शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरले दियो ५ सरकारी विद्यालयलाई स्कुल बस

बुधबार, २७ साउन २०७८, १९ : ३८
बुधबार, २७ साउन २०७८

भरतपुर महानगरले महानगरका ५ वटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्य सहित महानगरले नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई स्कुल बस हस्तान्तरण गरेको हो । एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेणु दाहालले विद्यालयका अध्यक्ष र प्रअ लाई बसको साँचो हस्तान्तरण गरेर विद्यालयलाई बस प्रदान गरिन् । रुट पर्मिट र ईन्सुरेन्ससहित प्रति बस १९ लाख ९८ हजार रुपैयाँ लागतमा महानगरले विद्यालयलाई बस हस्तान्तरण गरेको हो । 

अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले विद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले बताए । चालु आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिइने खतिवडाको भनाई छ । महानगरले यस अघि विद्यार्थीका लागी साइकल हस्तान्तरण समेत गरेको थियो भने विद्यालयको भौतिक संरचना सुधार देखी शैक्षिक सुधारका धेरै राम्रा कार्यक्रमहरू गरिसकेको खतिवडाले बताए ।

महानगरको शिक्षाको स्तर सुधार गरि सामुदायिक विद्यालयलाई अभिभावक र विद्यार्थीको प्रमुख रोजाइको केन्द्रका रूपमा विकास गर्न महानगरले शिक्षा विकासको कार्यक्रम अन्तर्गत यस पटक ५ विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको महानगर प्रमुख रेणु दाहालले बताइन् ।  दाहालले यही स्थितिमा सरकारी विद्यालयको शैक्षिक विकास हुँदै गए आगामी ४ वर्षमा निजी स्कुल छाडेर सरकारी विद्यालयमा भर्ना हुने लर्को लाग्ने दाबी गरिन् ।

महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तर उन्नति देखि शैक्षिक पूर्वाधार विकास गर्दै प्रविधिमैत्री शिक्षण सिकाइमा जोड गरेको बताउँदै दाहालले महानगरका निजी विद्यालयभन्दा धेरै गुणा सरकारी विद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी आफूहरू निरन्तर खटिएको बताइन् । भरतपुरको नारायणी नमुना माविले चितवनको नै इज्जत राखेकाले महानगरका सबै विद्यालयहरूको शैक्षिक विकासको स्तर त्यही अनुपातमा पुर्‍याउन चाहेको दाहालको भनाई छ ।

भरतपुर महानगरलाई अब महानगर शैक्षिक सहरका रूपमा विकास गर्ने आफ्नो योजना रहेको दाहालले सुनाइन् । महानगरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ,आङ्गिक इन्जिनियरिङ कलेज ,प्रहरी स्कुल , भरतपुर बहु प्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुल्ला विश्वविद्यालय पनि यही ल्याउन पहल गरिरहेको दाहालले बताइन् । विद्यालयलाई हस्तान्तरण गरिएको स्कुल बसको सही प्रयोग गर्न दाहालले आग्रह गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप