बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन सार्ने सहमति : देउवा र पौडेलको फरक फरक प्रस्ताव

बुधबार, २७ साउन २०७८, २२ : ०७
बुधबार, २७ साउन २०७८

नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।

महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक-फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेका थिए ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

नेता मिनेन्द्र रिजालले नयाँ कार्यतालिका ल्याउने सहमति भए पनि वडा अधिवेशन कहिलेबाट सुरु गर्ने भन्नेबारे समझदारी नभएको बताए । उनले रातोपाटीसँग भने, 'भोलि साउन २८ गते हुँदैछ । भदौ १६ मा महाधिवेशन हुने कुरा त भएन । तर, अब वडा अधिवेशन कहिले सुरु गर्ने भन्नेमा विषयमा सहमति भएको छैन । यसमा फरक मत छ ।'

यस विषयमा समझदारी जुटाउन केन्द्रीय कमिटी बैठकअघि शीर्ष नेताबीच छलफल हुने रिजालले बताए । विहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने पूर्वनिर्धारित एजेण्डा छ । 

​ यस्तै काँग्रेस वरिष्ठ पौडेलले असोजसम्म महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउनुपर्ने रातोपाटीलाई बताए । उनले भने, 'क्रियाशील सदस्यता टुंगो नलागेकाले केन्द्रीय सदस्यको एजेण्डा अन्योलमा छ । महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका  पनि अन्योलमा छ । क्रियाशील सदस्यताको विवाद टुंगो नलगाई कार्यतालिका र निर्देशिका आउन सक्दैन । किनभने निर्देशिकामा क्रियाशील सदस्य संख्याको अनुपात भन्ने कुरा छ, क्रियाशील सदस्यता टुंगो नलगाई कति अनुपात भन्ने ? समस्या छ ।'

पौडेलले रातोपाटीसँग भने, 'दशैं अगाडि महाधिवेशन सक्नैपर्छ । विधानलाई हेला गर्न पाइँदैन । संविधानलाई उपेक्षा गर्ने पाइँदैन ।' 

 क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएर मात्र सोहीअनुसार नयाँ कार्यतालिका ल्याउनुपर्ने पौडेलले बताए । उनले भने, 'कार्यतालिका मात्र ल्याएर क्रियाशील सदस्यता टुंगिएन भने त्यो कार्यतालिकाले पनि पहिलेकै जस्तो हावा खान्छ I पहिलेको कार्यतालिकाले जसरी हावा खाएर कार्यान्वयन हुन सकेन । क्रियाशील सदस्यता​ नटुंग्याई कार्यतालिका ल्याइए यो पनि  त्यही अवस्थामा पुग्छ । क्रियाशील सदस्यता टुंग्याएपछि मात्र कार्यतालिको अर्थ हुन्छ ।'

तर, महामन्त्री पूर्णबहादुर खड्काले भने विहीबारको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेस हुने बताए । उनले भने, 'भोलि कार्यतालिका र निर्देशिका पेस हुन्छ । निर्देशिकाको काम गर्ने साथीहरु लागिराख्नुभएको छ ।'

९९ प्रतिशत क्रियाशील सदस्यता विवाद टुंगिएकाले महाधिवेशन कार्यतालिका ल्याउने खड्काको दाबी छ । उनले भने, 'कार्यतालिकाबारे आज छलफल भए पनि भोलि बैठक अगाडि छलफल गरेर कार्यतालिका पेस हुन्छ ।'

खड्काका अनुसार निर्वाचन समितिले मागेको समय अनुसार कार्यतालिका हेरफेर हुन्छ । 'निर्वाचन समितिले वडा अधिवेशनदेखि महाधिवेशन गर्ने मागेको समयलाई  आधार बनाएर महाधिवेशनको नयाँ कार्यतालिका मैले पेस गर्छु,' खड्काले रातोपाटीलाई भने ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले क्रियाशील सदस्यको सूची प्राप्त गरेको ५६ दिनमा वडा अधिवेशनदेखि महाधिवेशन गर्न सकिने रातोपाटीलाई बताए । उनले भने,  'हामीले ५६ दिनको समय मागेका छौं । निर्वाचन समितिको धेरै काम हुन्छ । ५६ दिन त चाहिन्छ नै । किनभने वडामा क्रियाशील सदस्यताको सूची पाएको २० दिनपछि मात्र वडा अधिवेशन गर्न सकिन्छ ।'

उनका अनुसार केन्द्रीय समितिबाट अनुमोदन भएपछि निर्देशिका छापेर देशभर वितरण गर्नुपर्छ । निर्वाचन प्रतिनिधि खटाउँदा जनसंख्याका हिसाबले प्रतिनिधित्व हुने भनिए पनि त्यसको डाटा तयार हुन सकेको छैन । त्यसका लागि पार्टी विधानका केही बुँदामाथि बाधा अड्काउ फुकाउको निर्णय लिनुपर्नेछ । त्यसको मस्यौदा तयार गरी केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । निर्वाचन समितिका अनुसार त्यो काम पनि हुन सकेको छैन । निर्वाचन समितिले विभिन्न प्रमाणपत्र र डकुमेन्टको व्यवस्थापन गरी छाप्ने काम हुन बाँकी छ ।

अहिलेसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम पनि हुन सकेको छैन । ७७ जिल्लाबाट प्रत्येक वडाका लागि मतदान अधिकृत तोक्ने काम बाँकी छ । आफूहरुले उक्त काम गर्न २० दिन समय चाहिने यादवले बताए ।

काँग्रेसको महाधिवेशनको तयारी र सरकारमा पठाउने मन्त्रीहरुका विषयमा छलफल गर्न विहीबार केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप