बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रहरीसमक्ष चोरको बयान : ‘यो पार्टटाइम जब हो’

बुधबार, २७ साउन २०७८, २१ : १७
बुधबार, २७ साउन २०७८

रामेछाप प्रहरीले साउन २७ गते चोरी गर्दै हिँड्ने एउटा समूहलाई पक्राउ गर्यो । रामेछाप जिल्लामा पटक पटक चोरीका घटना भएपछि सक्रिय बनेको प्रहरीले ओखलढुङ्गाबाट १ किशोर र रामेछापबाट २ युवालाई पक्राउ गर्यो । 
साउन २२ गते रामेछापको उमाकुण्ड गाउँपालिका ७ बिमिरेको एक पसलमा भएको चोरीको घटनालाई अनुसन्धान गर्दै जाँदा प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको हो । उमाकुण्ड ७ बिमिरेमा टेकराज नेवारले सञ्चालन गरेको पसलमा २२ गते राती चोरी गरी उनीहरु लुकेर बसेका थिए । ओखलढुङ्गा प्रहरी समेतको सहयोगमा रामेछाप प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको हो । 

रामेछाप प्रहरीका प्रमुख डिएसपी नवराज ढुङ्गानाका अनुसार ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १ का १६ वर्षीय किशोर र उमाकाण्ड गाउँपालिका ६, रामेछापका १९ वर्षीय हिरदेन सुनुवार र २४ वर्षीय समुयल सिंह सुनुवार पक्राउ परेका छन् । चोरीका संलग्न अर्का एक व्यक्ति भने फरार भएका छन् । 

आरोपीहरुले साउन २२ गते राती टेकराज नेवारको पसल पछाडि रहेको झडी भएको स्थानतर्फको जस्तापाता काटेर उप्काएको र भित्रको चुकुल फोडेर पसल भित्र गई १ लाख ५० हजार नगद चोरी गरेका थिए । चोरीबारे प्रहरीमा जानकारी आएपछि खोजतलास गर्ने क्रममा प्रहरीले सोही स्थानका दुई व्यक्तिलाई सोधपुछ गरेको थियो । उनीहरुको घरमा खानतलासी गर्ने क्रममा नगद नभेटिए पनि उनीहरुसँग ५ थान मोबाइल र डेल कम्पनीको ल्यापटप भेटिएपछि उनीहरुमाथि निगरानी गरिएको थियो । निगरानीपछि ओखलढुङ्गा प्रहरीसँग समन्वय गरी किशोरलाई पक्राउ गरेपछि घटनामा उनीहरुको संलग्नता पुष्टी भएको हो । ओखलढुङ्गामा पक्राउ परेका किशोरको साथबाट चोरी भएको १ लाख ५० हजारमध्ये १ लाख १ हजार रुपैयाँ बरामद भएको छ । 

यो समूहले रामेछापमा चोरी गरेर सामानहरु ओखलढुङ्गा पुर्याउने र ओखलढुङ्गामा चोरी गरेर रामेछाप ल्याएर राख्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये एक व्यक्ति यसअघि पनि चोरीको अभियोगमा जेल सजाय पूरा गरेर निस्किएका व्यक्ति हुन भने फरार अर्का अभियुक्त पनि चोरीका पटके अभियुक्त रहेको प्रहरीले जनाएको छ । 

यो समूहले बयानका क्रममा रामेछाप र ओखलढुङ्गाको विभिन्न स्थानमा चोरी गरेको बयान दिएको र त्यो आफूहरुको पार्टटाइम जब भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुङ्गानाका अनुसार उनीहरुले चोरी आफ्नो ‘पार्टटाइम जब’ भएको बताएका छन् । आरोपीको भनाई उद्धृत गर्दै ढुङ्गानाले भने, ‘हामी सँधै चोरी गर्ने मान्छे होइनौँ, कहिलेकाही पार्टटाइमका रुपमा यो पनि गर्छौँ ।’

चोरी भएको सामानहरु भने रामेछाप र काठमाडौंभन्दा बाहिर लगेर बेच्ने गरेको सूचना पाएको प्रहरीले जनाएको छ । अहिले उनीहरुले चोरी गरेको स्थानबारे सूचना संकलन भइरहेको र चोरीका सामान बिक्री गर्ने गरेको व्यक्ति र स्थानबारे पनि अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप