गुल्मीमा चट्याङ्ग लागेर ४ घाइते, एक बालकको अवस्था चिन्ताजनक
बुधबार साँझपख चट्याङ्ग लागेर गुल्मीको ईस्मामा गाउँपालिकामा घटनामा ४ जना गम्भीर घाइते भएका छन् । जसमध्ये एक जना बालकको अवस्था चिन्ताजनक रहेको छ । ईस्मा–४ को दोहली कुखरीकाच्यानका रामबहादुर गन्धर्वका ११ वर्षीय छोरा राहुल गन्धर्वको अवस्था चिन्ताजनक रहेको हो ।
सोही वडाको डाँडा गाउँकी राधा भनेर चिनिने १७ वर्षीया राधिका खत्रीको अवस्था पनि गम्भीर रहेको छिमेकी माया कुँवरले बताइन् । डाँडा गाउँकी २५ वर्षीया शर्मिला खत्री र २३ वर्षीया गोमा खत्री पनि चट्याङ्ग लागेर घाइते भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार त्यस खत्री परिवारका दुई वटा बाख्रा र एउटा बोका चट्याङ्ग लागेर मरेका छन् । सोही वडाको दोहलीस्थित मालारानी टोलकी २५ वर्षीया रुपा नेपाली पनि घाइते भएकी छन् । स्थानीय स्वास्थ्य संस्थामा लगिएको र थप उपचारका लागि घाइतेहरूलाई जिल्ला अस्पताल तम्घास ल्याउँदै गरिएको डिएसपी पाण्डेले बताए । ती ११ वर्षीय बालक अचेत अवस्थामा रहेको बताइन्छ ।