुनै गडबढी छ भन्ने लाग्यो र कारण पत्ता लगाउने प्रयास गर्न थाले । बुझ्दै जाँदा एक दिन त्यसको रहश्य पत्ता लाग्यो । मयूर आफैँ रातो भएको नभई सहरका कुनै कालीगढलाई रङ्ग्याउन लगाएर ल्याइएको रहेछ । त्यपछि उनले पनि त्यसैगरी दुईवटा मयूरलाई रङ्ग्याउन लगाई लिएर आए ।
जब त्यस वर्षको उपहारलाई पुरस्क्रित गर्ने दिन आयो राजाले सर्वोत्कृष्ट उपहार छनोट गरी प्रतिवेदन पेश गर्न मन्त्रीलाई भने । मन्त्रीले समयमै प्रतिवेदन बुझाए । प्रतिवेदनमा पुरस्क्रित हुने वस्तुको नाम सोही रातो मयूर उल्लेख थियो । त्यसपछि राजाले पुरस्कृत गर्ने समारोह आयोजना गर्न लगाई मयूर ल्याउने मानिसलाई निम्तो पठाए ।
चतुरे पनि आफूले ल्याएको दुईवटा मयूर बाकसमा बन्द गरी दरवारतिर लागे । पुरस्कारका लागि भव्य समारोह आयोजित थियो । देशदेशावरका राजामहाराजाहरूका समेत उपस्थिति थियो । जब दरवारका सचिवले पुरस्क्रित हुने वस्तु र ल्याउने व्यक्तिको नाम लिए तब उपस्थित सबैले ताली बजाएर स्वागत गरे । चतुरे यस्तै मौकाको प्रतीक्षामा थिए । उनले आसनबाट उठेर ठूलो स्वरमा भने–
‘मयूर साँच्चै राम्रो छ । यसलाई ल्याउने मानिस धन्यवादका पात्र हुनुहुन्छ तर यसबारेमा केही भन्नैपर्ने देखिएकाले त्यसको अनुमति चाहन्छु ।’
उनको कुरा सुनेर सबैको कान ठाडा भए । सबै उनैलाई हेर्न थाले । त्यसपछि राजाले बोलाएर भने–
‘अनुमति छ महाशय ! भन्नुस् के भन्न खोज्नु भएको हो ।’
चतुरेले राजालाई स्वस्ती गर्दै भने–
‘महाराज ! मैले पनि यस्तै खरायो भेटेको छु तर एउटा होइन दुईवटा ।’
राजाले आश्चर्य मान्दै भने–
‘साँच्चै हो ?’
‘हो महाराज !’
‘यस्तै छ त ?’
‘हो, यस्तै छ, नपत्याए हेर्न सक्नुहुन्छ ।’
‘कहाँ छ त ?’
‘यहीँ मेरो साथमै छ ।’
‘देखाउन सक्नुहुन्छ ।’
राजाज्ञपछि चतुरेले बाकसबाट मयूर निकाले । राजाले मयूर देखेर आश्चर्य मान्दै सोधे–
‘मयूर त उस्तै रहेछ । कहाँ भेट्नु भयो र कतिमा किन्नुभयो ?’
चतुरे बेलीविस्तार लगाउँदै भने–
‘पल्लो गाउँबाट दुई सय स्वर्ण मुद्रामा किनेर ल्याएको हुँ ।’
‘जम्मा दुई सय स्वर्ण मुद्रामा ?’
‘हो महाराज ! दुई सय स्वर्ण मुद्रा ।’
‘नक्कली होला ।’
‘होइन महाराज ! देखिहाल्नुभयो, पुरस्कृत हुने मयूर र यिनीहरू उस्तै छन् ।’
‘तर यसलाई त एउटैलाई दुई सय स्वर्ण मुद्रा परेको छ ।’
‘त्यो त थाहा भएन तर मैले भने दुईटालाई दुई सय स्वर्ण मुद्रा नै तिरेको हुँ ।’
त्यसपछि राजाले खजाञ्चीलाई बोलाएर दुई सय स्वर्ण मुद्रा दिन लगाए । जब खजाञ्चीले मुद्रा दिन खोजेका थिए चतुरेले दुई हात जोर्दै भने–
‘होइन महाराज ! यसको हकदार म छैन ।’
‘किन र ?’
‘किनकि सक्कली हकदार अर्कै हुनुहुन्छ ।’
‘कहाँ छन् त उनी ?’
‘यहीँ हुनुहुन्छ ।’
‘बोलाउनुस् त ।’
त्यसपछि चतुरेले उनै पहिलो मयूर ल्याउने मासिनलाई देखाउँदै भने–
‘यसको हकदार उहाँ नै हुनुहुन्छ । उहाँले नै सिकाएर यस्तो कला थाहा पाएको हुँ ।’
उनको कुरा सुनेर राजा अलमलमा परे । कुरा नबुझेर कडा स्वरमा भने–
‘कुरो के हो प्रष्ट भन्नुस् । होइन भने समय बरबाद गरेवापत सजायँ पाउनुहुनेछ ।’
राजको कुरा सुनेर चतुरेले संयमित हुँदै भने–
‘महराज ! मलाई यो मयूर देख्ने बित्तिकै शङ्का लागेको थियो र कारण बुझ्ने प्रयास गर्न थालेँ । बुझ्दै जाँदा थाहा भयो सहरको एक नामूद कालीगढको यहाँ मयूरलाई रङ्ग्याएर ल्याइएको रहेछ । मैले पनि उनैबाट यिनलाई रङ्ग्याएर ल्याएको हुँ । त्यसैले यसको हकदार म होइन उहाँ नै हुनुहुन्छ ।’
चतुरेको कुरा सुनेर समारोहमा खैलाबैला मच्चियो । खरायो ल्याउने मानिस कालोनीलो भए । कालीगढलाई बोलाई उनी सँगै राखेर सोधियो । दुवैले कैफियत स्वीकार गरे । त्यसपछि राजाले उनले लिएका दुई सय स्वर्णमुद्रा फिर्ता गर्न लगाई पुरस्कारस्वरूप चतुरेलाई दिए र कैफियत गरेवापत उनीहरू दुवैलाई दुई दुई सय स्वर्ण मुद्रा जरिवाना सुनाउँदै सभा विसर्जन गरे । उपस्थित जनसमुदाय चतुरेको चातुर्यको प्रशंसा गर्दै घरतिर लागे । मयूर ल्याउने मानिसलाई भने कैफियत गरेको मूल्य निकै चर्को प¥यो । सायद लोभले लाभ, लाभले विलाप भनिएको यसै भएर हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्माको निष्कर्ष– ओली सरकार असफल, गम्भीर राजनीतिक संकटको खतरा देखियो !
-
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा
-
मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?
-
‘विषाक्त समाजमा बाँच्न डर लाग्छ, मर्न डर लाग्दैन’
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
-
जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी